ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालका आधुनिक मुद्राहरूको इतिवृत्ति प्रकाशित

२०७८ बैशाख, २९  
विविध
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा नामक पुस्तक प्रकाशन भएको छ । नेपाल राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाद्वारा लिखित उक्त पुस्तक राष्ट्र बैंकको ६६औं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विमोचन गरेका हुन् ।

सो अवसरमा गभर्नर अधिकारीले पुस्तकमा नेपालको मुद्रासम्बन्धी विभिन्न विषय समेटिएकाले पुस्तक संग्रहणीय भएको बताए । पुस्तकमा ‘वस्तु विनिमय प्रथादेखि हालसम्मको मुद्राको बारेमा तथा आधुनिक मुद्राहरूको चित्रसहित उल्लेख गरिएको छ ।

तीन खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा नेपाली मुद्राको इतिहासका विभिन्न कालखण्डको व्याख्या गरिएको छ । लिच्छवीकालीन, मल्लकालीन, शाहकालीन मुद्राहरूको विकासक्रम सहित सिक्काको विकल्पमा कागजी नोटको खोजीको विषयलाई पनि उल्लेख गरिएको छ ।

पुस्तकमा नेपाली मुद्राको प्रचलनमा नेपाल राष्ट्र बैंकको भूमिकाबारे समेत प्रकाश पारिएको छ । यस्तै मुद्रा निष्कासनको प्रक्रियादेखि झुत्रा तथा मैला नोटहरूको सट्टाभर्नाका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ । जालीनोटको कारोबारीबाट बच्न सकिने उपाय तथा सफा नोट नीति एवम् केन्द्रीय बैंकको भूमिका र यही खण्डमा हालसम्म निष्कासन भएका कागजी नोटहरूको सचित्र निष्कासन मिति, नोटको छपाइ भएको संख्या, नोटमा रहेका विभिन्न सम्पदा, वन्यजन्तु र मठ मन्दिर आदिको विवरण पुस्तकमा समेटिएको छ ।

पुस्तकको दोस्रो खण्डमा नेपालका विभिन्न समयमा टकमरी भएका संस्मरणात्मक सिक्काहरूबारे विस्तृतमा उल्लेख छ भने तेस्रो खण्डमा प्राविधिक विवरणबारे चर्चा गरिएको छ । पुस्तकमा हाल जीवित रहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरूको मन्तव्य पनि राखिएका छन् । २९० पृष्ठ रहेको पुस्तकको प्रकाशन भगवती खतिवडाले गरेकी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्