ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकार कता छ ?

२०७८ बैशाख, ३१  
पाठक विचार
NA

समाचारका पाना र सामाजिक भित्ता हेर्दा कोरोनाको भयावह चित्र देखिन्छ । मानिसहरू मरिरहेका छन्, अक्सिजन नपाएर, अस्पतालमा भर्ना नपाएर र सामान्य उपचारसमेत नपाएर । यो अवस्था आउनुमा पूर्णरूपमा सरकार जिम्मेवार छ । भारतमा कोरोनाको दोस्रो लहर आएपछि त्यसले नेपाललाई छुन्छ भन्ने करीब करीब सबैलाई थाहा भएको कुरा हो । त्यहाँ काम गर्ने गएका नेपालीलाई नेपाल छिर्न रोक्न सकिँदैन र त्यसले भारतको कोरोनालाई नेपालमा भिœयाउँछ भन्ने निश्चित नै थियो ।

तर, प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्रालयसम्मले सम्भावित लहरलाई उपेक्षा गरे । कुनै पनि तयारी गरेनन् । अक्सिजन सिलिन्डर थप्ने, अस्पतालमा शय्या थप्ने कुनै काम भएनन् । कोरोनाको अघिल्लो लहरमा केही पूर्वाधार थपिएका थिए । त्यसबाहेक बढी तयारी गरिएन । अझ पहिलो लहरका बेला तयार पारिएका आइसोलेशन केन्द्रहरू बन्द गरिए । परीक्षण, कन्ट्याक्ट ट्रेसिङजस्ता कामलाई सुस्त बनाइयो । सरकार र नागरिकस्तरमा समेत कोरोनालाई जितेको जस्तो व्यवहार देखियो ।

सरकार सञ्चालनको जिम्मेवारी पाएका सत्तारूढ दल सबैभन्दा बढी दोषी देखिन्छ कोरोना फैलाउनमा । आन्तरिक खिचलोको कारण सभा, जुलुस र प्रदर्शन गरे । मानिसहरूलाई भौतिक दूरी कायम नगर्न तथा कोरोना भीडभाडबाट सर्दैन भन्ने भाव उमार्न उनीहरूको प्रदर्शनले ठूलै भूमिका खेल्यो । यही कारण मानिसहरू लापर्बाह बने । अहिले त्यसैको परिणाम मुलुकले खेपिरहेको छ ।

जनताले आफूले जिताएको र निर्वाचनबाट चुनेको सरकार र त्यसको प्रधानमन्त्रीले के गरिरहेको छ ? नागरिकप्रति कस्तो जिम्मेवारी वहन गरिरहेको छ ? यसबारे सचेत हुन्छ । प्रश्न पनि गर्छ । कोरोना भाइरसबाट मुलुक आक्रान्त भइरहेको वेला तथा हजाराैं नेपाली मरिरहँदा त्यसको रोकथाम गर्न र नागरिकलाई बचाउने जिम्मा सरकारको हो । तर, आज अस्पतालमा अक्सिजनको सिलिन्डर नभएर, अस्पतालले बिरामी भर्ना नलिएर र कोरोना विरुद्ध बच्न मानिसको भीडभाड नघटाएको कारणले यत्रो मान्छे संक्रमित भइरहेका छन् । दिनहुँ सयौं नागरिक मरिरहेका छन् । यसको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्छ । महामारीका बेला उपचार नपाएर कुनै नागरिक मर्छ भने त्यो हत्या हो भनिन्छ । यो हत्याको जिम्मेवारी सरकारले लिन्छ कि लिँदैन ?

प्रधानमन्त्रीले उपचारका लागि आवश्यक पूर्वाधार बनाउनभन्दा बेसार पानीको महिमा गाएर बस्नुभयो । यो विपत्तिको घडीमा सरकारले दलहरूसँग मिलेर कुनै छलफल गरेको थाहा छैन । आगामी रणनीति के हुन्छ भनेर विज्ञहरूसँग छलफल गरेको पनि छैन । योजना बनाउने त परको कुरा । विपक्षी दलहरूसँगसमेत मिलेर राष्ट्रिय एकताका साथ विपत्तिविरुद्ध लाग्नुपर्नेमा विपक्षीलाई पेल्ने तथा आप्mना सहयोगीलाई चिढाउने काममा प्रधानमन्त्री लागिरहनुभयो । कुनै पनि दिन समस्याको गम्भीरतालाई लिएर तथ्यांकसहित कुरा गर्नुभएन उल्टै मिथ्यांक दिएर मानिसहरूलाई भ्रममा राख्न खोज्नुभयो । त्यसैको परिणाम अहिले अकालमा नागरिकहरूले जीवन गुमाइरहनु परेको छ ।

संकटको पीडा बाहिर हेर्दा जत्ति डरलाग्दो छ भोग्नेलाई त्यो अत्यन्त असह्य देखिन्छ । कोरोना लागेका बिरामी र उसका परिवारले कत्तिको मानसिक दबाब झेल्नुपरेको होला ? कसरी जुधे होलान् ? के यस्तो बेला प्रधानमन्त्रीले देशको अभिभावकको नाताले जनतालाई उपचारका लागि पहल र हौसला प्रदान गर्नुपर्ने हो तर सत्ता जोगाउनमा मात्रै उहाँ केन्द्रित हुनुभएको छ ।

केही समयका लागि विकास बजेटलाई स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने व्यवस्था गर्नुपर्छ । अस्पताल चाहिने रहेछ भन्ने कुरा बुझौं । यो बेला कुर्सीको खिचातानी होइन । सबै दल मिलेर एक भई कोरोनाविरुद्ध लड्नुपर्ने भएको छ । आजको स्थिति सामान्य छैन, झन भयावह हुनेवाला छ । अबको १ महीना कोरोना भाइरस नेपालमा चरम रूपमा हुने र त्यसपछि क्रमश घट्दै जाने कुरा विज्ञहरूले बताएका छन् । यस अवधिमा विशेष अभियान चलाऔं, राज्यको पूरै स्रोत कोरोनाविरुद्ध परिचालन गरौं । विकास बजेट कटाएर पनि स्वास्थ्य क्षेत्रमा खर्च गरौं । विदेशी मित्रहरूसँग पनि सहयोगको याचना गरौं । व्यवस्थापन गर्न सकिँदैन भने त्यसका लागि पनि सहयोग माग्न सकिन्छ । जनताको जीवनको मूल्य सबैभन्दा बढी हुन्छ । जनतालाई बचाउन सकिएन भने अहिले अनेक तिकडम गरी जोगाएको सत्ता भोलि कुनै पनि क्षण ढल्न सक्छ । जनताका दृष्टिमा गिरेपछि फेरि उठ्न निकै गाह्रो हुन्छ । यसतर्पm सरकारको ध्यान जाओस् । कमजोर भनिएका जनता जागे भने तिनको बल निकै शक्तिशाली हुन्छ भन्नेमा सरकारले बेलैमा सोचोस् ।

मुकुन्द अधिकारी
स्यूचाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्