ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मदन भण्डारी राजमार्ग : धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्ड स्तरोन्नति हुँदै

२०७८ बैशाख, २८  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । पूर्वी तथा उत्तरी सुर्खेतका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत गाउँलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डको स्तरोन्नति हुने पक्का भएको छ । मर्मत सम्भारको अभावमा जोखिमपूर्ण बन्दै गएको यो सडकलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको रूपमा विकास गर्ने योजनाअनुसार स्तरोन्नति गर्न लागिएको हो ।

ट्र्याक खुलेको करीब ४२ वर्षपछि धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले उक्त सडकखण्ड स्तरोन्नतिका लागि करीब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको बोलपत्र आह्वान गरेको हो । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको धेरै समयपछि निर्माण प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।

बहुवर्षीय आयोजना अन्तर्गत ठेक्का प्रक्रियाको प्रारम्भिक कार्य शुरू भएको हो । धुलियाबिटदेखि बोटेचौरसम्म (३५ किलोमिटर) सडकखण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान लगत्तै कर्णाली प्रदेशसभा सांसद ठम्मर विष्टले लामो समयदेखि भौगोलिक उत्पीडनबाट दुःख पाउँदै आएका यस क्षेत्रका नागरिकले अब यातायातको भरपर्दो सुविधा पाउने अपेक्षा गरे । यसै वर्षदेखि स्तरोन्नतिको कामलाई गति दिन आवश्यक प्रक्रिया शुरू गरिएको आयोजना निर्देशनालयले बताएको छ । डीपीआर अनुसार सडक ९ मिटर चौडाइसम्म कालोपत्र गरिनेछ । हालको सडक औसत चार मिटर चौडाइ छ । डीपीआर अनुसार सडक स्तरोन्नतिको कुल लागत १ अर्ब ९४ करोड ८४ लाख २३ हजार ६७३ रुपैयाँ रहने अनुमान गरिएको छ । आयोजना कार्यान्वयनबाट वीरेन्द्रनगर नगरपालिकाका–११ र १३, लेकबेशी नगरपालिकाका–१, २, ३, ४, ६, ७, ९ र १० सँगै गुर्भाकोट नगरपालिकाका–१०, १२, १३ र १४ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

२०३६ सालमा ट्र्याक खुलेको भेडाबारी सडकखण्ड ४२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सुर्खेतका पूर्व क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको यो सडकखण्ड स्तरोेन्नतिपछि ठूलो स्थानीयवासीलाई ठूलो राहत मिल्ने लेखबेशी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । ‘नगरपालिकाको एक आर्थिक वर्षको पूरै बजेटले पनि सडकको स्तरोन्नति हुने सम्भावना थिएन,’ उनले भने, ‘अहिले मदनभण्डारी राजमार्ग अन्तर्गत केन्द्रीय योजनामै परेपछि छिट्टै स्तरोन्नति हुने आशा गरेका छौं ।’ उक्त सडक निर्माणपछि सुर्खेतबाट काठमाडौं जान साविकको भन्दा ५० किलोमिटर छोटो पर्ने उनले बताए   ।   धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डलाई राष्ट्रिय राजमार्ग बनाउन जनप्रतिनिधिको पहलअनुसार सरकारले स्तरोन्नति गर्न लागेको सुर्खेत क्षेत्र नं का प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले बताए । यो सडकखण्डले सुर्खेतवासीलाई मात्र नभई समग्र कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने उनको भनाइ छ । सडक स्तरोन्नति कार्य तोकिएकै समयभित्रै सम्पन्न गराउन सबै पक्षबाट निरन्तर खबरदारी आवश्यक रहेको उनले औंल्याए ।

पश्चिमखण्डको डीपीआर नै बनेन
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत पश्चिम खण्डको भने डीपीआर नै तयार हुन सकेको छैन । स्थानीयको अवरोधका कारण डीपीआर तयार हुन नसकेको बताइएको छ । ‘यो वर्ष वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मात्रै तयार हुन्छ,’ आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, ‘पश्चिमखण्डमा स्तरोन्नतिको काम अर्काे वर्षदेखि शुरू हुन्छ ।’  डीपीआर लगायत प्राविधिक काम सकिएपछि मात्रै सडक स्तरोन्नति गर्न सकिने उनले बताए ।

प्रतिक्रिया [1]
User Image

लाेक बहादुर रेग्मी।

[May 17, 2021 02:01pm]

प्रशंसनीय कार्य। काठमाडौं जान साविकको भन्दा ५० किलोमिटर छोटो पर्ने भन्ने कुरामा अलि अलमल भयाे।


प्रतिक्रिया दिनुहोस्