ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुविधाभारसम्बन्धी कानूनी व्यवस्था

सार्वजनिक प्रयोगका लागि सुविधाभारको प्रावधान

२०७८ बैशाख, ३०  
लेख | दृष्टिकोण
Image Not Found

कसैको हक, अधिकार र स्वामित्वमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अन्य व्यक्तिले मुलुकी देवानी संहिता २०७४ बमोजिम भोग गर्न वा प्रयोग गर्न पाउने भएकोमा त्यस्तो भोगचलन वा प्रयोग गर्न पाउने कार्य सुविधाभार हो अर्थात् अर्काको सम्पत्ति कानूनबमोजिम आफूले प्रयोग गर्न पाउने सुविधाको अधिकार हो । कानूनबमोजिम सुविधाभारको व्यवस्था, अचल सम्पत्तिको धनी वा स्वामित्ववालाले सुविधाभारको व्यवस्थाबमोजिम आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई प्रयोग गर्न दिनुपर्छ । यसको व्यवस्था सार्वजनिक र वैयक्तिक दुवै प्रयोजनका लागि हुनेछ ।

कसैको हक, अधिकार र स्वामित्वमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अन्य व्यक्तिले मुलुकी देवानी संहिता २०७४ बमोजिम भोग गर्न वा प्रयोग गर्न पाउने भएकोमा त्यस्तो भोगचलन वा प्रयोग गर्न पाउने कार्य सुविधाभार हो ।

मुलुकी देवानी संहिता २०७४ को दफा ३६८ देखि ३८२ सम्ममा यससम्बन्धी व्यवस्था छ । दफा ३६८ सुविधाभार (सर्भिच्युड्स) को व्यवस्था भएको मानिने : (१) कसैको हक, स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति, यसको कुनै अंश अर्को सम्पत्तिको धनीले यस परिच्छेदबमोजिम भोगचलन वा प्रयोग गर्न पाउने भएकोमा सुविधाभारको व्यवस्था भएको मानिनेछ । (२) करार, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यासबमोजिम सुविधाभारको व्यवस्था कायम हुनेछ । यस संहिताअनुसार करार अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यासबमोजिम हुनुका साथै अर्काको जग्गा जमीनमा कुनै उद्देश्यको निमित्त उपयोगको अधिकार प्राप्त हुनु सुविधाभार हो ।

संहिता आउनुअघि यससम्बन्धमा छुट्टै कानूनी व्यवस्था थिएन । तैपनि विसं २०२० साल भाद्र १ अघिको प्रचलित मुलुकी ऐन घर बनाउनेको महलमा शहर वा गाउँमा घर बनाउँदा सडक, ढल, मिचिबनाउनु नहुने, बाटोमा पानी खस्नेगरी डुँड राख्न नहुने, अघिदेखि चलिआएको वा दिइआएको ठाउँको निकास थुन्न पनि नहुने जस्ता सुविधाभारसम्बन्धी व्यवस्था गरिएको थियो ।  

दफा ३६८ बमोजिम सुविधाभारको व्यवस्था भएकोमा सम्बद्ध अचल सम्पत्तिको धनीले आप्mनो अचल सम्पत्ति अर्को व्यक्तिलाई भोग चलन वा प्रयोग गर्न दिनुपर्छ, दिन्न भन्न पाउँदैन । सार्वजनिक वा सामुदायिक प्रयोजनको लागि सुविधाभारको व्यवस्था भएकोमा त्यस्तो सुविधाभार वैयक्तिक प्रयोजनको लागि समेत प्रयोग गर्न सकिने व्यवस्था दफा ३६९ मा गरिएको छ । कुनै व्यक्तिले कसैको हक स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश वा अंश अर्को अचल सम्पत्तिको धनीले सुविधाभारको रूपमा प्रयोग गरेकोमा सो सुविधाभार प्रदान गर्ने अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पूरै वा केही अंश कसैलाई कुनै बेहोराले हस्तान्तरण गरे पनि अघि जसले सुविधाभार प्रयोग गरेको छ, त्यो सुविधाभारमा यस्तो हस्तान्तरणले कुनै असर पार्दैन त्यस्तो सम्पत्ति उपर रहेको सुविधाभारको व्यवस्था पूर्ववत् कायमै रहन्छ । जुन अचल सम्पत्तिमा सुविधाभार प्रदान गरिएको थियो, उक्त अचल सम्पत्तिको अंशियारबीच अंशबन्डा भ एपनि प्रत्येक अंशियारले पहिले सुविधाभार प्रयोग गर्नेलाई पहिलेकै रूपमा सुविधाभार प्रयोग गरेको मानिन्छ र पूर्ववत् सुविधाभार प्रयोग गर्न पाउँछ । तर, सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको हस्तान्तरण वा अंशबन्डा गर्दा त्यस्तो सम्पत्तिमा अन्यत्र सुविधाभारको व्यवस्था भइरहेको रहेछ भने जुन अचल सम्पत्ति हस्तान्तरण वा अंशबन्डा भएको छ भने हक कायम भएको व्यक्तिको अचल सम्पत्तिबाट सुविधाभार दिनुनपर्ने रहेछ भने त्यतिसम्म अर्थात् त्यो हदसम्म सुविधाभार समाप्त भएको मानिन्छ । यसरी अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने भन्ने व्यवस्था दफा ३७० मा गरिएको छ । कुनै जग्गामा कसैको हक, स्वामित्व वा भोगचलन भए पनि परापूर्वदेखि सार्वजनिक वा सामुदायिक रूपमा हिँडी आएको बाटो, पशु निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पानीघाट, पोखरी, सार्वजनिक सडक, ढल, घोडेटो वा मूल बाटो, पाटी, पौवा, अन्त्येष्टिस्थल, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, इदगाह, कर्वला, कब्रिस्तान वा गिर्जाघर, सामुदायिक विद्यालय, अस्पताल वा त्यस्तै प्रकारका सार्वजनिक स्थल जुन प्रयोजन लागि राखिएको हो सोही बमोजिम सम्बद्ध व्यक्तिलाई प्रयोग गर्न दिनुपर्छ । यस दफाको उपदफा (२) को व्यवस्था सार्वजनिक र सामुदायिक प्रयोजनका लागि गरिएको हो भने त्यो व्यवस्थालाई प्रतिकूल हुने गरी सुविधाभार प्रदान गर्ने जग्गाको स्वामित्ववाला वा भोगाधिकारवालाले त्यस्तो जग्गा आवाद वा कमोद गर्न, त्यसमा कुनै संरचना निर्माण, भोगचलनको विषय नहुने व्यवस्था दफा ३७१ मा गरिएको छ ।

दैवी विपत्ति परेको बेलामा कसैको घरजग्गामा प्रवेश वा प्रयोग नगरी पीडितको उद्धार गर्न नसक्ने अवस्था आएमा त्यस्तो घरजग्गामा प्रवेश गरी उद्धार गर्न सकिन्छ । यस अवस्थामा सम्बद्ध घरजग्गाको स्वामित्ववाला भए निजको अनुमति लिई र नभए वा अनुमति नदिएमा निजको अनुमतिविना त्यस्तो घर जग्गामा प्रबेश गरी पीडितको उद्धार गर्न सकिन्छ । त्यसरी प्रवेश गर्दा हानिनोक्सानी भएमा त्यसको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि दफा ३७२ ले गरेको छ । कसैले पहिल्यैदेखि बाटो निकासको सुविधाभार प्रयोग गर्दै आएको घरजग्गामा दैवी प्रकोप परी बाटो विनाश हुन गएमा त्यस्तो घरजग्गामा आउजाउ गर्न पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक बाटोसम्म पुग्ने उचित बाटोको सुविधाभार पाउँछ । जुन बाटो सार्वजनिक बाटोमा पुग्न सबैभन्दा नजिक हुन्छ, सोहीतर्पmको घर वा जग्गाको स्वामित्ववालासँग मात्र त्यस्तो बाटोको सुविधाभार माग गर्न सक्नेछ भन्ने व्यवस्था दफा ३७३ ले गरेको छ ।

कसैले पनि बाटो वा निकासको व्यवस्था नगरी घरजग्गा हस्तान्तरण गर्नु हुँदैन । बाटो वा निकास भएको घर वा जग्गाको कुनै भाग छुट्याई हस्तान्तरण गर्दा लिने दिने दुवै पक्षलाई बाटो वा निकासको व्यवस्था गरेर मात्र हस्तान्तरण गर्नुपर्छ । त्यस्तो नगरी हस्तान्तरण गर्नु नहुने व्यवस्था दफा ३७४ मा गरिएको छ ।

कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्युत्, ग्यास, टेलिफोनजस्ता आधारभूत सेवा उपलब्ध गराउन आफ्नै जग्गा वा सार्वजनिक, सरकारी वा सामुदायिक जग्गाबाट सम्भव नभएमा निजले सँधियारको जग्गाबाट त्यस्तो जग्गाको स्वामित्ववालालाई हानिनोक्सानी नहुने गरी सेवा प्राप्त गर्ने व्यक्तिले सम्बद्ध जग्गाको स्वामित्ववालालाई उचित क्षतिपूर्ति भने तिर्नुपर्ने व्यवस्था दफा ३७५ ले गरेको छ । कसैले आप्mनो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैले गर्नुपर्छ । तर, व्यवस्थापन गर्न नसकिने अवस्थामा प्राकृतिक रूपमा वर्षाको पानी जता बग्छ उतैतिर बग्न दिनुपर्छ तर तल्लो पट्टिको जग्गामा प्रतिकूल असर पर्ने गरी कार्य गर्नु नहुने व्यवस्था दफा ३७८ मा गरिएको छ । कसैको खेती गर्ने जग्गामा मानिस वा खेती गर्ने प्रयोजनका लागि सम्बद्ध जग्गाको धनीले खेत हुने व्यक्तिलाई खेती गर्न जाने बाटो वा निकासको सुविधा दिनुपर्नेछ भन्ने व्यवस्था दफा ३८० मा गरिएको छ ।

यसरी चल सम्पत्तिमा लागू नहुने, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यासबमोजिम हुने यो सुविधाभारसम्बन्धी व्यवस्था हाम्रो सन्दर्भमा नयाँ हो । जसलाई मुलुकी देवानी संहिताले स्पष्ट पारेको छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्