ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयरबजारको वृद्धि अस्वाभाविक त छैन ?

२०७८ जेठ, २५  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको शेयरबजार १ वर्ष अगाडि वैशाख ३० र ३१ २०७७ मा एक डेढ अर्व हाराहारीमा कारोबार हुन्थ्यो । पहिलोपटक ४ अर्बको कारोबार हुँदा आश्चर्य मानिएको देशमा अहिले निषेधाज्ञाका बेलामा १७ अर्ब माथिको कारोबार भइरहेको छ । गतवर्ष ऋणात्मक बनेको कुल गार्हस्थ्य उत्पादन र यस वर्ष पनि पहिलो ९ महीनामा भएको रू. ११ खर्बको आयात र १ खर्ब ८ अर्बजतिको निर्यात तथा ३९ खर्ब हाराहारीको गतवर्षको अर्थतन्त्रलाई हेर्दा रू. ४० खर्ब ३३ अर्ब ७९ करोडमाथि बजार पूँजीकरण स्वाभाविक देखिएको छैन । पोहोर साल १३०० हाराहारीमा रहेको नेप्से २९०६ मा पुग्नु स्वाभाविक नहुन सक्छ, खोजी गरौं ।

शेयरबजार बढ्नु राम्रो कुरा हो । अमेरिकामा कुल जनसंख्याको ५० प्रतिशत जनताले शेयरबजारमा कारोबार गर्छन्, लगानी गर्छन् । त्यो देशमा शेयर कहिले अति माथि र कहिले तल आउनु अस्वभाविक मानिँदैन किनकि त्यहाँ सबै कुरा पद्धतिमा चलेको छ । कतैबाट कसैले सट्टेबाजीको चरम दुरुपयोग त गरिरहेको छैन भन्ने आशंका हुनासाथ त्यहाँ बैंकदेखि अन्यका निक्षेपको, लगानीकर्ताको बचत वा रकम झिक्ने क्रमको तुरुन्त छानविन गर्न सक्ने आधार छ । सम्पत्ति शुद्धीकरणबाट पैसा लागनी भएको छ कि, केही व्यक्तिहरू मिलेर शेयर पुलिंग गरिरहेका छन् कि सबैतिरबाट हेर्ने संयन्त्र तयार छ । ४ प्रतिशत जनता शेयरबजारमा रहेको भारत र १ प्रतिशतको हाराहारी जनता बजारमा रहेको नेपालमा सबैतिरको आर्थिक संयन्त्र हेर्ने प्रणाली कमजोर भएको कारणले कतै कृत्रिम रूपमा बजार आकाशिइरहेको त छैन भन्ने आशंका छ ।

नेपालमा अहिले सबै कारोबार कम्प्युटराइज छ, रकम राखे झिकेको अभिलेख राष्ट्र बैंकले हेर्न सक्छ । अन्तर बैकिङ ऋण लेनदेन कति भएको छ, बैंकहरूले निक्षेप कति प्रतिशत अनिवार्य तरल (एसएलआर) राख्नुपर्छ, कति प्रतिशत नगद (सीआरआर) को रूपमा राख्नुपर्छ र त्यो प्रतिशतको कति दिनमा अनुगमन गरिन्छ भन्ने पारदर्शी छैन । हुन्डीबाट आएको रकम सीधै बजारमा लगानी गर्न मिल्ने अवस्था छ कि छैन भन्ने पनि स्पष्ट छैन । यदि छ भने अनुगमन गर्नेले एकआपसमा बीचमा खेलेर बजारमा लगानी गर्ने अवस्था बन्छ कि बन्दैन । यी सबै कुरा सरोकारवालाले चौकिदारी गरौं । एक्कासी बजार माथि गएर सर्वसाधारण सोझा लागानीकर्ताको रकम फसिसकेपछि दुर्घटना नहोस् ।

देश १ महीनादेखि निषेधाज्ञामा छ । उत्पादनमूलक उद्योग, पर्यटन, मनोरञ्जन सबैतिर दर्दनाक अवस्था छ, मानिस खान नपाएर झुपडिमा मुन्टो लुकाएर बस्न बाध्य छ । यो अवस्थामा बजारमा १७ अर्बमाथि कारोबार कसरी भएको छ खोजी गरौं । सबै कुरा सकारात्मक र वैधानिक होला तर चौकिदारी त सरोकारवाला निकायबाट गरिन आवश्यक छ ।

यो कुनै अनुसन्धान पत्र होइन, त्यसैले गडबडीका कुनै सूचक र संकेत प्रस्तुत गर्न सकिएको छैन र बढ्ने सही कारणहरू यी यी हुन् भन्ने आधार पनि प्रस्तुत गर्न सकिएको छैन । तर, १ वर्ष अघिसम्म बढीमा ४ अर्ब लगानी हुने बजारमा १७ अर्ब २७ करोड माथिको रकम कहाँबाट आएको छ ? यो प्रश्न गम्भीर छ । यसै गरी लगानी कम्पनी, म्युचुअल फन्ड जसले बजारमा लगानी गर्छन् उनीहरूको संख्या गतवर्ष भन्दा कति बढेको छ । त्यो कारण पनि शेयरमा लगानी बढेको हुन सक्छ । नागरिक लगानी कोषले स्टक डिलर खोलेको छ । यसले पनि व्यापक लगानी गरेको छ । तैपनि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले कहाँबाट लगानी यसरी बढिरहेको छ खोज्नु आवश्यक छ ।

कम्पनीहरूको वित्तीय विश्लेषणको दृष्टिकोणबाट पनि कुनै कम्पनीको नाफा गतवर्षको तुलनामा अस्वाभाविक रूपले बढेको देखिँदैन । देशको आर्थिक धरातल पनि कोभिड, अस्थिरता त्रास आदिको कारणले घटेको छ । तर, नेप्से अस्वाभाविक रूपले बढेको छ । सरकार र धितोपत्र बोर्ड, मन्त्रालय सबैले एकपटक बजार बढाइमा र कारोबारको उछालमा प्राकृतिकता कति छ छानविन गर्न शुरू गरे राम्रो हुन्छ । अहिले शेयर धितो राखेर ऋण लिएर फेरि लगानी गर्नेको संख्या पनि बढिरहेको छ । त्यो पनि शेयर अत्यधिक बढ्नुको कारण हुन सक्छ । यो छानविनबाट मात्र थाहा हुने विषय हो ।

सन् १९९२ मा भारतको दोस्रो बजारमा शेयर किनबेच गर्ने बम्बे स्टक एक्सचेन्ज शेयर अस्वाभाविक रूपले बढेको थियो । बढाइ यस्तो अस्वाभाविक थियो जहाँ एसीसी सिमेन्ट कम्पनीको शेयरमूल्य रू. २०० भारूबाट ९००० भारूसम्म पुगेको थियो । यस्तै अन्य केही कम्पनीको पनि मूल्य बढेकोमा सबैभन्दा बढी यो कम्पनीको ४४०० प्रतिशत बढेको देखिएकाले यसको नाम लिइएको हो । अप्रिल १९९१ मा जुन कम्पनीको शेयर मूल्य २०० थियो मे १९९२ मा ९००० पुग्यो । त्यसैगरी अपोलो टायर, रिलायन्स कम्पनी, भोडाफोन आदिको पनि शेयर बढेको हो तर ती कुनै कम्पनीको नाफा, ईपीएस आदि केही पनि बढेको थिएन । नेपालमा पनि यस्तै नहोला भन्न सकिँदैन । त्यसैले अनुगमनमा रहेका प्रत्येक निकायले जे जसरी शेयरबजार बढेको छ, यसमा कुनै आर्थिक गडबडी छैन भन्ने विश्वास लगानीकर्तालाई दिन सके राम्रो हुनेछ ।

देशको राजनीतिमा पनि त्यस्तो कुनै आर्थिक वृद्धिको सम्भावना छैन, उत्पादनमा पनि कुनै चमत्कार देखिएको छैन । तर, आश्चर्यजनक रूपमा बजार बढेको मात्र छ । १ वर्षमा नेप्सेमा डेढ सय गुणा वृद्धि हुन आवश्यक पर्ने आर्थिक वातावरण नदेखिएकाले यस सम्बन्धमा खोजबिन हुन आवश्यक देखिएको हो । धेरै लगानीकर्ता अनलाइन कारोबारमा छन्, मोबाइल बैंकिङबाट पनि लेनदेन भए होला । बैंकका शाखाहरू जताततै बन्द भएर एटीएम नभएकाहरूले ऋण खोजेर व्यवहार चलाउनु परेको छ । तर, दैनिक अर्बाैं कारोबार हुनेगरी पैसा कहाँबाट आयो भन्ने शंका उब्जनु अन्यथा पनि होइन । कसैकसैले त कालो धन शेयरबजारमा आएको समेत भन्न थालेका छन् । त्यसैले सबै सरोकारवाला निकाय यसमा सावधान रहन आवश्यक छ ।

लेखक कैशलाकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

प्रतिक्रिया [1]
User Image

Garib manche

[Jun 8, 2021 07:25am]

ma sarai dukhi ra irshaya gardachhu aruko paisa dekhera. adhyapak bhayekole hola saala sarkar le malai dhani banaucha ki? tara khojbin hunu parcha sabai chor ta hun ni, afu garib chu tara aru manche dhani kina hos, jail jawos malai khushi hunecha ब्यन्ग


प्रतिक्रिया दिनुहोस्