ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेनी–जोमसोम सडक कालोपत्र शुरू

२०७८ जेठ, २३  
गण्डकी प्रदेश
Image Not Found

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरू भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्रको काम थालिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्र शुरू गरिएको छ ।

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आशिष मानन्धरले बताए । ‘बेनी–घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा अस्फाल्ट प्रविधिको कालोपत्र हुँदै छ,’ उनले भने, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’
    
१६ दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरू गरेको बताए । ‘मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको ६ किलोमिटर सडक जेठभित्र कालोपत्र सक्ने तयारी गरेका छौं,’ उनले भने, ‘सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।’ कोरोना महामारीको जोखिम र निषेधाज्ञाकै बीच स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताए ।     

२०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब  ६ अर्ब लागतको उक्त सडक आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले जानकारी दिए ।    
 
२०६४ सालमा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची र जीर्ण थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग २ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो ।   २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महŒवपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्