ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुखुरा नबिकेपछि किसान मारमा

२०७८ जेठ, २१  
गण्डकी प्रदेश
NA

बागलुङ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनको फार्ममा रहेका ३०० ब्रोइलर कुखुरा ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । ४०–४५ दिनमै बेच्नुपथ्र्यो कुखुारा निषेधाज्ञाको प्रभावले नबिक्दा महँगो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ ।

‘खर्च बढेको बढ्यै छ, निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन्,’ उनले भने, ‘ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो ३२० बाट २३० रुपैयाँमा झरेको छ ।’

निषेधाज्ञाअघि ५०० रुपैयाँभन्दा बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० रुपैयाँमा आएको छ । ‘कुखुरापालनमा खर्च धेरै छ, यसपालि लागत पनि नउठ्ने भयो,’ पुनले भने । मासु धेरै खपत हुने होटल, रेष्टुराँ, होस्टेल लगायत अहिले बन्द छन् । घरायसी उपभोगका लागि मात्र मासुको विक्री भइरहेको छ । कतिपय व्यवसायी मासु पसल पनि बन्द गरेर बसेका छन् ।

कुखुरापालक किसानले गरेको बीमा ५० दिनसम्मका कुखुरामा मात्र लागू हुन्छ । ५० दिन कटेका कुखुरा कुनै रोगव्याधिले मरे पनि किसानले बीमा रकम पाउँदैनन् । पोल्ट्री व्यवसायी संघ बागलुङका अध्यक्ष ध्रुव श्रेष्ठले यही बेला रानीखेत रोगले पनि कुखुरापालक किसानलाई सताएको बताए । ‘तीन÷चारजना किसानको त खोर नै रित्तियो, एकातिर निषेधाज्ञाले कुखुरा नै उठेको छैन, अर्कातिर रोगले किसानलाई अप्ठेरो परेको छ,’ उनले भने । विक्रीका लागि तयार भएका कुखुरा ठूलो मात्रामा किसानको फार्ममै रोकिएर बसेको उनले बताए । प्रतिगोटा १३५ रुपैयाँमा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो २०० मा बेच्नुपर्ने बाध्यता आइलागेको श्रेष्ठको भनाइ छ । दाना पनि महँगिएपछि किसानलाई थप मर्का परेको छ । ३ हजार ४०० रुपैयाँ पर्ने दानाको मूल्य बढेर अहिले ३ हजार ६०० भन्दा बढी पुगेको छ ।

संघका अनुसार सहज समयमा सातामा २० हजारजति कुखुराका चल्ला बागलुङ भित्रन्छन् । अहिले चल्ला आयात भएका छैनन् । जिल्लामा झण्डै २०० व्यावसायिक कुखुरापालक किसान छन् । पछिल्लो समय ब्रोइलरसँगै स्थानीय जातका कुखुराको पनि व्यावसायिक पालन बढ्दो छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्