ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घरेलु तथा साना उद्योग महासंघको वार्षिकोत्सव

लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनबाटै अर्थतन्त्र समृद्ध

२०७८ जेठ, २५  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवस अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा उनीहरूले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र समृद्घ बन्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति लिइएकाले लघु, साना तथा घरेलु उद्योगको विकास र प्रवद्र्घनमा सरकारले महासंघको सुझाव सम्बोधन गर्दै आएको जानकारी दिए । साना उद्योगको सन्दर्भमा सरकारले महासंघकै सुझावका आधारमा बजेट ल्याएको उनको भनाइ छ ।

विशेषगरी साना तथा घरेलु उद्योगका लागि बजारको लिंक जोडिदिन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

महासंघ अध्यक्ष श्याम गिरीले विश्वका अधिकांश मुलुकको अर्थतन्त्र स–साना उद्योगको प्रवद्र्घनबाट सुरु भएको पाइएको बताए । उनले भने, ‘एसियाकै दुई मुलुक ताइवान र जापानको मेरुदण्ड त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगलाई ठूला उद्योगसँग जोडिएपछि नै सफल भएका हुन् ।’

विश्व अर्थतन्त्रको ५ भागमध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले स–साना उद्योग एसएमईलाई नै प्राथमिकतामा राखेर अर्थतन्त्रको मेरुदण्ड बनाइरहेको गिरीको भनाइ छ ।
महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रूपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागू गरिए पनि लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको अध्यक्ष गिरीको भनाइ छ । उनले भने, ‘हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये चार सयभन्दा बढीले यो सुविधा प्राप्त गर्न सकेका छैनन् ।’

पुनर्कर्जा कतिपय प्रावधानले लघु घरेलु उद्योगीले नपाउने अवस्था सिर्जना भएकाले आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उनले उद्योग मन्त्रालयलाई आग्रह गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरु भएको महासंघ हाल ७७ वटै जिल्ला, ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए ।

अहिले पाँच लाख हाराहारी रहेका उद्योगीलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको बताउँदै उनले भने, ‘ती समितिमा साना उद्योगीका समस्या र समाधानका उपाय खोज्ने प्रयास गरेका छौं ।’

महासंघ केन्द्रीय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीको हकहित संरक्षण गर्न जन्मेको महासंघ अहिले हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताइन् ।

महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले कोरोना संक्रमणयता साना तथा घरेलु उद्यमी व्यवसायी थला परेकाले सरोकारवालाको ध्यान जानुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्