ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धितोपत्र बोर्डद्वारा १ अर्ब बराबरको राफसाफ कोष कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन

२०७८ जेठ, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रू. १ अर्ब बराबरको राफसाफ कोष कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ । 

बोर्डले आर्थिक वर्ष २०७९/ ८० सम्म उक्त रकम बराबरको कार्यान्वयन योग्य कोष स्थापना र सञ्चालनका लागि निर्देशन दिएको हो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई कार्यान्वयनमा आउनुपर्नेमा त्यसो नभएको भन्दै कार्यान्वयनका लागि बोर्डले नेप्सेलाई ताकेता गरेको हो । 

धितोपत्र दोस्रो बजारमा कारोबार रकम दिनानुदिन वृद्धि भइरहेको अवस्थामा राफसाफ कोष कार्यान्वयनमा आउन नसक्दा समयमै लगानीकर्तालाई धितोपत्र विक्री वापतको रकम भुक्तानी हुन नसकेको बोर्डले गुनासो गरेको छ ।

कारोबार रकम बढ्दै जादा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनिकरण गर्न आवश्यक भएकाले धितोपत्र कारोबारलाई समयमै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रहेको बोर्डको बुझाई छ ।

राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रकम जम्मा हुने व्यवस्था अबिलम्व गर्नुपर्ने भएको भन्दै बोर्डले चालू आर्थिक वर्ष ०७७/ ७८ भित्र रू. ५० करोड, आर्थिक वर्ष ०७८/ ७९ भित्र थप रू. ३० करोड र आर्थिक वर्ष ०७९/ ८० मित्र थप रू. २० करोड गरी कुल रू. १ अर्ब रकमको कार्यान्वयन योग्य कोष स्थापना र सञ्चालनका लागि जोड दिएको हो ।

यो कोषमा नेपाल स्टक एक्सचेञ्ज (निधोपत्र बजार) ले कोषको ५० प्रतिशत, सिडिएस एण्ड क्लियरिङ लिमिटेड (राफसाफ सेवा प्रदान गर्ने संस्था ) ले कोषको ३० प्रतिशत र ब्रोकर व्यवसायी ( राफसाफ सदस्य धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम कोषमा योगदान गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । यस व्यवस्था अनुसार नेप्सेले रू. ५० करोड, सिडिएस एण्ड क्लियरिङ् लिमिटेडले रू. ३० करोड र ब्रोकरहरुले रू. २० करोड कोषका लागि योगदान गर्नुपर्नेछ ।

उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सृदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महीनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालू महीनाको १५ गतेभित्र थप गर्न लगाई गतिशिल योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पनि बोर्डले गरेको छ ।

थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महीनाको गतिशिल योगदानभन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्न बोर्डले भनेको छ ।

राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तरराष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको सञ्चालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापको रुपमा कार्य गर्नुपर्नेछ ।

राफसाफ कोष कार्यान्वयनमा आएपश्चात धितोपत्र कारोबारको रकम समयमै राफसाफ तथा फछ्यौट हुने हुँदा धितोपत्र कारोबार थप गतिशिल हुन सहयोग पुग्ने विश्वास बोर्डको छ । हाल धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिनमा झारिएको छ ।

माघ ११ गतेदेखिनै लागू भएको उक्त राफसाफ चक्र बमोजिम लगानीकर्ताले कारोबार गरेको दिनपछिको दुई कार्यदिन भित्र राफसाफ भइसक्नुपर्ने व्यवस्था छ । अहिले कोरोनाका कारण जारी लकडाउनले पनि राफसाफमा थप समस्या भइरहेको गुनासो ब्रोकरहरुले गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्