ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रश्नमाथि प्रश्न

२०७८ बैशाख, २४  
तीतो मीठो
author avatar मदन लम्साल

अस्पताल छन्, बेड छैनन् । बेड भए पनि अक्सिजन छैन । भ्याक्सिनको त कुरै नगरौं । मिशन कमिशन भएपछि किनेर भ्याक्सिन आउने त कुरै भएन । कुनै मुलुकको कृपाले दानदातव्यमा आए पाइने हो । नत्र आश गरेर बस्ने मात्र हो । यस्तो महामारीमा सरकारले ढाडससम्म पनि दिन सकेन, बरु ढाडचाहिँ देखायो । यसरी सरकार त सक्दिनँ मात्रै पो भन्छ त । हुन पनि सरकारले के चैं सक्छ हँ ? के बजेट मात्रै हो त सरकारले सक्ने भनेको ?

हिजो जेल परेका प्रायः सबै मन्त्री, प्रधानमन्त्री भइसके । अब जेलभित्रका बाँकी सबैलाई पनि सांसद मनोनीत गरेर मन्त्री बनाउँदा कसो होला ?

सरकारले गरीबलाई राशन पो बाँड्न सकेन, भाषण त बाँडेकै छ । सरकारले भ्याक्सिनको जीरो डोज पनि किन्न सकेन, तर पजेरो त किनेकै छ । सरकारले अस्पताल, बेड पो थप्न सकेन, मन्त्रालय र मन्त्रीहरू त थपेकै छ । सरकारले औषधि पो खुवाउन सकेन, शपथ त खुवाएकै छ । सरकारले मास्क पो बाँड्न सकेन, पदहरू त बाँडेकै छ । गरीब सरकारले ह्याँभन्दा बढी के नै बाँड्न सक्छ र हो ?

नेपालमा अक्सिजन चैं पाइन्छ रे । अर्थात् अक्सिजन यहीँ बन्न सक्छ रे । तर अक्सिजन राख्ने फलामको ढुंग्रो चैं बन्दो रैन्छ । हैन, कोही नेपाली उद्योगी अहिलेसम्म किन नजन्मेका होलान् हँ, फलामको ढुंग्रो बनाउन ? यसमा नाफा कम हुने रै छ कि क्या हो ? त्यसो भए सार्वजनिक निजी साझेदारी भन्ने गरिएको गँजडीको गफै मात्र थियो ?

नेताहरूलाई सत्ता जोगाउने वा गिराउने हतारो । प्रधानमन्त्रीलाई उद्घाटन र शिलान्यास गर्ने चटारो । योजना सञ्चालन हुने कैले कैले, रिबन काट्ने र शिलान्यास गर्ने ऐले । सञ्चालनमा आउने मितिको टुंगो लाग्नु/नलाग्नुसँग सरकारलाई सरोकार छैन । रेल कुद्ने कैले हो, तर प्रमले अस्ति नै आत्तिँदै रेल उद्घाटन गर्नुभो । अस्ति भर्खर धरहरा । अस्पताल भवन र सडकको पनि बालुवाटारमै बसेर शिलान्यास गर्नुभो । अब तामाकोशीदेखि दूधकोशीसम्म, भ्यू टावरदेखि बाथरूमको शावरसम्म जे जेको सकिन्छ, उद्घाटन गर्दै जाने नै होला । योजनाहरू बन्ने नबन्ने देखा जाएगा । उद्घाटन गरेर भित्तामा शिलापत्र झुण्ड्याउने ऐतिहासिक मौका किन चुकाउने ? कि कसो ?

नेताहरूले माथि पुगेपछि जनतालाई बिर्सन्छन् भन्नुहोला । त्यसो पनि होइन है ! देख्नुभएन स्वयम् प्रधानमन्त्रीले बेलाबेला जनतालाई सम्झिने गरेको ? बाडुुली लाग्नासाथ जनताले सम्झे होलान् भन्दै देशवासीको नाममा अकस्मात् उहाँको सम्बोधन आउने गर्छ । यो हप्ता पनि आयो । मलाई त लाग्यो–सरकार फेरिएछ । तर होइन रहेछ । केवल प्रधानमन्त्रीको कुर्सी वरिपरि सिसैसिसाको नयाँ बार फेरिएछ । के बेसार पानी र अम्बाको पातले काम गर्न छाडेछ कि क्या हो हँ ?

राजनीतिमा जे पनि चल्दो रहेछ । मार्क्सवादका दुहाई दिएर नथाक्नेहरू आखिरीमा गएर ‘राम’ र ‘हनुमान’भक्त होलान् भनेर कसले कल्पना गर्याथ्यो र हिजो ? आज राम र हुनमानका भक्त भोलि क्राइस्टका भक्त बने पनि आश्चर्य नमाने हुने भो हैन्त ?

अन्ततः के जात्ती गुण्डा मन्त्री भएरै छाडे । यै त होला नि ओलीतन्त्र आच्या लोकतन्त्रको सुन्दर पक्ष ! ‘चरी’ ‘घैंटे’हरू नमरेका भए त अहिलेसम्म उनीहरूले पनि गृहमन्त्री वा परराष्ट्रमन्त्री नै पड्काउँथे होला, हगि ?

हिजो जेल परेका प्रायः सबै मन्त्री, प्रधानमन्त्री भइसके । अब जेलभित्रका बाँकी सबैलाई पनि सांसद मनोनीत गरेर मन्त्री बनाउँदा कसो होला ?

जब जब सत्तामा समस्या आउँछ, तब तब सांसदहरू कि त बिरामी नभैकनै अस्पताल भर्ना हुन जान्छन्, कि त रिसोर्ट !  तपाईं हामी बिरामी पर्दा चैं कहाँ जाने ? के सीधै घाटै जाने हो ?

गुण्डा मन्त्रीको शपथ ग्रहण कार्यक्रम टिभीमा हेर्दै मेरो ७ वर्षको छोराले उसको शिक्षकलाई सोध्यो, ‘सर, म ठूलो भएपछि मन्त्री बनूँ कि डाँकु ? शिक्षकले उत्तर दिए, ‘एउटै कुरा होइन र ?’

यो सरकार सत्तामा आएपछि हजारौं गुण्डा, लुटेरादेखि हत्यारासम्मलाई राजनीतिक सहमति भन्दै जेलबाट छुटाइसकेको छ । यति भएपछि त कसो नसङ्लेला नेपालको राजनीति हँ ?

प्रदेशको मियो अर्थात् प्रदेश प्रमुख भनेको त ठूलै जिम्मवारी सहितको ठूलै पद हो भन्ने लाग्थ्यो । तर अहिले प्रदेश प्रमुखहरू एकाएक हटाउने र सडकबाटै नियुक्त गर्ने खेल देखिसकेपछि भने प्रदेश प्रमुख र एउटा पियन पदको नियुक्ति र खारेजी उस्तै उस्तै पो लाग्यो त । बरु पियनलाई पनि हटाउनुअघि कारण खुलाउने सामान्य चलन हुन्छ । तर प्रदेश प्रमुख पदमा चाहिँ यस्तो औचित्य खुलाउनु नपर्ने रै छ । यस्ता कुरा संविधानमा पनि कतै लेखेको छैन कि क्या हो हँ ?

कोरोनाको चिन्ता आफ्नो ठाउँमा छ । घरको चुल्हो बले पनि नबले पनि प्रायः नेपालीहरू दुईजना मात्र भेट हुँदा पनि देशकै बारेमा चिन्ता गरिरहेका देखिन्छन् । आशाराम भन्दा चिन्तारामकै संख्या बढी छ । तैपनि हाम्रो देशको राम्रो चैं किन नभा होला हँ ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्