ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको शेयर बजार : करीब ६८ अर्बको कारोबार, कुल बजारपूँजीकरण ४० खर्ब नजिक 

२०७८ जेठ, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २२, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक भएपछिको पहिलो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । बजारका विषयमा उल्लेखित धेरै कार्यक्रम नभएपनि वितरणमुखी बजेटलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको साताको कारोबारले प्रष्ट पारेको हो ।

हुनत यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई दुई प्रकारमा विभाजन गरेको छ । यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा छुट्टाछुट्टै पूँजीगत लाभकरको व्यवस्था गरी वर्गिकरण गरेको हो । 

यसअघि व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताहरुले अब एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरेमा ७ दशमलव ५ प्रतिशत र सो अवधिभन्दा बढीमा कारोबार गरेमा ५ प्रतिशत लाभकर तिर्नुपर्ने भएको हो । अल्कालिक लगानीकर्ताका लागि २ दशमलव ५ प्रतिशत विन्दु लाभकर यो वर्ष सरकारले बढाएको हो । 

लाभकर वृद्धिको विषयलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमै हेरेको पाइयो । पछिल्लो समय निरन्तर गति लिएको बजारबाट फाइदा कमाइरहेका लगानीकर्ताहरुले दीर्घकालिन लगानीलाई जोड दिने खालको लाभकरको व्यवस्थाले बजारलाई सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन् । कतिपय लगानीकर्ताले भने व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत लाभकर नै कायम गरी दीर्घकालिन लगानीको लाभकरमा छूटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

जेठ १५ गतेको बजेट बक्तव्य पश्चातको पहिलो कारोबार दिन शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार भएको थियो । यो साता नेप्से परिसूचकले उच्च विन्दु कायम गर्दा कारोबार रकमको उच्चता भने साताको पहिलो दिन रहेको थियो । उक्त दिन रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो ।

गत साताको भन्दा यो साता कारोबार रकम रू. १७ अर्ब २ करोड २० लाख ३४ हजार बढी भएको छ । गत साता चार कारोबार दिनमा रू. ५० अर्ब ७७ करोड २५ लाख ७ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो ।

शेयर कारोबार कित्ता पनि यो साता बढेको छ । गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड ६ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता ३ करोड ३० लाख २९ हजार २५७ कित्ता बढी शेयर कारोबार भएको हो । 

यो साता पाँच कारोबार दिनमा तीन दिन नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको कारोबार रकमको हिस्सा ओगटेको थियो । पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ । 

यो साता कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३५ ले वृद्धि भएको हो ।

यो साता पनि नेपालको शेयरबजारले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८१५ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो । सातामा नेप्से परिसूचक ४१ दशमलव ३७ अंक माथि उक्लिएको हो । 

साताको पहिलो दिन १२ दशमलव ५४ अंकले बढेको बजार दोस्रो दिन ४५ दशमलव २५ र तेस्रो दिन ११ दशमलव ६८ अंकले घटेको थियो । दुई दिनको निरन्तर करेक्सन पछि चौंथो दिन ५५ दशमलव ७६ अंक र पाँचौ दिन २९ दशमलव ६४ अंकले नेप्से परिसूचक बढेको हो ।

यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा ९ दशमलव ४१ प्रतिशत माथी पुगेको छ । गत साता ५०३ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१३ दशमलव ११ विन्दुमा पुगेको हो ।

बजारले उच्च विन्दु कायम गर्दा कुल बजार पूँजीकरण रू. ३९ खर्ब ६४ अर्ब २१ करोड २० लाख १५ हजार पुगेको हो । कुल बजार पूँजीकरण गत साताभन्दा यो साता रू. ५७ अर्ब ४४ करोड ४० लाख ११ हजारले यो साता वृद्धि भएको हो । 

गत साता यो रकम रू. ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार थियो । यो साता वित्त समूहको परिसूचक सबैभन्दा बढी ११ दशमलव ९८ प्रतिशतलले वृद्धि भएको छ । गत साता १ हजार ७३४ दशमलव ७४ विन्दुमा रहेको वित्त समूहको परिसूचक यो साता १ हजार ९४२ दशमलव ५१ विन्दुमा पुगेको हो । 

यो साताको वित्त समूहको परिसूचकले बैंकिङ समूहको परिसूचकलाई पनि पछि पारेको छ । बैंकिङ समूहको परिसूचक १ हजार ९०७ दशमलव ४६ विन्दुमा रहेको छ । गत साता १ हजार ८५७ दशमलव शून्य ५ विन्दुमा रहेको बैंकिङ समूह यो साता ३० दशमलव ४७ अंक अर्थात १ दशमलव ६२ प्रतिशत बढेको हो ।  

१ हजार १०० विन्दुदेखि बढेको बजार हालसम्म आइपुग्दा १ हजार ७५६ विन्दुभन्दा माथी पुगिसकेको छ । यो क्रममा थोरै पूँजी भएका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएपनि वाणिज्य बैंकहरुको शेयरमूल्यमा भने खासै वृद्धि भएको छैन । यसै सातादेखि बैंकिङ समूहको शेयरमूल्य पनि विस्तारै उकालो लाग्न थालेको देखिन्छ । 

यो साता गत साताभन्दा व्यापारिक समूहको परिसूचक ४ दशमलव ७६ प्रतिशत, जलविद्युतको ४ दशमलव ४७ प्रतिशत, निर्जीवनको शून्य दशमलव ८३ प्रतिशत, जीवनको शून्य दशमलव ६९ प्रतिशत र लगानी समूहको शून्य दशमलव ८२ प्रतिशत परिसूचक घटेको छ । यो साता व्यापारिक र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । 

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :
                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :

                                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्