ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दुग्धजन्य पदार्थको निर्यात ४६५ % ले बढ्यो

२०७८ जेठ, १८  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थको निर्यात करीब ४ सय ६५ प्रतिशतले बढेको पाइएको छ । आर्थिक वर्ष (आव) २०७६÷७७ को पहिलो १० महीनाको दुग्धजन्य पदार्थको निर्यात परीमाणसँग तुलना गर्दा चालू आव २०७७/७८ को पहिलो १० महीनामा दुग्धजन्य पदार्थको निर्यात ४ सय ६५ प्रतिशतले बढेको छ । नेपालले विदेशमा घ्यूको निर्यात बढाएकाले निर्यात बढेको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो आवको साउनदेखि वैशाख महीनासम्म १ करोड १६ लाख ४६ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात भएकोमा चालू आवको सोही अवधिमा कुल ६ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ निर्यात भएको छ ।

बोर्डका अनुसार सोही अवधिमा आयात भने १४ दशमलव २५ प्रतिशतले घटेको देखाइएको छ । आव वर्ष २०७६/७७ को पहिलो १० महीनाको अवधिमा दुग्धजन्य पदार्थको कुल आयात १ अर्ब ६८ करोड ७४ लाख ३२ हजार रुपैयाँको भएको थियो भने चालू आव २०७७/७८ को सोही अवधिमा १ अर्ब ४४ करोड ७० लाख ४१ हजार रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको छ ।

बोर्डका प्राविधिक निर्देशक डा. बालक चौधरीका अनुसार नेपालले गत आवको १० महीनाको तुलनामा चालू आवको १० महीनामा ११ हजार १ सय १५ केजी बढी घ्यू जापान निर्यात गर्न सफल भएकाले निर्यात मूल्य बढेको हो । नेपालले यति धेरै मात्रामा घ्यू विदेश निर्यात गरेको यो नै पहिलोपटक भएको उनले बताए । जापानमा दुग्धजन्य पदार्थको व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूले जापानमा नेपाली दुग्ध पदार्थको बजार प्रवद्र्धन गरिरहेकाले नेपाली दुग्धजन्य पदार्थले जापानमा पहिलोपटक यति ठूलो बजार पाएको उनले जानकारी दिए ।

दूध संकलन ५० प्रतिशत मात्र
निषेधाज्ञाका कारण दूध संकलन ५० प्रतिशतमा सीमित हुन पुगेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दूध दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण औपचारिक क्षेत्रको दूध संकलनमा ५० प्रतिशतले कमी आएको जानकारी दिएको हो ।

‘दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन, कोरोना भाइरसविरुद्ध दीर्घ जीवन’ भन्ने नाराका साथ बोर्डले यस वर्षको विश्व दूध दिवस मनाउँदै छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दूध माथिको पहँुच बढाउन खाद्य तथा कृषि संगठनले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन शुरू गरेको हो ।

दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा पनि सन् २०११ बाट केन्द्रीय दुग्ध सहकारी संघले विश्व दूध दिवस मनाउन शुरू गरेकोमा सन् २०१२ बाट राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवालाहरूलाई सहभागी गराई विश्व दूध दिवस कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करीब ९ प्रतिशत योगदान पुर्‍याएको दुग्ध क्षेत्र निषेधाज्ञाका कारण असहज परिस्थितिमा पुगेको बताए । उनका अनुसार हाल औपचारिक क्षेत्रसँग मात्र करीब ४१ हजार मेट्रिकटन धूलो दूध र २५ हजार मेट्रिकटन बटर मौज्दात रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्