ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अन्तर्राष्ट्रिय बजारमा हस्तकला सामग्रीको माग उच्च

कोरोनाले रोकियो उत्पादन

२०७८ बैशाख, ३०  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा हस्तकला सामग्रीको माग उच्च भइरहे पनि उत्पादन सोहीअनुरूप हुन सकेको छैन ।

कोरोना महामारीको दोस्रो लहरका कारण स्थिति भयावह बन्दै गएपछि हस्तकला सामग्रीको उत्पादन रोकिन पुगेको हो ।

महामारीको प्रभाव कम हुँदै गएका चीन, अमेरिका र विभिन्न युरोपियन मलुकबाट मेटलक्राफ्ट, फेल्ट, ज्वेलरीजस्ता सामानको माग रोकिएको छैन । तर, कोरोना महामारीका कारण जारी निषेधाज्ञा र कतिपय कालीगढहरू नै  संक्रमित भएकाले उत्पादन रोकिन पुगेको नेपाल हस्तकला कालीगढ संघका अध्यक्ष हरि सेन्चुरीले बताए ।

उनका अनुसार अहिले हस्तकला सामग्री उत्पादनको करिब ठप्पजस्तै छ ।

करिब १० प्रतिशत कामदारले मात्रै घरमै बसेर गर्न सकिने सामग्री बनाइरहेका छन् । बनेका र मौज्दात सामान पनि हाल जारी निषेधाज्ञाका कारण निर्यात गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए ।

हस्तकला सामग्री बनाउन प्रयोग हुने कच्चापदार्थको मूल्यमा अहिले २० प्रतिशतसम्म वृद्धि भएको संघले जनाएको छ । यतिबेला ह्वाइट मेटलको मूल्य प्रतिकिलो करिब १९ प्रतिशतले वृद्धि हुँदै १६ सय रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य प्रतिकिलो १३ सय ५० रुपैयाँ थियो । पित्तलको मूल्य प्रतिकिलो करिब २० प्रतिशतले बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ । तामाको मूल्य पनि २० प्रतिशतले बढेर प्रतिकिलो ११ सय २५ बाट १३ सय ५० रुपैयाँ पुगेको छ ।

चाँदी र सुनको मूल्य निकै बढेको छ । चाँदी प्रतितोला १३ सय ५० र सुन प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ । महासंघको तथ्यांकअनुसार वार्षिक रूपमा नेपालको आन्तरिक बजारमा ६ अर्ब बरावरको हस्तकलाका सामाग्री बिक्री हुने गरेको छ । नेपाली हस्तकला सामग्रीको ठूला बजार अमेरिका, चीन र युरोपेली मुलुक हुन् ।

हस्तकलाका सामग्रीअन्तर्गत हातले निर्मित ४२ वटा विधा समेटिएका छन् । यसमध्ये पस्मिना, फेल्ट, थान्का पेन्टिङ, पौवा पेन्टिङ, काष्ठकला, मूर्तिकला र धातुकलालगायत पर्छन् ।

नेपालबाट वार्षिक ११ देखि १५ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री निर्यात हुने गरेको छ भने करिब ११ लाखले यो क्षेत्रमा रोजगारी पाएका थिए । तर, अहिले कोरोना माहामारीका कारण करिब ९० प्रतिशतले रोजगारी गुमाएको अवस्था छ । त्यसमध्ये ५० प्रतिशतले पेसा नै परिवर्तन गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्