ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तुलसीपुरमा कागती खेती विस्तार हुँदै 

२०७८ जेठ, २१  
प्रदेश ०५
Image Not Found

जेठ २१, तुलसीपुर । कुनै समय बाँझो जग्गा थियो तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि ।

तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

घोराहीमा वार्षिक रू. तीन हजार कठ्ठा र तुलसीपुरमा रू. दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन् । धेरै युवा विदेश पलायन भइरहेका बेला उनीहरुले नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन् ।

उनीहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उनीहरूले वार्षिक रू. १५/२० लाखको हाराहारीमा आम्दानी गरेका छन् । ‘डेढ वर्षदेखि हामीले आम्दानी लिन शुरु गरेका हौँ’, वलीले भने ‘वार्षिक रू. १५/२० लाख आम्दानी हुने गरेको छ ।’ कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उनले बताए । उनका अनुसार शुरुमा आफूहरूले रू. ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करीब रू. एक करोड लगानी भइसकेको छ ।

अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए । ‘कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पुर्‍याउन भ्याइनभ्याइ छ’, उनले भने, ‘बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।’

सरकारले दाङमा कागती खेती विस्तार गर्ने भएपछि आफूहरू झनै खुशी भएको उनले बताए । यसले व्यावसायिकरूपमा कागती खेती गरिरहेका किसानलाई थप प्रोत्साहन गरेको उनको भनाइ छ । अहिले दाङका दुई स्थानमा आफूहरूले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर दैशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए । 

अहिले हामी दुई छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘त्यसका लागि १०८ किसान थप गर्ने हाम्रो योजना छ ।’ उनका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्‍याउने योजना छ ।

अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनको भनाइ छ । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उनको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रू. २५० मा विक्री गर्ने गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्