ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिन निजीक्षेत्रको माग

२०७८ जेठ, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुलुकमा आन्तरिक खपत बढाउँदै अन्तरराष्ट्रिय बजारमा विद्युत् विक्रीको अनुमति दिन निजीक्षेत्रले सरकारसँग माग गरेको छ । राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा विद्युत्को खपत बढाउन नसकिएको र अन्तरराष्ट्रिय रूपमा समेत व्यापार गर्न नसकिएको भन्दै सरोकारवालाहरूले निजीक्षेत्रका उर्जा व्यवसायीलाई पनि सीधै क्षेत्रीय बजारमा विद्युत् व्यापार गर्न दिन माग गरेका हुन् । हाल सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्र अन्तरराष्ट्रिय बजारमा यस्तो व्यापार गर्दै आएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको ‘स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट’ विषयक अन्तरक्रियामा सहभागीहरूले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना तथा कार्यक्रम ल्याउनुपर्ने र बढी भएको बिजुली क्षेत्रीय बजारमा विक्री गर्नेगरी योजना तथा त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो औंल्याए ।

आन्तरिक रूपमा विद्युत् खपत बढाउन विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन, ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग, उद्योग तथा व्यवसायले सहज रूपमा बिजुली पाउने वातावरण हुनुपर्नेमा सहभागीहरूले जोड दिए । सरकारले केही नीतिगत सुधार गरेर प्रसारण प्रणालीमा सुधार गरे तत्कालै ५०० मेगावाट उद्योग प्रतिष्ठानले लिन सक्ने सक्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले आन्तरिक रूपमा बिजुलीको माग बढ्न नसक्नुका तथ्य र कारणको खोजी गर्नुपर्ने बताए । करीब १७ हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेको भन्दै उनले वितरण प्रणालीलाई राम्रो बनाइए खपत  बढ्ने धारणा राखे । विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले मूल्य घटाएर मात्रै बिजुलीको खपत बढ्ने मान्यता राख्नुभन्दा त्यसको विविधीकरणमा जोड दिनुपर्ने सुझाव दिए । वर्षा र हिउँदको बिजुलीको महसुल दर फरक फरक बनाउनुपर्ने, यामअनुसारको वस्तुनिष्ट महसुल तय गरेर जानुपर्ने भन्दै उनले त्यसको बारेमा आयोगले अध्ययन गरिरहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको समग्र ऊर्जाक्षेत्रको विकासका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काममा सहजीकरण गर्न आफूहरू प्रयत्नशील रहेको बताए । ‘प्राधिकरणले आम उपभोक्ताको हित हेर्दै समन्वयात्मक रूपमा काम गरिरहेको छ,’ उनले भने, ‘उद्योगी व्यवसायीको मागलाई समेत सम्बोधन गर्न प्रयासरत छ ।’

ऊर्जा क्षेत्रका जानकार ज्ञानेन्द्रलाल प्रधानले केही नीतिगत परिवर्तन, प्रसारण प्रणालीको विकास तथा विस्तार हुन सके तत्काल २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक बजार स्वदेशमै तयार हुने बताए । भारत, बंगलादेश जस्ता मुलुकका लागि नेपालको ऊर्जा जरुरी रहेको भन्दै उनले त्यसका लागि संयन्त्र खडा गर्ने र अत्यावश्यक काम गर्नुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य महासंघको ऊर्जा समितिका सभापति गोपाल खनालले भौतिक पूर्वाधारको विकास र विस्तारमा जोड दिए मात्रै सरकारी तथा निजी क्षेत्रको पहल सार्थक हुने बताए । राज्य, आम उपभोक्ता र व्यवसायीको हितका लागि साझा दृष्टिकोणसहितको कार्ययोजना जरुरी रहेको उनले औंल्याए ।

यस्तै एउटा सरकारी निकायको कुरा अर्को निकायले नमान्ने अवस्थाको अन्त्य गरिनुपर्ने र एकद्वार नीतिमार्फत काम हुने वातावरण तयार पार्नुपर्नेमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्ण आचार्यले जोड दिए ।  बिजुलीको उतपादन बढाउन ‘क्यू ४०’ को प्रणाली हटाउन उनले सुझाए । सरकार राजस्व उठाउन मात्रै केन्द्रित हुँदा पनि समस्या पैदा भएको भन्दै उनले नीति बनाउने भन्दा पनि भएकालाई कार्यान्वयन गर्न आग्रह गरे । व्यवसायी भरत खत्रीले व्यापारिक उद्योग तथा व्यवसायीलाई विद्युत्को मूल्य निकै महँगो भएको भन्दै त्यसलाई समसामयिक परिवर्तन गर्न आग्रह गरे । बढी खपत गर्नेलाई कम महसुल लिने प्रणालीको व्यवस्था गर्न र प्रसारण तथा वितरण प्रणालीको सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा इप्पानका कोषाध्यक्ष आनन्द चौधरीले मुलुकको विद्युत् उत्पादनको अवस्था तथा क्षेत्रीय विद्युत् व्यापारको मार्गचित्र समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा निजीक्षेत्रका प्रतिनिधिले सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने र अन्य सामान जस्तै बिजुलीको विक्रीमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्