ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बारीमा उत्पादित तरकारी खेर जाने चिन्तामा धनगढीका किसान 

२०७८ बैशाख, २२  
सुदूरपश्चिम प्रदेश
Image Not Found
फाइल फोटो

वैशाख २२, धनगढी । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् ।

महामारीका रूपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सीलगायतका विक्री गर्न नपाएरै खेर जान्छ कि भन्दै चिन्तित भएको व्यवसायी कृषक मुमताज गुप्ताले बताए । 

‘विशेषगरी बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, रामजानकी सब्जीमन्डी र बजारका विभिन्न होटलमा विक्री गर्ने गर्थे’, उनले भने, ‘निषेधाज्ञाले बजार पूर्णरूपमा ठप्प भएपछि तरकारी बिक्री गर्न एकदमै मुस्किल भएको छ ।’

फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो मात्राको बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ । ‘दिनमा आठ/दश किलो तरकारी विक्री हुने गरेको भए पनि त्यो विक्रीले आफनो लगानीसमेत उठ्दैन ।’ उनका अनुसार निषेधाज्ञाअघि दिनमा पाँचदेखि आठ क्विन्टलसम्म तरकारी बजार जाने गर्दथ्यो । हिजोआजथोरै मात्राको विक्रीले बारीमा ठूलो परिमाणमा उत्पादन भएको तरकारी बजारमा बिक्री गर्न सकिने अवस्था नभएको उनले गुनासो गरे । ‘तरकारी बजार बिहान दुई÷तीन घण्टा त खुल्छ तर उक्त समय आफूलाई अनुकूल भइरहेको छैन’, उनले भने ।

अहिले बारीमा करीब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी विक्रीका लागि तयारी अवस्थामा छ तर कहाँ लगेर त्यो बिक्री गर्ने भन्ने उनलाई चिन्ता छ । ‘कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्मको जारी निषेधाज्ञा पुनः लम्बिएर वैशाख अन्तिमसम्म बढाइएपछि बन्दैबन्दले अब त जमीनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन’, उनले भने, ‘जमीनको भाडा कहाँबाट दिने र जहानपरिवार कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।’

उनले भने, ‘बन्द खुलञ्जेलसम्म त बारीको तरकारी खेर गई कामै नलाग्ने भइसक्छ ।’ गत वर्ष पनि लामो समयसम्मको लकडाउनका कारण उत्पादित तरकारी विक्री गर्न नपाएरै बारीमै कुहिएर लगानीसमेत उठ्न नसकेको उनले बताए ।

पाँच वर्षदेखि जमीन ठेक्कामा लिई व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका गुप्ताले वार्षिक रू. आठदेखि १० लाख जति फाइदा हुने गरेको बताए । उनले भने, ‘अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्