ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यसरी गर्नुस् कार्नेसन फूल खेती

२०७८ जेठ, २१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । दक्षिण युरोपको स्थानीय फूलको रूपमा चिनिने कार्नेसन पछिल्लो समय नेपालमा पनि निकै प्रचलित हुँदै गएको छ । नेपालमा गुलाबपछिको महत्वपूर्ण कटफ्लाबर फूलको रूपमा यसलाई मानिन्छ । नरम डाँठ भएको यो फूलको बिरुवाको उचाइ ८० सेन्टिमिटर र पात १५ सेमि लामो खैरो हरियो रंगको हुने गर्दछ ।

यो फूलको प्राकृतिक रंग गुलाबी र बैजनी भए पनि पछिल्लो समय विकासकर्ताहरूले पहेंलो, सेतो, हरियोलगायत रंगमा समेत विकास गरेको देख्न सकिन्छ । कार्नेसन फूलको खती गर्ने केही तरिका यहाँ उल्लेख गरिएको छ ।

यो फूल रोप्ने सिजन असार, साउन, कात्तिक, मंसिर, माघ र फागुन महिना हो । सबै प्रकारको हावापानीमा यसको खेती गर्न सकिन्छ ।

प्रायः प्लास्टिकको टनेलभित्र र अत्यधिक गर्मी हुने ठाउँमा खुला रूपमा पनि यसको खेती गर्न सकिने फूलको उत्पादन २ वर्षसम्म लिन सकिन्छ । कार्नेसन खेतीका लागि प्लास्टिकको टनेल महत्वपूर्ण मानिन्छ । रोग किराको क्षतिबाट जोगाउन यस्तो टनेल निर्माण गर्नुपर्ने हुन्छ । टनेल निर्माण गर्दा प्रयोग गरिने प्लास्टिक २ सय माइक्रोन र टनेलको मोहडा उत्तर दक्षिणको हुनु जरुरी छ । टनेलको बीच भागको उचाइ ६ दशमलव ५ मिटर र छेउको उचाइ ४ दशमलव ५ मिटर राख्नुपर्दछ ।

कार्नेसन फूल खेती प्रायः सबै प्रकारको माटोमा गर्न सकिन्छ । यद्यपि पानीको निकास र भौतिक गुणको स्थिति भने राम्रो हुनुपर्ने नर्सरी विज्ञहरू बताउँछन् । कृषि प्राविधिक विश्वमणि पोख्रेलका अनुसार कार्नेसनको जरा २५ देखि ३० सेन्टिमिटर तलसम्म जाने भएकाले ४० सेमिसम्म राम्रो माटोको तह हुनुपर्छ भने ५० सेमि तल पानी खेल्नुहुँदैन । यो खेतीका लागि सबैभन्दा राम्रो माटो बलौटे दोमटलाई मानिन्छ । धेरै चिम्टाइलो वा पाँगो माटोमा खेती गर्दा प्रशस्त मात्रामा जैविक मल राख्नु जरुरी हुन्छ ।

बिरुवाको राम्रो वृत्ति विकास तथा उत्पादन वृद्धिका लागि माटोको तयारीमा विशेष ध्यान दिनुपर्ने पोख्ररेल सुझाउँछन् । अन्य बालीमा झैं बिरुवा रोपिसकेपछि माटो चलाउन र सार्न नमिल्ने हुनाले सुरुमै माटोको तयारी राम्रोसँग गर्नुपर्दछ । कार्नेसन रोप्ने जमिन यदि चिम्टाइलो छ भने ३० प्रतिशत कम्पोस्ट वा जैविक मल, १५ प्रतिशत बालुवा र ४ किलोग्राम प्रतिवर्गमिटरका हिसाबले धानको भुस मिसाएर तयारी गर्दा राम्रो हुने उनी बताउँछन् ।

माटो तयार गरेपछि ड्याङको तयारी गर्दा ८० सेमिदेखि १ मिटरसम्मको चौडाइ, ३० सेमि उचाइ, ५० सेमि बाटोको चौडाइ राखेर माटोलाई मसिनो पार्नुपर्दछ ।

नेपालमा मूल बिउबाट र कटिङबाट गरी दुई प्रकारले कार्नेसनका बिरुवा उत्पादन हुन्छन् । मूल बिउबाट उत्पादित बिरुवा विशेषगरी विदेशबाट आयात गरिन्छ भने कटिङबाट उत्पादन हुने बिरुवा नेपालमै उत्पादन गर्छ । रोप्ने बेला बिरुवाबीचको दूरी १५ सेमि र लाइनदेखि लाइनको दूरी पनि १५ सेमि हुनुपर्दछ । बिरुवा रोपिसकेपछि करिब ६ लिटर पानी प्रतिवर्गमिटरका हिसाबले सिँचाइ गर्नुपर्दछ ।

कार्नेसन मसिनो र डन्डी भएको १ सय सेमिसम्म अग्लो भई फूल्ने बिरुवा भएकाले यसलाई लड्न नदिन जालीको सहयोग आवश्यक पर्दछ । चारैतर्फबाट बलियो काठको किला गाडेर जालीलाई ड्याङ वरिपरि सीधा हुने गरी राख्नुपर्दछ । बिरुवाको अवस्था हेरेर ३/४ तहसम्मको जाली राख्न सकिन्छ । राम्रो उत्पादन लिन मुना र कोपिला टुसा भाँच्नुपर्दछ । बिरुवा रोपेको २५ देखि ३० दिनमा पहिलो पटक र ६० देखि ७० दिनभित्रमा दोस्रो पटक मुना हटाउनुपर्दछ । मुख्य फूललाई हुर्कन नदिने भएकाले सहायक मुनालाई हटाउनुपर्ने हुन्छ ।

बिरुवा रोपेको १ सय २० देखि १ सय ५० दिनभित्र फूल फुल्न सुरु हुन्छ । कार्नेसन फूल पूर्ण रूपमा नफुलेको अवस्थामा मुना निस्केको स्थानबाट हेर्दा ३/४ आँखा माथिबाट कैंचीको सहायताले काटेर निकाल्नुपर्दछ । तापक्रम कम भएपछि बिहान वा बेलुकाको समय फूलको कटाइ गर्ने र एक बन्डलमा २० वटाको दरले राख्नुपर्दछ । यदि तुरुन्तै बजार पुर्‍याउन सम्भव नभए ५ सेमि गहिराइको भाँडोको सफा पानीमा डुबाएर राख्नुपर्दछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्