ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीपी प्रतिष्ठानको सेवा सुधार गर्न नागरिक दबाब सञ्जालको एक हप्ते अल्टिमेटम

२०७८ जेठ, २४  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थालेपछि धरान नागरिक दबाब सञ्जालले एक हप्ते अल्टिमेटम सहित अवस्था सुधार गर्न ध्यानाकर्षण पत्र बुझाएको छ । 

प्रतिष्ठानमा बढ्दै गएको बेथितिको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धरानका नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पूर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा सञ्जाल गठन गरेको थियो । 

सञ्जालले सोमवार प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एकै मञ्चमा राखी प्रतिष्ठान सुधान गर्न ध्यानाकर्षण गराएको हो । धरान उपमहानगरपालिकाका मेयर सहित पुगेको सञ्जालका प्रतिनिधीहरुले प्रतिष्ठान प्रतिको जनताको गुनासो बढ्दै गएकाले एक हप्ता भित्र सेवा सुधार गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिष्ठानमा आर्थिक अनियमितता, पदाधिकारीहरु बिचको द्वन्द, गुणस्तरहिन मेशिन, अव्यवस्थित कोभिड अस्पताल लगायत अन्य विभागहरुलाई चुस्त बनाउन उनीहरुले माग गरेका छन् । 

उपचार सेवा सुविधा दिनुपर्ने संस्था आफैं भ्रष्टाचार, अनियमिता र अर्बौको बेरुजुको शिकार रहेको र भ्रष्टाचार, कमिशन, दलाली र विचौलियाको दबदबाले संस्था रुग्ण बन्दै गएको सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माको भनाइ छ । 

दबाब सञ्जालले तत्कालै सुधारका लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न माग गरेको छ । यस्तै, वर्तमान अवस्थाको चित्रण सहितको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सेवा सुचारु हुन नसकेका उपकरण, मेशिन मर्मतसम्भार गरी सुचारु हुनुपर्ने, अक्सिजन प्लान्ट सञ्चालन गर्दै सहज अक्सिजनको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् । 

शर्माले भने, सुधारका लागि एक हप्ताको अल्टिमेटम दिइएको छ, सुधार नभए अर्को चरणको कार्यक्रम ल्याइने छ, प्रतिष्ठान धरानबासीको हो भन्ने ध्येयले लागेका हौं ।’

छलफलमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले छल नगरी काम गर्दै आएको बताउँदै अबका दिनमा केही कमी कमजोर भए सुधार्दै जाने प्रतिबद्धता जनाए । उनले भने, ‘हामीहरुले केही छलछाम गरेका छैनौं, सुधारका लागि तपाइहरु लाग्नुभएको छ, ‘मानिस हो, केही कमी कमजोरी हुन्छ, त्यसलाई सुधार्दै जानेछौं ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्