ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजेट वक्तव्यमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरु : अर्थ मन्त्रालय

२०७८ जेठ, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को बजेट वक्तव्यमा उल्लेखित छूट तथा सुविधाको कार्यान्वयन शुरु भएको छ । 

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन बीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छूट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको छ । 

बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत  छूट दिने उल्लेख गरिएको थियो । 
 
बैठकमा छूट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महीनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ । 

यस्तै साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास १ थान सिलिन्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ । 

सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरीद गर्ने ग्राहकको पहिचान खुल्ने कागजात सहितको विवरण तयार पार्ने,  दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छूट सम्बन्धी विवरण मासिक रुपमा तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सोध भर्ना माग गर्ने निर्णय पनि भएको छ । 

बैठकमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, सहसचिवहरु समुन दाहाल, धनीराम शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेम श्रेष्ठ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनबहादुर चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका नायव कार्यकारी निर्देशक कुमार राजभण्डारी उपस्थित रहेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्