ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एउटै उपाय महायज्ञ

२०७८ बैशाख, ३१  
तीतो मीठो
author avatar मदन लम्साल

माछा माछा भ्याकुता ! सरकारमा नयाँ अनुहार आउनेजस्तो कुरा थ्यो । फेरि नआउने रे, अलि पछि आउने रे । तर सरकारमा जो आए पनि, जो गए पनि जनतालाई त सधैं हात लाग्यो शून्य नै हो । मिलिजुली सरकार आए पनि, झिलिमिली वा रंगीबिरंगी जस्तो आए नि त्यसले के नै फरक पर्छ र ? किनकि अहिले भएका राजनीतिका मुख्य पात्रहरू हेर्दा विगतमा उनीहरूको काम गर्ने शैली हेर्दा, जो जहिले फेरिए पनि प्रवृत्ति फेरिने छनक कतै देखिँदैन ।

जनताको काम भनेको नेताका लागि सडक तताउने, चुनावमा भोट दिने र समयमा कर तिर्ने मात्र हो । बाँकी काम सरकारले गर्छ । जनताले आशा गर्ने हो, भर पर्ने होइन ।

खैर, सरकारमा जाने पालो जसले कुरे पनि नकुरे पनि कोरोनाले चैं हाम्लाई कुर्नेवाला छैन । यता न अक्सिजन न भ्याक्सिनको स्थिति छ । यस्तो अवस्थामा कोरोनाबाट जोगिने कुरो भनेको भगवान् भरोसे मात्र हो । उता गुजरातीहरूले जीउभरि गोबर दलेर कोरोना भगाउने अभियान शुरू गरिसके । यता हाम्ले पनि क्यै न केही गर्नैपर्छ । किनकि सरकारले त केही गर्ला जस्तोे छैन ।

त्यसैले अब कोरोना भगाउन बरु भगवान्लाई खुशी पार्न सके केही भइहाल्छ कि ? त्यसैले एउटा विशाल यज्ञको आयोजना गरौं । तर महायज्ञ गर्न त धेरै पैसा चाहिन्छ । यस कामका लागि विश्व बैंक, एडीबी र आईएनजीओहरूले पैसो दिँदैनन् भन्नुहोला । चिन्ता नलिनोस् । पैसो धेरै कसरी जम्मा गर्ने भन्ने उपाय त नेता, मन्त्रीहरूले पक्कै सिकाइदेलान् नि । उनीहरूसँग त सरकारी ढुकुटीबाटै पैसा जुटाउने गज्जबको खुवी हुन्छ । किनकि उनीहरूको यसमा टन्नै अनुभव छ नि त । अझ पैसा संकलन गर्नेलाई कमिशनको पनि व्यवस्था गरिदिऊँ । त्यसपछि त पैसोको के समस्या होला र ?

बरु यो महायज्ञमा चाहिने सरसामग्रीको पनि जोहो गर्न शुरू गरिहालौं । पूजा र भुजामा सबैभन्दा पहिले त आसन चाहिन्छ । यसका लागि एउटा विशेषखाले र अरू दुईखाले केही कुर्सीहरू किनेर लेराउनुपर्छ । र, ती कुर्सीलाई विशेष पूजा गर्नुपर्छ । त्यो विशेषखाले कुर्सीलाई चैं चारैतिरबाट सिसैसिसाको बार लगाएको हुनुपर्छ । पूजा शुरू गर्नुअघि ती कुर्सीमाथि ‘इदम् भ्रष्टम्, उदम् भ्रष्टम्, तथास्तु’ लेखेर मूलघरको चुनावी कक्षको ईशान कोणमा लगेर राख्नुपर्छ ।

पण्डितले पूजा गरेपछि योे विशेषखाले कुर्सी बडेहाकिमका लागि सुरक्षित राखौं । एकथरी कुर्सी लगेर सबै दलका प्रमुख नेताहरूलाई चढाऔं । दोस्रोथरी कुर्सीहरूलाई चण्डले, मण्डले, कमण्डले आदि नाम दिऊँ र टिकट बाँड्ने हैसियतका नेतालाई दिऊँ र आफ्ना चम्चेहरूलाई बाँड्न लगाऔं । कुर्सी बाँड्नुअघि खाली कागजमा सही गराइहाल्न पनि सम्झाऊँ, भविष्यमा अविश्वासको प्रस्ताव झेल्नुपरे त्यो काम आउँछ ।

अब कुरा गरौं यो महायज्ञको खास विधिको । यज्ञस्थलको पूर्व, पश्चिम, उत्तर र दक्षिण कोणमा भ्याक्सिन उत्पादक देशहरू र तिनका बीचमा पर्ने आग्नेय, नैऋत्य, वायव्य अनि ईशान कोणमा भ्याक्सिन उत्पादक कम्पनीलाई आह्वान गरेर भक्तिभावपूर्वक आसन, पाद्य, आचमनीय, पञ्चामृत, चन्दन, अक्षता, फूल, धूप, दीप, नैवेद्यादिको अर्पणपूर्वक आराधना गर्नुपर्छ ।

त्यसपछि आकाशको पूजा गर्नुपर्छ, दुईटा वरको याचना गर्दै । एक, हावामा अक्सिजनको कमी हुन नदेऊ र दुई, भ्याक्सिन बोकेर आउने हवाईजहाजलाई आकाशमार्ग सहज गरिदेऊ भनी पुकार गरौं ।

यज्ञस्थलको बीचमा राखिने प्रधान देवताको चतुर्मुख हुनुपर्छ । एउटा मुख बिचौलियाको, अर्को मुख सरकारी उच्चपदस्थ कर्मचारीको । अनि बाँकी दुई मुखमा एउटा स्वास्थ्यमन्त्रीको र अर्को प्रधानमन्त्रीको । यी चतुर्मुखहरूले संयुक्त रूपमा मिलेर काम नगरेसम्म कोरोनाको कहरबाट देशले त्राण पाउनेछैन । किनकि यिनीहरू स्वघोषित भगवान् भएका कारण यिनीहरूले देशको नियमकानून मान्नुपर्दैन । पेशागत इमानदारी त पटक्कै गर्नुपर्दैन । यसो गरे त उनीहरू पनि त हामी सामान्य जनताजस्तै भइहाल्छन् नि, अर्थात् मान्छेजस्तै भइहाले नि ।

नामै चतुर्मुख भएपछि बोली र व्यवहार पनि चतुर्मुखे नै हुनुप¥यो । त्यसैले यिनले जति बेला जस्तो रूपको आवश्यकता पर्छ, त्यस्तै रूप प्रकट गर्ने हुन्छन् । पुराणमा यस्ता भगवान्को चर्चा पढ्नुभएकै होला, जो नेपालमा अहिले पनि जीवितै छन् । यिनले गर्न नसक्ने केही पनि छैन । तर किन हो कुन्नी जनताको भलाइ हुने काम चाहिँ यिनीहरू गर्दै गर्दैनन् ।

नेतारूपी चतुमुर्खी यस्ता भगवान् विदेश जाऊन् या बिरामी परून्, आसन अर्थात् कुर्सी कहिल्यै छाड्नु हुँदैन । त्यसैले त फेबिकोलले भन्दा बलियोसँग जोडिएको हुन्छ यिनीहरूसँग कुुर्सी । यसरी जबसम्म कुर्सीले चतुमुर्खी नेताजीका साथ छाड्दैन, तबसम्म कोरोनाले पनि यिनलार्ई छुँदैन । यो महायज्ञ गरिसकेपछि त नेताजीलाई मात्र होइन, नेताजीका आसेपासे, हनुमान्, नन्दीभृंगी कसैलाई पनि कोरोनाले केही लछारपाटो लाउन सक्तैन । जहाँसम्म जनताको कुरा छ, जनता त यसै मर्ने हो, उसै मर्ने नै हो ।

जनता मरे मरून्, नेताहरूलाई त बचाउनैपर्छ । किनकि जनता त मरेर पनि सिद्धिँदैनन् । तर नेता मरे त महाभारत नै भइहाल्छ नि । राजनीति र सरकार सबै चलाउन पनि नेता जोगाउन परेन ? नेताहरू बाँचे, जनता बाँचेसरह हुन्छ । जनताले यसमा टेन्सन लिने कामै छैन । जनताको काम भनेको नेताका लागि सडक तताउने, चुनावमा भोट दिने र समयमा कर तिर्ने मात्र हो । बाँकी काम सरकारले गर्छ । जनताले आशा गर्ने हो, भर पर्ने होइन । ‘गीतामा कर्ममा तिम्रो अधिकार हुन्छ, फलमा हुँदैन’ भनेको छ नि त । लकडाउन र निषेधाज्ञामय यस अवधिमा अहिलेसम्म गीता त पढिसक्नुभएकै होला नि ? त्यसैले अरू कुरा छोडौं, यो महायज्ञ चैं छिट्टै थालिहालौं ।

यो महायज्ञपछि पनि काम भएन भने के गर्ने भन्नुहोला । ल ! त्यसपछि के स्पष्ट हुन्छ भने यज्ञस्थलका यी त देवता होइन रहेछन्, अहिले धेरैले भन्ने गरेजस्तै चारैतिरबाट खाने अर्थात् चतुर्मुखी राक्षस पो रहेछन् भन्ने थाहा हुन्छ । राक्षस नै हो भन्ने पुष्टि भइसकेपछि के गर्नुपर्छ त ? त्यो त भूतप्रेत मन्छाउने, घोडेजात्रा मनाउने परम्परा भएका नेपालीहरूलाई सिकाइरहनु पर्ला र ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्