ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अबको सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्छ : अध्यक्ष प्रचण्ड

२०७८ बैशाख, २८  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने नयाँ सरकारले निजी क्षेत्रको समस्यालाई सम्बोधन गर्ने बताएका छन् । 

मंगलवार केटीबी एटर्भटाइजिङ्ग एजेन्सी चितवनले  प्रकाशित गरेको कोभिड- १९ विशेष विजनेश म्यागजिनको जुममार्फत विमोचन गर्दै उनले निजी क्षेत्रसहितका सवै निकाय कोभिड विरुद्ध जुट्नु पर्ने बेला आएको बताए । 

विगतको सरकारको गतिविधिबाट निजी क्षेत्र उदासिन रहेको भन्दै उनले आगामी सरकारले निजी क्षेत्रसँग समन्वय गर्दै अगाडि बढ्ने बताए । विगतको सरकारले कोभिड नियन्त्रण गर्न नसकेको भन्दै  जनता र निजी क्षेत्रलाई राहत दिनुको सट्टा आहत दिएको उनले आरोप लगाए । 

‘सरकारमा एकाधिकार, अहंकार,दम्भ  हाबी हुँदा कोभिडको पहिलो लहर नियन्त्रण हुन सकेन’ उनले भने , ‘तपाईहरु ढुक्क हुनुस हाम्रा प्रतिबद्धता पुरा हुन्छन् ।’
केन्द्रीय सरकारबाट स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको र सरकारले सही व्यवस्थापन गर्न नसकेको  भन्दै उनले कोरोना न्यूनिकरणका लागि सरकारनै बाधक भएको बताए । 

चितवनबाट प्रकाशित भएको यो म्यागजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरेपनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो  । 

‘चितवनलाई आधार क्षेत्र बनाएर  देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ, सबै उद्योगी व्यवसायीको आवाजलाई समेट्नु भएको छ,  यो प्रयास प्रशंसनीय र सह्रानीय पनि छ’, उनले भने । 

कोभिड न्यूनिकरणको लागि सबै राजनीति दल,नागरिक, बुदिजीवी, लगायत सामुहिक प्रयास हुनु जरुरी रहेको बताउँदै उनले  यससँग लड्न राज्यका सबै शक्ति र संयन्त्रलाई समन्वयतात्मक ढंगले परिचालन गर्नुपर्ने  बताए ।   

विमोचन समारोहका विशिष्ठ अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणको लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भिर र सचेत भएर काम गरिरहेको बताइन् ।

कोभिड संक्रमित विरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनिकरणको  लागि सबै क्षेत्रसंँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।  

यसैगरी भरतपुर अस्पताल समितिका अध्यक्ष भोजराज अधिकारीले चितवन देशकै केन्द्रविन्दु भएको र दैनिकरुपमा विरामीको चाप बढ्दै गएको भएपनि स्वास्थ्यकर्मीहरुले विरामीको  सेवामा कुन पनि कमी नभएको बताए ।
यस्तै सो अवसरमा चितवनका उद्योगी व्यवसायी हरुले कोभिडको बेलामा सरकारले कुनै सम्बोधन गर्न नसकेको गुनासो गरेका थिए ।चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले सरकारको मेरुदण्डको रुपमा निजी क्षेत्र भएपनि कोभिडको महामारीमा कुनै सहयोग नगरेको बताए । निजी क्षेत्र तंग्रिन लागेको बेला पुनः कोरोनाको दोस्रो लहरले थला पार्ने अवस्थामा पुर्याएको बताए ।
चेम्बर अफ कमर्स चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठले निजी क्षेत्र पनि उत्तिकै कोभिडको मारमा रहेको भन्दै व्यवसायभन्दा स्वास्थ्यको बढी चिन्ता रहेको बताए । सरकार निजी क्षेत्रको साथै आम नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने अवस्था आएको उनले बताए । 
त्यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले कोभिडले आर्थिक क्षेत्र धराशायी हुंँदा सञ्चारक्षेत्रलाई समेत तहनहस बनाएको बताए । उनले सञ्चार क्षेत्र बचाउने उत्तिकै जिम्मा निजी क्षेत्रको रहेकोले कोभिड महामारीको बेला सञ्चार क्षेत्रको विज्ञापन नहटाउन आग्रह गरे । 

म्यागजिन बारे संक्षिप्त रुपमा बताउँदै सम्पादक सूर्यप्रसाद अधिकारीले गत वर्षको कोभिडका विषयहरु अहिले प्रकाशित भएपनि विषयबस्तुहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । म्यागाजिनमा समग्र देशको प्रतिनिधित्व हुनेगरी चितवनका शिक्षा, स्वास्थ्य, उद्योग, कृषि पर्यटन विकास निर्माण लगायतका क्षेत्रहरुमा कोभिडले पारेको असर, चुनौति र संभावनालाई उजागर गर्ने प्रयास गरिएको छ । 

‘यो एउटा दस्तावेज पनि हो, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन् भन्ने विश्वास लिएका छौं’, सम्पादक अधिकारीले भने । विशेष अवस्थामा केन्द्रित भई  विशेष म्यागजिनको रुपमा प्रकाशित उक्त म्यागजिन संभवतः चितवनमा पहिलो म्यागाजिन भएको अधिकारीको भनाइ थियो  ।  

विमोचन कार्यक्रमका सभापति एवं केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटाले कम्पनीले व्यवसाय मात्र नभई सूचना सम्प्रेषण गर्दै आएको बताउँदै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको बताए । कार्यक्रममा चितवनका उद्योगी, व्यवसायी, लेखक, विषयविज्ञ, प्राध्यापक, डाक्टर, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । 


 

 

प्रतिक्रिया [1]
User Image

Ramram

[May 11, 2021 09:04am]

Gharpeti thekedar pani niji mai parxa hola.


प्रतिक्रिया दिनुहोस्