ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेवा निर्यातमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्र

सम्भाव्यता र आवश्यक नीति

२०७८ जेठ, २४  
लेख | दृष्टिकोण
Image Not Found

सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिकमा अल्टिच्युडजन्य समस्याहरू देखिएपछि विशेष गरी ट्राइथलन वर्गमा पर्ने सहनजन्य खेलहरू (८०० मिटर माथिको धावन, पौडी र साइक्लिङ)मा हाईअल्टिच्युड तालीमको महसूस भएको हो । यसैलाई आधार मानी विश्वभरि गैरसैनिक प्रयोजनका पनि हाईअल्टिच्युड तालीमको प्रचलन शुरू भएको हो । यसैका आधारमा हाल विश्वका हरेकजसो देशहरूमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरूको स्थापना भई सञ्चालनमा आएका छन् ।

उच्च लेकाली र हिमालयको दृश्यावलोकन र हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रको अन्तरसम्बन्ध पनि स्थापित गर्न सकिन्छ । अतिउच्च भूभागयुक्त क्षेत्रमा गरिने अभ्यास र त्यसको मानव शरीरमा ल्याउने परिवर्तनका बारेमा हुने अनुसन्धानको सम्भावना पनि उत्तिकै रहेकोे छ ।

दक्षिण एशियामा पनि हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रलाई सम्बद्ध सरकारहरूले प्राथमिकता दिँदै आएका छन् । भारतले २४९० मीटरको उचाइमा हिमाञ्चल प्रदेशको शिलारूमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्र स्थापित गरी सञ्चालनमा ल्याएको थियो । यसैगरी भारतले हालै २२४० मीटरको उचाइमा तमिलनाडुको ऊटीमा पनि हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्र सञ्चालनमा ल्याएको छ । उता पाकिस्तानले आर्मी हाईअल्टिच्युड स्कूल, रात्तु, गिलगिटमा करीब २८०० मीटरको उचाइमा आर्मी हाईअल्टिच्युड तालीम केन्द्र सञ्चालन गर्दै आएको छ । रिसर्चगेट डट नेटका अनुसार श्रीलंकाले १८६८ मीटरको उचाइमा अवस्थित नुवारा इलियामा हाईअल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रको विकास गर्दै छ । भुटानको राजधानी थिम्पूमा सन् २०१८ मा भारतीय खेलाडीहरूले हाईअल्टिच्युड तालीम लिएबाट भुटान पनि यस प्रकारको तालीमको आकर्षणका रूपमा उदाएको देखिन्छ ।

नेपालमा सैनिक प्रयोजनका हाईअल्टिच्युड एण्ड माउन्टवारफेर स्कूल १९७५ बाट शुरू भए तापनि गैरसनिक प्रयोजनको हाईअल्टिच्युड स्पोर्ट्स तालीमको श्रेय मनाङमा अवस्थित तालीम केन्द्रलाई जान्छ । २०६५ सालमा मनाङको तिमाङमा करीब २६३५ मीटरको उचाइमा अवस्थित हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रबाट नेपालमा यस विधामा संगठित प्रयास शुरू भएको देखिन्छ । नेपाल तेक्वान्दो संघको तत्वावधानमा दोलखाको शैलुङ क्षेत्रमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्र स्थापना गर्ने प्रयासले क्षेत्रगत रूपमा पनि यस क्षेत्रमा नेपालमा केही पहल शुरू भएको देखिन्छ ।

नेपाल सरकारले पनि आर्थिक वर्ष २०७८/७९को बजेटमा सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाईअल्टिच्युड स्पोट्र्स सेन्टरहरू निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

यसपटकको बजेटमा हाई अल्टिच्युड तालीम केन्द्रका रूपमा सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्ला गरी पाँचओटा केन्द्रहरूको विकास गर्ने सोच आउनुबाट हाई अल्टिच्युड स्पोर्ट्स तालीम नेपाल सरकारको प्राथमिकतामा परेकोे स्पष्ट हुन्छ ।

नेपालको सन्दर्भमा हाई अल्टिच्युड तालीम केन्द्रको सम्भावनाका पछाडि चारओटा कारणहरू स्पष्ट रूपमा देखिन्छ । पहिलो, नेपालको भौगोलिक अवस्थिति, भूबनोट, उचाइ तथा विश्वका उच्चत्तम शिखरको अवस्थितिका कारण नेपालमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रको सम्भावना उच्च रहेको छ । दोस्रो, उच्च लेकाली र हिमालयको दृश्यावलोकन र हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रको अन्तरसम्बन्ध पनि स्थापित गर्न सकिने अर्को सम्भावना छ । तेस्रो, नेपाल जस्तो अतिउच्च भूभागयुक्त क्षेत्रमा गरिने अभ्यास र त्यसको मानव शरीरमा ल्याउने परिवर्तनका बारेमा हुने अनुसन्धानको सम्भावना पनि उत्तिकै उज्ज्वल रहेकोे छ । चौथो, हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरू विभिन्न खालका रोगहरूको उपचार केन्द्रका रूपमा पनि समानान्तर रूपमा विकास गर्न सकिने देखिन्छ । यसरी खेल, मनोरञ्जन, अनुसन्धान तथा चिकित्सा चारैओटा क्षेत्रको केन्द्रका रूपमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरूको उपयोग गर्न सकिने सम्भावना प्रबल रहेको छ ।

यी चारओटा पक्षबाट लाभ लिने गरी हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरूको विकास गर्नु आवश्यक देखिन्छ । यसका लागि ती केन्द्रहरूमा विकसित मुलुकका स्थापित केन्द्रहरूसँग मेल खाने गरी हाई अल्टिच्युड स्पोर्ट्स तालीमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिनुपर्छ । दोस्रो, ती केन्द्रलाई आवश्यक पर्ने साधनस्रोतहरूको पनि सोहीअनुरूपको व्यवस्था गरिनुपर्छ । यस्ता केन्द्रको सञ्चालनमा व्यवस्थापकीय पक्ष, आर्थिक पक्ष, दिगोपनाका पक्ष र नवप्रवर्तनका पक्षहरूलाई पनि त्यत्तिकै ध्यान दिनु जरुरी देखिन्छ । हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरूलाई पर्यटन र अनुसन्धानसँग संयोजन हुने गरी समन्वयात्मक व्यवस्थाहरू हुन पनि त्यत्तिकै जरुरी छ ।

नेपालजस्ता मुलुकहरूका लागि हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरू सफ्टपावर कूटनीति (सौम्य कूटनीति)का रूपमा पनि विकास गर्न सकिनेतर्फ पनि विशेष ध्यान जान जरुरी छ । नेपालको तुलनात्मक तटस्थता स्तर राम्रो भएको हुँदा उचित कूटनीतिक पहल हुन सकेको खण्डमा विश्वका धेरै देशका लागि हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरू सबैभन्दा मान्य केन्द्रका रूपमा मान्यता पाउने सम्भावना रहेको छ ।

मूल पूर्वाधारका अतिरिक्त सहायक पूर्वाधारहरू पनि ती केन्द्रमा समानान्तर रूपमा विकास गरिनुपर्छ । खासगरी कार्यरत जनशक्ति, आगन्तुक सेवाग्राही र प्रशिक्षार्थीका लागि स्वाथ्योपचार, मनोरञ्जन केन्द्र, आपत्कालीन सवारी साधनको व्यवस्था तथा कार्यरत जनशक्तिका सन्तानहरूका लागि गुुणस्तरीय शिक्षाजस्ता विषयमा आवश्यक ध्यान दिनुपर्छ ।

सबैभन्दा महत्त्वपूर्ण भनेको यी केन्द्रको सञ्चालन लागत लाभको विश्लेषणमा आधारित रही गरिनुपर्छ । यसका लागि यी केन्द्रको व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिनुपर्छ । यदि यस्तो जनशक्ति नेपालमा उपलब्ध हुन नसक्ने अवस्थामा ग्लोबल भ्याकेन्सी आह्वान गरेर भए पनि यस्ता केन्द्रहरूलाई कुशल व्यवस्थापकहरूले युक्त बनाउनुपर्छ ।

मथिका व्यवस्थाहरू गर्न सकेको खण्डमा हाई अल्टिच्युड स्पोर्ट्स तालीम केन्द्रहरू विश्वभरका खेलाडी, पर्यटक, अनुसन्धानकर्ता र स्वास्थ्य लाभग्राहीहरूका लागि विशेष आकर्षकका केन्द्रहरू बन्ने निश्चित छ । यस अवस्थामा यी सेवाहरूको निर्यातमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सक्ने देखिन्छ । यसका लागि स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकार तीनै तहबाट समन्वयात्मक पहलको पनि त्यत्तिकै महत्त्व रहेको छ । यति गर्न सक्ने हो भने पूर्वी नेपालमा सोलुखुम्बु, मध्य नेपालमा सिन्धुपाल्चोक, पश्चिमी नेपालमा मनाङ र मुस्ताङ तथा सुदूर नेपालमा जुम्ला गरी देशमा हाई अल्टिच्युड स्पोर्ट्सका पाँचओटा केन्द्रहरू विकास हुने देखिन्छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्