ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हुलाकी सडक : ४ वर्षमा २५ किलोमिटर कालोपत्र

२०७८ जेठ, २१  
सुदूरपश्चिम प्रदेश
NA

महेन्द्रनगर । निर्माण सम्झौताको दोब्बर समय बित्न लाग्दा समेत कञ्चनपुरको हुलाकी सडकको काम कछुवा गतिमा छ । जिल्लाको डोकेबजारदेखि दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार ३० महीनाभित्र सडक स्तरोन्नतिको काम सम्पन्न हुनुपर्नेमा हालसम्म २५ किलोमिटर कालोपत्र भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले बताए । तीनओटा प्याकेजमा निर्माण शुरू गरिए पनि कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो ।

‘निर्माणका लागि पटक पटक समय थप गर्दा पनि काम भएन,’ इन्जिनियर मडैले भने, ‘अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महीना म्याद थप गर्ने भनिएको छ । तर माथिबाट परिपत्र आएको छैन ।’ सरकारले निषेधाज्ञा अवधिमा विकास निर्माणमा अवरोध नहुने बताएपछि कोरोना जोखिमकै बीच सडकको पुनः सुचारु गर्न लागिएको छ ।

त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने (बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका–८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले १ हजार २ सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँइमा भारतीय पक्षले अवरोध गर्दै आए पनि त्यसको अझै समाधान खोजिएको छैन । ‘त्यहाँ जीपीएस नक्साका आधारमा सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन,’ इञ्जिनियर मडैले भने, ‘स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।’ भारतले त्यहाँ ३८ नं. सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाइ छ । कम्पनीले उक्त १२ सय मिटर सडक कालोपत्र गर्ने तयारी गरिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बताइएको छ । १ अर्ब ९ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमै सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई आवागमनमा निकै सहज हुनेछ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्