ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड स्वास्थ्य सहायता केन्द्रबाट ३०० भन्दा बढी संक्रमित लाभान्वित : उद्योग वाणिज्य महासंघ    

२०७८ जेठ, २०  
बजार
Image Not Found

जेठ २०, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी संक्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।     
     
महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले महासंघले सो केन्द्रको स्थापना गरेको थियो ।     
     
महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख २३ गते बसेको महासंघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैनभवन, क्षेत्रपाटी र पुलचोकमा आईसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो ।     
     
सहायता केन्द्रअन्तर्गत कोभिड संक्रमण भई घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदूरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन  ओटा स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो ।

यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आईसोलेशन सेन्टर र केन्द्रहरुमा २४ सै घण्टा उपलब्ध रहेका छन् ।     
     
साथै आर्इसोलेशनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका संक्रमितलाई आईसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकतानुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी अउपलब्ध गराइएको सेवाबाट अहिलेसम्म ३०० भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासंघले बताएको छ ।     
     
त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजीरूपमा क्षेत्रपाटीस्थित आईसोलेशन केन्द्रमा ३० ओटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको र त्यसबाट ५० जनाभन्दा बढी संक्रमित लाभाविन्वत भएका पनि महासंघले बताएको छ ।

संक्रमितहरु आफैं पनि ती आईसोलेशन सेन्टरमा आउन सक्ने तथा आवश्यकतानुसार काठमाडौं बाहिर तथा उपत्यकाबाट नै आवश्यकतानुसार हवाई तथा एम्बुलेन्स सेवा उपलब्ध गराई ती सहायता केन्द्रमा संक्रमितलाई ल्याउने प्रबन्ध गरिएको थियो ।     
     
मुलुक संकटमा पर्दा महासंघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको मनन् गरी विगतमा पनि यस्ता विपद्को समयमा सहयोग गर्दै आएको र यसपटक पनि देश महामारीको संकटमा परेका बेला आफ्नो सोही दायित्वबोध गरेर सेवा शुरु गरिएको संयोजक ढकालले बताए। 
     
मुलुकको निजी क्षेत्रले देश सङ्कटमा परेका बेला गरेको यो सानो अग्रसरता हो भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले यो सहायता केन्द्रबाट धेरै नागरिक लाभान्वित हुने त छँदैछ अस्पतालमा पुग्ने नागरिकको चापलाई कम गर्न पनि सहयोग पुर्‍याएको महसुुस आफूहरुले गरेको जानकारी दिए।

कोभिड महामारीमा हालका लागि अत्यावश्यक देखिएका विभिन्न छवटा सहयोगका क्षेत्रहरुको पहिचान गरी महासङ्घका सदस्यहरुमध्येबाट प्रायः ती क्षेत्रमा अनुभव रहेका फोकल पर्सनहरु तोकेर सहयोगका कार्यक्रम अघि बढाइएको पनि संयोजक ढकालले जानकारी दिए।     

महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट सङ्क्रमित बिरामी, तिनका परिवार र आफन्तहरुसहित धेरैलाई राहत पुगेको छ । केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड संक्रमण भएका डेढ वर्ष उमेरदेखि १०२ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सहयोग पुगेको महासंघले बताएको छ ।     
     
केन्द्रले कोभिड संक्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई आईसीयू तथा भेन्टिलेटर र अत्यावश्यक औषधि उपलब्ध गराइरहेको छ ।      
      केन्द्रले हालसम्म अस्पतालमा भेन्टिलेटर र आईसीयू, अक्सिजन, अस्पताल शय्या, प्लाज्मा, रेम्डेसिभर औषधिलगायतका अत्यावश्यक सेवा र औषधि ३०० जनाभन्दा बढीलाई उपलब्ध गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्