ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आर्थिक विकासमा ग्रामीण उद्योग

२०७८ बैशाख, २३  
लेख | दृष्टिकोण
Image Not Found

देशमा उद्योगको विकास भएमा बेरोजगारीको समस्याबाट केही हदसम्म भए पनि राहत मिल्छ भने आर्थिक विकासमा समेत ठूलो सहयोग हुन्छ । आज स्वदेशमा रोजगारीको अवसर नभएकै कारणले दैनिक १ हजार ७०० युवाजनशक्ति विदेशिन बाध्य छन् । हाम्रो अर्थतन्त्रको ठूलो अंश तिनै विदेशमा रोजगारीमा गएका युवाहरूले पठाएको विप्रेषणले ओगटेको छ । उद्योगले रोजगारीको सृजना, आम्दानी मार्ग निर्माण, निर्यातको मात्र आधार नभई अन्य विविध क्षेत्रको विकासमा टेवा पुग्छ ।

औद्यागिक व्यवसाय ऐन २०४९ ले उद्योगलाई विभिन्न प्रकारमा बाँडेको छ उत्पादनमूलक उद्योगअन्तर्गत कोरा माल वा अर्ध प्रशोधित माल अथवा खेर गइरहेको मालसामानको उपयोग वा प्रशोधन गरी उपयोगी सामानको निर्माण गर्ने व्यवसायहरू पर्छन् । ऊर्जामूलक उद्योगअन्तर्गत बायोग्यास, सौर्यऊर्जा, वायुऊर्जा सम्बन्धी कार्य जलविद्युत् उत्पादन कार्य आदिलाई लिन सकिन्छ । कृषि तथा वनजन्य उद्योगमा रेशम खेती, फलफूल प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, मह उत्पादन, तरकारी उत्पादन आदि पर्छन् । खनिजमा आधारित उद्योगमा भने धातुका भाँडाकुडा उद्योग खुकुरी, हँसिया उत्पादन आदि रहेका छन् ।

त्यस्तै सेवा उद्योगअन्तर्गत पर्यटन पर्छ । यसमा मोटेल, होटेल ,रेस्टराँ, रिसर्ट, केबुलकार, पदयात्रा, हट एयर बेलुनिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, हिमाल आरोहण आदि पर्छन् । सेवासम्बन्धी उद्योगअन्तर्गत नै छापाखाना, परामर्श सेवा, निर्माण व्यवसाय, परिवहन, अस्पताल, शिक्षण प्रशिक्षण र प्रयोगशाला , शीतभण्डार आदिलाई लिइन्छ ।

हाम्रो आवश्यकता पूरा गर्दै देशको आर्थिक विकासमा फट्को मार्न ग्रामीण क्षेत्रमा उद्योग स्थापनाका लागि जोड दिनुपर्छ । नेपालमा ग्रामीण कृषिजन्य उद्योगको सम्भावना ज्यादा रहेको भए पनि यसको विकासमा चासो कुनै पनि सरकारले गरेको देखिँदैन । धान, मकै, गहुँ आदि जुन भागमा उत्पादन हुन्छ यसैमा आधारित उद्योग स्थापना गर्न सकेमा रोजगारी बढी सृजना हुन सक्छ । नगदेबाली महत्त्वपूर्ण फसल हो । यसको उत्पादन मूलतः औद्यागिक प्रयोजनले गरिन्छ । यसअन्तर्गत तेलहन, सुर्ती, उखु आलु आदि रहेका छन् । नगदे बालीमा आधारित उद्योग देशका जुनसुकै भागमा स्थापना गर्न सकिन्छ । यसले रोजगारी तथा आर्थिक अवस्था सुधारमा अहम् भूमिका निर्वाह गर्छ । दलहन अर्को महŒवको बाली हो । एकल तथा मिश्रित रूपमा दलहनको उत्पादन गर्न सकिन्छ ।

हाम्रो धरातलीय स्वरूपको जुन विविधता रहेको छ सोहीअनुसार अनेकौ पशुपक्षी पाल्न सकिन्छ । पशुहरूको मासु तथा छाला हाड र अन्य उत्पादनबाट विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ । पशुपालनलाई व्यवस्थित तरीकाले उपयोग गर्न सकेमा ग्रामीण भेगका नागरिकको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुग्छ । पशुको छालाबाट जुत्ता, ब्यागलगायत सामग्री बनाउन सकिन्छ । त्यसैगरी पशुको हाडबाट टाँक उत्पादन गरी रोजगारी र आर्थिक विकासमा टेवा लिन सकिन्छ । यसैगरी धरातलीय स्वरूपअनुसार फलफूल खेती गरेको यसमा आधारित उद्योग चलाउन सकिन्छ । यसबाट कृषि र उद्योगको विकास गर्दै समग्रमा देशको विकासमा महत्त्वपूर्ण सहयोग पुग्छ ।

हाम्रो देशका कृषकमा शीप भए पनि यसको सदुपयोग हुन सकेको देखिँदैन । शीपको सदुपयोग हुन नसक्नुको मुख्य कारण भनेको पूँजीको अभाव हुनु नै हो । पूँजीको अभाव हुँदा कृषकले चाहेर पनि उद्योगको स्थापना गर्न सक्दैनन् । कच्चा छालाको प्रशोधन, दूधको प्रशोधन, जुटका सामान बनाउने उद्योग आदि सञ्चालन गर्न सकिन्छ । स्थानीय श्रमको प्रयोग तथा थोरै पूँजीको उपयोगबाट यस्ता उद्योग सञ्चालन गर्न सकिन्छ । यसले आयातित वस्तुको प्रतिस्थापन गर्न सहयोग पुग्छ । ग्रामीण भेगमा लुकेर रहेका श्रमको सदुपयोगमा समेत योगदान पुग्छ ।

ग्रामीण क्षेत्रको विकासका लागि घरेलु उद्योगको स्थापनाले प्रभावकारी भूमिका खेलेको हुन्छ । ग्रामीण क्षेत्रमा कृषिजन्य उद्योगले गरीबी निवारण गर्नमा पनि प्रभावकारी भूमिका खेल्छ । कृषिजन्य उद्योगहरूमा चिया कफीको प्रशोधन, चिनी उद्योग, फलफूलबाट जाम, अचार बनाउने लगायत उद्योगको विकास र विस्तार गर्न सकिन्छ । कृषिजन्य उद्योगको स्थापनाका लागि कृषिलाई व्यावसायिक र वैज्ञानिक बनाउनुपर्ने हुन्छ । कृषिको विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको निर्माण गर्नुपर्छ । कृषिमा युवा वर्गलाई आकर्षित गर्नुपर्ने हुन्छ । कृषि उत्पादनलाई विकास गर्न कृषि ऋणलाई सहज र व्यवस्थित बनाई वास्तविक किसानले सहज रूपमा ऋण प्राप्त गर्न सक्ने वातावरणको सृजना गर्नुपर्छ ।

राज्यले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्न निजीक्षेत्रलाई समेत विश्वासमा लिनुपर्छ । कृषिलाई आधुनिक र वैज्ञानिक बनाउन राज्यले अवैज्ञानिक र अव्यवस्थित शहरीकरणलाई निरुत्साहित गर्दै व्यवस्थित र वैज्ञानिक शहरीकरणमा जोड दिनुपर्ने हुन्छ । जथाभावी शहरीकरण हुँदा उर्वर जमीनको नाश भइरहेको छ जसले कम उब्जाउ हुने जमीनमा बाध्य भई खेती गर्नुपर्ने अवस्थाको सृजना हुँदै गएको छ । उद्यमीलाई सरल रूपले ऋण उपलब्ध गराउने व्यवस्था हुनु जरुरी देखिन्छ । उद्यमीका लागि ऋण पाउन निकै चरणमा अनेकौं समस्याको सामना गर्नुपर्ने अवस्था छ । सरल र सहजै ऋण प्राप्त गर्ने व्यवस्था अविलम्ब मिलाउनुपर्ने देखिन्छ ।

बढ्दो बेरोजगारीलाई कम गर्न, कृषिको विकास गर्न, गरीबी निवारण गर्न र देशको आर्थिक विकास गर्न ग्रामीण क्षेत्रमा उद्योगको स्थापनामा जोड दिनुपर्छ । उद्योगको विकास हुनु भनेको देशको चौतर्फी विकास हुनु हो । त्यसैले उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न विशेष नीति अवलम्बन गर्नुपर्छ । एकैपटक धेरै उद्योगको स्थापना गर्न नसके पनि क्रमशः हरेक प्रदेशमा एउटा एउटा मात्र कृषिजन्य उद्योगको स्थापना गर्न सके यस क्षेत्रमा नयाँ कार्यको थालनी हुनेछ । कच्चा पदार्थ सहजै उपलब्ध हुने खालका उद्योग स्थापनामा जोड दिइनुपर्छ । होनहार युवा वर्गलाई स्वदेशमा नै बसेर उद्यम गर्न पनि ग्रामीण उद्योगको निर्माण अनिवार्य छ । स्थानीय तह, प्रदेश र संघ तीनओटै तहमा आपसी समन्वय गर्दै यस कार्यमा तदारुकताका साथ अगाडि बढ्नुपर्ने खाँचो रहेको छ ।

लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्