ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड १९ महामारीमा राजनीतिक खिचातानी

२०७८ जेठ, २१  
पाठक विचार
NA

नेपालको राजनीतिक कलह ‘दैव नै जानून्’ भनिन्छ । संघीय नेपालको अवस्था ‘हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फोस्रो पात’ भनेजस्तै भइरहेको छ । अहिले नेपालको राजनीतिक अवस्था पनि यस्तै छ । के हाम्रो मुलुक सानो भयो भन्दैमा मन र विचार पनि सानै हुनुपर्छ भन्ने छ र ? तर, देशको जिम्मेवारी सम्हालेका राजनीतिन नेताहरूको सोच सानो कुरामा अड्किएको पाइन्छ । जुँगाको लडाइँमा उनीहरू अलमलिँदा पूरै देशले दुःख पाइरहेको छ । सधैं लडाइँ झगडा र खुट्टा तान्ने संस्कारले यहाँका व्यक्तिहरू वाक्क ब्याक्क भइसकेका छन् । यहाँको राजनीतिक अवस्था कहिल्यै सुध्रेन । खासगरी बहुदलको आगमनपश्चात् नेपालको राजनीति सँग्लो हुन नै पाएको छैन ।

अहिले कोभिड–१९ को समस्याले सर्वसाधारण आकुलव्याकुल भएका छन् । दिनदिनै सुनिने मृत्युका खबरले नागरिक त्रासमा दिन बिताइराखेका छन् । त्यसमाथि निषेधाज्ञा छ । नागरिकले काम गर्न पाएका छैनन् । दैनिक ज्यालामजदूरी गर्नेहरूको दुःख कसले बुभ्mने ? सधैंको राजनीतिक खिचलोले गर्दा सरकारले काम गर्न सकेको छैन । सानातिना कुरामा विवाद गर्ने राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा उत्पन्न भएको छ । राजनीतिक अवस्थाले यहाँका व्यक्तिहरूको दिमागले काम गर्न छोडिसकेको जस्तो देखिन्छ ।

लोकतन्त्रका लागि लामो संघर्ष गरेका नेताहरू अहिले सत्ताका लागि छिनाझपटी गरिरहेको देख्दा अचम्म लाग्छ । पञ्चायत कालमा कैयौं धम्की र प्रलोभन पचाएका नेताहरू अहिले पूरै बिग्रइसकेका छन् । ठूलो आदर्श र सपनाका लागि उनीहरू लडेका थिए तर अहिले जनताले पाएका दुःख र उनीहरूको निराशामा नेताहरूलाई कुनै मतलब छैन । राजनीतिक किचलोमा नै दशकौं बितिसकेको छ । स्थायित्व होला र विकास होला भन्ने जनताको सपना खेर गइरहेको छ । हर समय यही प्रक्रिया रहिरहने हो भने हामीले के सोच्ने ? आफूआफू नमिल्ने अनि अरूलाई दोष लगाउने प्रवृत्ति यहाँका नेताहरूमा छ । त्यसैले शक्ति राष्ट्रहरूले यहाँ नेताहरूलाई वास्ता पनि गर्दैनन्, पत्याउँदा पनि पत्याउँदैनन् । यी झगडालु, स्वार्थी र लालची बनेको सोच आम मानिसमा पाइन्छ । कार्यकर्ता पनि त्यस्तै छन् । नेताका हरेक कुरामा सही थाप्ने र नराम्रोलाई पनि राम्रो भन्ने प्रवृत्ति छ । नेता र कार्यकर्ता दुवैका यस्तो सोच र प्रवृत्तिमा परिवर्तन आउन जरुरी छ ।

हामी जनतालाई नेताहरूको छिनछिनमा कुरा फेरिरहने दल फेरिरहने तथा अर्कालाई गाली गरिरहने बानी मन परेको छैन । वास्तवमा भन्ने हो भने हाम्रो देशमा अशिक्षित र सोझा समाजमात्र होइन यहाँ राम्राराम्रा बुद्धिजीवीहरू पनि छन् । असल मानिस पनि थुप्रै छन् । केही नेता पनि असल छन् तर तिनले काम गर्ने मौका पाएका छैनन् । पाए पनि बूढा नेताहरूको खटनपटनमा चल्नु परेको छ जसले गर्दा उनीहरूले पनि राम्ररी काम गर्न सकेका छैनन् ।

यो देशमा थरीथरीका बुद्धिजीवीहरू छन् । कोही खण्डन र दोषारोपन मात्र गर्ने खालका छन् । आफू केही योगदान पनि नगर्ने अनि अर्काको कुरा काट्ने बुद्धिजीवी यस देशका लागि समस्या नै हुन् । जबसम्म यस्ता बुद्धिजीवीहरू सही काम र कुरो गर्दैनन् तबसम्म खराब नेताहरू हावी भइरहनेछन् ।

नेपालको राजनीति पनि बुझ्नै नसकिने खालको छ । सानो देशमा धेरै नेताले गर्दा जनताले दुःख भोग्नु परिराखेको छ । सत्ता र कुर्सी पायो भने जे पनि गर्न तयार हुन्छन् यहाँका देश चलाउनेहरू ।

यसमा हामी जनताको पनि दोष छ । कोहि मासु भातका लागि चम्चा हुन रुचाउनेहरू छन् । कोही आफ्नो परिवारबाहेक अरू केही मतलब राख्दैनन् । कोही भने पैसा आयो भने हरेक गलत काम गर्न पनि पछि हट्दैनन् । यस्ता व्यक्ति धेरै भएकाले राम्रा मानिसहरूले दुःख पाइराखेका छन् ।

कोभिड १९ जस्ता रोगले संसार त्रस्त छ । हाम्रो देशमा पनि दुःखद भयावह अवस्था आइरहेको छ । तर, मानिसहरू नडराउने, परिवर्तन हुन नचाहने संस्कारका कारण कोरोना संक्रमण बढी फैलिएको हो । यस्तो बेलामा सरकार भनौं नेता भनौं, देश चलाउने भनौं, सरकारी स्वास्थ्य कार्यालय तथा चिकित्सक भनौं यिनीहरूको काम जनताको स्वास्थ्यको रक्षा गर्ने हो । यिनीहरूले कामै नगरेका होइनन् तर प्रभावकारी काम छैन । जिम्मेवारी पूरा गर्नुभन्दा पनि काम गरी टोपल्ने प्रवृत्ति छ । अर्थात् देखावटी गर्ने चलन छ ।

देशमा कोभिड–१९ को महामारीमा सुधार नहुनुका केही कारण छन् । शुरूमा कोभिड –१९ को महामरीका लागि कसरी हामी बच्ने भनेर सरकारले पहिला नै बुद्धि पुर्‍याउन सकेन । यसबारे योजना बनाउन पनि सकेन । चिकित्सकहरूले पनि सरकारलाई सुझाव दिन सकेनन् । सरकारले शुरूदेखि भारततर्पmको सीमा कडा गरेको भए, मास्क नलगाउने व्यक्तिलाई कडा गरेको भए संक्रमण यति भयावह हुँदैनथ्यो । अन्त्यमा हामी यति मात्र भन्न सक्छाैं कि सरकारले भारतबाट आउने व्यक्तिहरूलाई बोर्डरमा कडी कडाउ गर्नुपर्छ । मास्क नलगाउनेलाई मास्क लगाउन बाध्य नै पार्नुपर्छ । केही व्यक्तिले भ्याक्सिन लिइसकेका छन् । धेरैले भ्याक्सिन लिन पाइराखेका छैन् । यस्तो बेला सरकारको काम भनेकै सकेसम्म धेरैलाई भ्याक्सिन लगाउने हो । तर, भ्याक्सिन ल्याउन सरकारको पहल पुगेको छैन । यसका लागि सरकारले जसरी भए पनि रकमहरूको तहबह मिलाउनुपर्छ । त्यसैले सरकार र राजनीतिक नेताहरू कुकुर बिरालोको लडाइँ छोडी प्रतिपक्षसहित सबै पक्ष र निकाय गम्ीभर हुनुपर्छ । यसबाहेक देशमा रहेका सबै बुद्धिजीवी पनि यसप्रति अग्रसर हुनुपर्छ । अन्यथा हामीले यति मात्र भन्न सक्छौं कि यो देशमा अब ब्याट्री सिद्धिएका बुद्धिजीवी मात्र छन्, जुन दुःखलाग्दो कुरा हो । अर्को एउटा कुरा डबल मास्क लगाउन, व्यायाम गर्न खुराक तथा आत्मबल बढाउन सिकाउनुपर्छ । यसले पनि कोभिडको सम्भावना कम हुन सक्छ ।

रमेशकेशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्