ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाभ्याक खोपले नेपालमा पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने        

२०७८ जेठ, २१  
समाचार
Image Not Found

जेठ २१, काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।

सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले शुक्रवार उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए।     
     
विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’ का अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई यसैसाता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।     
     
यससँगै चीनमा उत्पादन भएका दुई ओटा खोपलाई डब्लूएचओले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले यसअघि नै सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।     
     
सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।     
     
उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लूएचओले बताएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ ।

चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।     
     
तत्काल १० लाख डोज ल्याउने     
     
 विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको छ । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्रयाउने छ ।     
     
विभागबाट प्रयोग अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले बताए। बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज २ हजार १०० रुपैयाँ तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ ।     
     
२० दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको उनले जानकारी दिए। 
     
नेपाल ल्याइने खोपको समूचित वितरणका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौंमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्