ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाललाई चामलमा आत्मनिर्भर हुन ५ वर्ष पनि नलाग्ने : विज्ञ

२०७८ जेठ, १७  
समाचार
Image Not Found

जेठ १७, काठमाडौं । धानबाली विज्ञ भन्छन् आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ ।

केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमीन झन्डै ३१ लाख हेक्टर  छ ।

सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट पुस्तिकाको बुंदा नं. १०८ मा नेपाललाई आगामी पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । त्यसो त यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि आगामी तीन वर्षमा नेपाललाई चामलमा आत्मनिर्भर बनाइने घोषणा गरिएको भएपनि परिणाम भने प्राप्त हुन सकेन ।   

कृषि गणना नभएको पनि झन्डै १० वर्ष नाघिसकेको छ । यस अवधिसम्म कति खेतीयोग्य जमीन घडेरीकरण, खण्डीकरण वा नदीले कटान गर्‍यो त्यसको कुनै तथ्यांक छैन । तीन आर्थिक वर्षदेखि हरेक सरकारले बजेटमार्फत जमीन बाँझो राख्न नदिन कडा कानून ल्याउने बताउँदै आएका छन् । गत दुई आर्थिक वर्षदेखि सरकारले बजेटमार्फत कानूनी कारबाहीको सट्टा भूमी बैंकलाई जग्गा उपलब्ध गराउनुपर्ने विषय उल्लेख  छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को अध्यादेशमार्फत पेश गरेको बजेटमा सात प्रदेशमा नै भूमि बैंक स्थापना गरिने उल्लेख छ । हरेक सरकारले पटकपटक नयाँनयाँ विषय उठान गरेपनि कार्यान्वयन हुन नसक्दा प्रत्येक साल नेपालले भारतलगायतका देशबाट प्रतिमहिना रू. दुई अर्ब ५० करोडको चामल आयात गर्दै आएको विभिन्न तथ्यांकमा उल्लेख गरिएका छन् । 

बजेटको बुदा नं १०८ मा आगामी दुई वर्षमा दूध र तरकारी, तीन वर्षमा गहुँ, मकै, कोदो र फापर, पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको पहिलो छ महीनामा भारतबाट ३० करोड र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ । 
त्यस्तै ३३ करोड केजी मकै भारतबाट भित्रिदा २४/२४ लाख केजी दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र तीन लाख ५० हजार केजी दक्षिण अफ्रिकाबाट आयात भएको छ । 

कृषि गणना २०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान छ, मकै १२, गहुँ छ, कोदो १९ र फापरमा ४० प्रतिशतले उत्पादनमा गिरावट आएको तथ्यांक सार्वजनिक गरेको छ । त्यसैगरी, जौँ, ३५, तोरी १३, र कोशे बालीमा २१ प्रतिशतले उत्पादन घटेको उल्लेख छ ।

कृषियोग्य जमीनको चक्लाबन्दी, कबुलियती, सामूहिक र करार खेतीमार्फत उत्पादनको वृद्धि गरिने विषय उठान भएको चार आर्थिक वर्ष नाघिसकेको छ । प्रत्येक बजेट पुस्तिकामार्फत उक्त कुरा लेखिएको भएपनि कार्यान्वयन फितलो देखिएकाले आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुने सरकारको योजना सफल होला नै भन्न मुस्किल रहेको वरिष्ठ धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतको भनाइ छ । 

नेपालीको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । केन्द्रीय तथ्यांक विभागका अनुसार हाल नेपालको जनसंख्या तीन करोड नाघिसकेको छ । सो संख्यालाई चामल पुर्‍याउन झन्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । नेपालको उत्पादन भने जम्मा ५५/५६ लाख मेट्रिक टनमा सीमित छ । 

हिमाल पारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुने गर्दछ । नेपालको सबैभन्दा अग्लो स्थान जुम्लामा लगाइने ‘जुम्ली मार्सी’ धान विश्वमा प्रसिद्ध छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा चामलको महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भएका छन् । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । 

नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । नेपालको कुल  गार्हस्थ्य उत्पादनमा धानको योगदान १२ प्रतिशत छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्