ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बारा–पर्साका उद्योगका कामदार र सञ्चालकलाई कोरोनाको खोप दिन माग

२०७८ जेठ, २५  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, वीरगञ्ज  । बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्योगीहरूका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १ लाख मात्रा खोप माग गरेको छ ।

संघले मंगलवार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखी यस्तो माग गरेको हो । बारा र पर्सामा साना, मझौला र ठूला गरी भण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र करीब १ लाख २५ जार कर्मचारी, कामदारका लागि खोप अत्यावश्यक रहेको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । 

अत्यावश्यकीय बस्तुको उत्पादन र आपूर्तिमा अग्रपंक्तिमा रहेर काम गर्ने उद्योगी र उद्योग प्रतिष्ठानका कामदार कर्मचारीलाई खोपमा प्राथमिकता नदिइएकोमा अध्यक्ष गुप्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।

पटक-पटक खोप अभियान सञ्चालन गर्दासमेत उद्योग व्यापार क्षेत्रलाई प्राथमिकतामा नराखिएकोमा संघले असन्तुष्टि व्यक्त गरेको छ । ‘कोरोनोको पहिलो र दोस्रो लहरको त्रासपूर्ण वातावरणमा नियमित रुपमा काम गरेका कर्मचारी, कामदार, उद्योगी, व्यवासयी हालसम्म खोपबाट बञ्चित छन्,’ गुप्ताले भने, ‘महामारीमा अत्यावश्यकीय उत्पादन आपूर्तिमा खटिने कामदार कर्मचारी र उद्योगीलाई बेवास्ता गरिनु दुःखद तथ्य हो ।’

सीमावर्ती क्षेत्रमा रहनु र सबैभन्दा ठूलो औद्योगिक र व्यापारिक केन्द्र हुनुका कारण बारा–पर्सा क्षेत्रमा कोरोनाको असर बढी परेको संघका उपाध्यक्ष माधव राजपालले बताए । 

‘वीरगञ्ज र यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्यमीलाई कोरोनाको तेस्रो लहर आउनुअघि नै खोप लगाउनु जरुरी छ,’ उपाध्यक्ष राजपालको आग्रह छ । 

उद्योग, व्यापार, व्यवसाय क्षेत्रमा काम गर्नेलाईअग्रपंक्तिमा रहेर काम गर्नेसरह प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने संघका अर्का उपाध्यक्ष हरि गौतमको भनाइ छ । 

समयमै खोप उपलब्ध नहुँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग, व्यवसाय बन्द गर्नुपर्ने अवस्था आइपरेमा त्यसबाट आपूर्ति व्यवस्थापन खल्बलिनेतर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ । 

संघले प्रदेश नं २ सरकार, वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाल उद्योग वाणिज्य महासंघलाई पनि खोप उलब्ध गराउने कार्यमा पहल गरिदिन आग्रह गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्