ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बीमा बजारमा अब फरक प्रकारको चेतना ल्याउन आवश्यक छ

२०७८ जेठ, २६  
अन्तरवार्ता
Image Not Found

हालै युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएकी उपासना पौडेल नेपाली बीमा बजारका लागि नयाँ व्यक्ति हुन् । भारतीय बीमा बजारमा लामो समय काम गरेकी पौडेलसँग नेपाली बीमा बजारको अनुभव भने छोटो छ । यस अवस्थामा उनले कम्पनीलाई कसरी अगाडि बढाउँदै छिन् ? प्रस्तुत छ, यस्तै समसामयिक विषयमा आर्थिक अभियानका मिलन विश्वकर्माले पौडेलसँग गरेको कुराकानीको सार :

नेपालको बीमा क्षेत्रमा यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महिला थिएनन् । त्यो अवस्थामा तपाईं युनाइटेड इन्स्योरेन्सको सीईओमा नियुक्त हुनुभएको छ । कस्तो लागिरहेको छ ?
यस कम्पनीको सीईओ भएर आउँदा एकदम उत्साहित भएको छु । तर, उत्साहसँगै जिम्मेवारी पनि बढेको महसुस भएको छ । महिला भएको हुनाले बजारले के गर्न सक्ला भन्ने पनि हुन सक्छ । यसमा महिला/पुरुषले यसमा खास अर्थ त राख्दैन । तर, केही फरक भने हुन्छ । यद्यपि, महिला भएको कारण हाम्रो आवाज सुनिन्छन् । तर, काम गर्ने मामलामा महिला/पुरुषलाई आधार बनाउनु हुँदैन । काम गर्न सक्नेलाई स्थान दिनुपर्छ ।

नेपालमा यस्तो संस्कार बल्ल शुरू हुन खोजेको छ । अहिले भारतका ठूला बैंक तथा बीमा कम्पनीहरूमा महिलाले पनि नेतृत्व गरेका छन् । तर, केही समयअघि त्यहाँ पनि महिलाको सहभागिता न्यून थियो । धेरै लामो समयपछि त्यहाँको बजारमा महिलाहरू नेतृत्वमा आएका हुन् । म भारतीय बीमा बजारमा २०१२ मा प्रवेश गरेको हुँ । त्यस बेला त्यहाँ महिला नेतृत्व अत्यन्त कम थियो । तर, अहिले त्यहाँ महिलाहरू नेतृत्वमा आइसकेका छन् । अब नेपालमा पनि त्यो परिवर्तन आउँदै छ ।

केही समयअघि युनाइटेडमा महिला कर्मचारी संख्या कम थियो । तर, अहिले कुल कर्मचारीमा महिला कर्मचारीको हिस्सा ३५ प्रतिशत पुगिसकेको छ । नेतृत्व तथा विभागीय प्रमुखहरूमा त महिलाको संख्या ५० प्रतिशतभन्दा बढी छ । यद्यपि, हामीले महिला नै भएर उनीहरूलाई स्थान दिएका भने होइनौं ।

महिलाले एकदम प्रतिबद्ध एवं समर्पित भएर काम गर्छन् । त्यसैले, महिलालाई महिलाको रूपमा मात्र हेर्नु हुँदैन । अझ भनौं, काम गर्ने मामलामा महिला/पुरुष भनेर भन्नु हुँदैन ।

बीमा क्षेत्रमा प्रवेश गरेर छोटो समयमै व्यवस्थापकीय रूपमा एक कम्पनीको नेतृत्व गर्दै हुनुहुन्छ । यहाँसम्मको यात्रा कस्तो रह्यो ?
मैले ब्याचलरसम्म नेपालमै पढेको हुँ । मास्टर डिग्री भने भारतको दिल्ली युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजमा गरेको हुँ । त्यो कलेज भारतको उत्कृष्ट ५ भित्र पर्छ । त्यसकारण मलार्ई त्यहाँ जागिर खोज्दै हिँड्नु परेन । त्यहाँ राम्रा कलेजहरूमा कम्पनीहरू आफै इन्टर्नशिपको अवसर लिएर आउने गर्छन् । सोही क्रममा मैले त्यहाँको एक म्यानुफ्याक्चरिङ कम्पनी कुम्मिन्स इन्डिया लिमिटेडमा जोडिने अवसर पाएँ । त्यहाँ मेरो कार्यसम्पादनलाई मूल्यांकन गर्दै कम्पनीले पूर्णकालीन रूपमै काम गर्ने अवसर दियो ।

यसै क्रममा नेपालीसँग नै मेरो विवाह पनि भयो । थप करिअरका लागि म २०१२ मा मुम्बई गए । त्यहाँ गएर जागिर खोज्ने क्रममा आईसीआईसीआई नामक निर्जीवन बीमा कम्पनीमा जोडिएँ । त्यही कम्पनीबाट बीमा क्षेत्रमा मेरो प्रवेश भएको हो ।

त्यस कम्पनीमा ६ महिना मात्र काम पाएमा पनि धेरै राम्रो हुने थियो । तर, त्यहाँ पनि मैले राम्रै कार्यसम्पादन गर्न सकेँ । त्यहाँ कार्यसम्पादनको आधारमा ३/३ वर्षमा मात्र कर्मचारीको प्रमोसन हुन्थ्यो । तर, मेरो १/१ वर्षमै प्रमोसन हुन्थ्यो । त्यहाँ काम गर्दा मेरो व्यक्तिगत जीवनलाई पनि धेरै फाइदा गर्‍यो । म त्यहाँ म्यानेजमेन्ट तहबाटै सेवा शुरू गरेको थिएँ । त्यसको प्रभावले नै मलाई अहिले युनाइटेड इन्स्योरेन्सको सीईओ हुन मद्दत पुगेको हो ।

त्यस कम्पनीमा काम गर्दा गर्दै म फेरि भोडाफोन नामक टेलिकम कम्पनीमा जोडिन पुगेँ । त्यहाँ काम राम्रो गरे पनि उत्साह भने भएन । त्यहाँ ६ महिनाजति काम गरेर म बीमा बजारमै फर्किएँ । त्यसपछि मैले आईसीआईसीआईसँग मर्ज हुन लागेको भारतीय एक्सा नामक बीमा कम्पनीमा काम शुरू गरेँ ।

तर, भारतमा लामो समयसम्म बस्न मन भएन । अन्ततः हामी (श्रीमान् समेत)ले २०१९ डिसेम्बरमा नेपाल आउने निर्णय गर्‍यौं । नेपाल आएर सानिमा जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम शुरू गरेँ । त्यसपछि युनाइटेड इन्स्योरेन्समा डीसीईओ रूपमा नियुक्त भएर डेढ वर्षअघि आएको हुँ ।

लामो समय भारतीय बीमा बजारमा काम गर्नुभयो । अहिले नेपाली बीमा बजारमा सक्रिय हुनुहुन्छ ? नेपाल र भारतीय बीमा बजारमा महिला सहभागिता, पहु“च, प्रविधि लगायतको अवस्था कस्तो छ ?
भारतमा अहिले महिला कर्मचारीको हिस्सा बढी नै छ । त्यहाँ कम्पनीमा ३५ प्रतिशत महिला कर्मचारी हुनुपर्ने प्रावधान पनि छ । त्यसको कारणले पनि त्यहाँ अहिले महिला कर्मचारीको हिस्सा राम्रो छ । तर, उनीहरूले महिला नै भएर जागिर पाएका भने होइनन् । काम गर्न सक्ने भएर नै पाएका हुन् । तर, नेपालमा भने महिलाको सहभागिता कम नै छ । तर, विस्तारै बढ्दै गएको पनि देखिन्छ । तर, महिलाले काम भने गर्न सक्नुपर्छ । अहिले यहाँ महिलाको हिस्सा ३५ प्रतिशत हुनुपर्छ भनियो भने काम गर्ने सक्ने मान्छे पाउन गाह्रो हुन्छ । त्यो कोटा परिपूर्ति गर्दा प्रभावकारिता पनि घट्न सक्छ ।

महिला कर्मचारीको हकमा विस्तारै विकास हुन्छ जस्तो लाग्छ । हाम्रो कम्पनीमा त भइपनि सक्यो । केही समय यहाँ १० प्रतिशत महिला कर्मचारी थिए । अहिले त्यो ३०÷३५ प्रतिशत पुगेको छ । विभागीय प्रमुखहरूमा त ५० प्रतिशतभन्दा बढी छ । अरूले शुरू नगरे पनि हामीले शुरू गरेका छौं । अब यसको नतीजा कस्तो आउँछ, त्यो पनि विस्तारै देखिन्छ । नतीजा राम्रै आयो भने अन्य कम्पनीले पनि यस्तो अभ्यास गर्न सक्छन् ।

कम्पनीले राम्रो व्यवसाय गर्दै गयो भने महिलामैत्री कार्यालय पनि बनाउँछौं । तर, अहिले कम्पनीसँग पर्याप्त पूँजी नहुँदा त्यो गर्न सकिएको छैन । निकट भविष्यमा हुन सक्छ ।

नेपालका कम्पनी महिलामैत्री भने छैनन् । भारतमा यस्ता कम्पनीहरूमा ‘चाइल्डकेयर सेन्टरहरू’ पनि छन्, ता कि बच्चा भएका महिला कर्मचारीले पनि कार्यालयमा आएर काम गर्न सकून् । बच्चा हेर्नकै लागि जागिर छोड्न नपरोस् । तर, नेपालमा त्यस्तो संस्कृतिको विकास भएको छैन ।

करियर राम्रो भएका महिला साथीहरू पनि बच्चा हेरचाह गर्नकै लागि जागिर छोडेका विभिन्न उदाहरण छन् । परम्परागत मान्यतालाई ध्यानमा राखेर बच्चा हेरचाह गर्न श्रीमतीलाई नै जागिर छोड्न लगाइन्छ । यस अवस्थामा महिलामैत्री कार्यालय बनाउन आवश्यक छ । साथै, हामी विमन ब्रान्च नै बनाउने योजनामा छौं । महिलाले मात्र काम गर्ने तथा महिलासम्बन्धी बीमा गर्नेगरी विमन ब्रान्च स्थापना गर्ने योजनामा छौं ।

बजारका कुरा गर्दा हामी भारतीय बीमा बजार भन्दा पछाडि नै छौं । म सन् २०१२ मा भारतीय बजारमा प्रवेश गरेको हुँ । त्यसबेला त्यहाँ म्यानुअल रूपमै बीमा पोलिसी जारी गरिन्थ्यो । तर, केही वर्षमै त्यहाँ त्यो अवस्था अन्त्य भयो । सूचनाप्रविधिमा एकदम राम्रो परिवर्तन आयो । तर, नेपाली बीमा बजार यस मामलामा अझै पछाडि छ । अब प्रविधिको विकास गर्न सकियो भने राम्रो हुन्छ । कम्पनीहरूको खर्च पनि घट्छ । त्यसरी बचेको पैसा अन्य क्षेत्रमा लगानी गरेर फाइदा कमाउन सकिन्छ । त्यसकारण अब नेपाली बजारलाई डिजिटाइजेशन गर्न आवश्यक छ । अबको केही वर्षमै त्यो पूरा हुने देखिन्छ ।

केही समय पहिला यस कम्पनीको व्यावसायिक गतिविधि त्यति राम्रो थिएन । तर, अहिले राम्रो देखिएको छ । यसका कारण के के हुन् ?
कम्पनीको ग्रोथ राम्रो थिएन नै । त्यसैले नै म य यहाँ आएको हुँ । मलाई मेहनत गर्न, चुनौती लिन मन लाग्छ । कम्पनीलाई राम्रो बनाउने चुनौती लिएरै म यहाँ आएको हुँ ।

२७ वर्ष पूरा गरेको कम्पनी अहिले जुन स्थानमा हुनुपर्ने थियो, त्यो स्थानमा छैन । बजारको हामीप्रतिको धारणा पनि त्यति राम्रो छैन । हामी बजारमा त्यति भिजिबल नै थिएनौं । यस अवस्थामा कम्पनीलाई माथि उकास्न निकै चुनैतीपूर्ण छ । त्यस चुनौतीलाई सामना गर्नेगरी केही रणनीति पनि बनाएर अगाडि बढेका छौं ।

युनाइटेड स्थापनाको आधारमा पाँचौं र पुरानो कम्पनी पनि हो । त्यो हिसाबले पहिला हामीसँग ठूला पोर्टफोलियो कारोबार गर्ने ग्राहक पनि थिए । तर, विस्तारै उनीहरूले हामीसँग कारोबार गर्न छाड्दै गए । सामान्यतया कम्पनीप्रति सकारात्मक र नकारात्मक दुवै धारणा भएका ग्राहक हुन्छन् नै । तर, हाम्रोमा नकारात्मक धारणा भएका ग्राहक हावी भएर समस्या भएको हो । त्यो अवस्थामा हामीले ग्रोथ बढाउनुभन्दा पनि हामीप्रति ग्राहको धारणा परिवर्तन गर्नुपर्ने मुख्य चुनौती छ ।

त्यसैले हामीले लागो नै परिवर्तन गरेर कम्पनीलाई रिब्रान्डिङ गर्दै गएका छौं । यो नेपाली बजारमा नयाँ अभ्यास हो । लोगो परिवर्तन गरेपछि हामीलाई बजारमा जान धेरै सजिलो पनि भएको छ । अहिले बजारमा पुरानो छवि करीब हटेको अवस्था छ । साथै, हाम्रो टिम समेत नयाँ छ । त्यसले गर्दा पनि हामीलाई काम गर्न सहज भएको छ । हामीप्रति नकारात्मक धारणा बनाएका ग्राहक पनि सानो सानो बीमा लिएर आउन थालेका छन् ।

यस्तै, म आएपछि कम्पनीको आन्तरिक व्यावसायिक रणनीति पनि बनायौं । नाफा दिन नसक्ने शाखा बन्द गर्ने, काम गर्न नसक्ने कर्मचारीलाई आन्तरिक रूपमै प्लेसमेन्ट गर्ने काम पनि गरेका छौं । हामीले व्यवसाय विस्तारको मामलामा काठमाडौंभन्दा बाहिरको शहरलाई प्राथमिकता दिएका छौं । अहिले काठमाडौंको बजार ‘अकुपाई’ भइसकेको छ । त्यसैले हामी काठमाडौं बाहिर व्यवसाय विस्तारका लागि आक्रामक रूपमा लागेका छौं । नारायणगढ, हेटाैंडा, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर जस्ता शहरलाई बढी प्राथमिकतामा राखेका छौं । पछि अन्य ठाउँमा पनि व्यवसाय विस्तार गर्नेछौं । विस्तारै काठमाडौंको मार्केटलाई रिभाइव गर्छाैं ।

हामीले कम्पनीको आन्तरिक कामलाई पनि अटोमेशन गरेका छौं । इन्टरनेट, प्रविधिबाट गर्न सक्ने जति सबै कामलाई अटोमेशन गरेका छौं । पहिला १५ दिनमा गरिने काम अहिले एक दिनमै हुन्छ । यस्तै, हामीले महिलालाई लक्षित गरेर घरदेखि नै काम गर्ने परिपाटी विकास गरेका छौं । अहिले यो कम्पनीमा काम गरिरहेका कर्मचारी छाडेर जान चाहँदैनन् ।

तर, हामी नयाँ इन्नोभेशन गर्ने अवस्थामा अझै पुग्न सकेको छैनौं । हामीले पहिले बिग्रेका कामलाई नै सुधार गर्दै गएका छौं । समग्रमा अहिले हामी दाबी भुक्तानीमा बढी ध्यान दिएका छौं । यसलाई राम्रो गर्न सकियो भने व्यवसाय बढाउन समस्या हुँदैन । त्यसपछि हामी इन्नोभेशनमा पनि जानेछौं ।

हामीले अधिकारलाई पनि विकेन्द्रित गरेका छौं । सीईओ भए पनि मैले सबै अधिकार लिएको छैन । केही अन्य साथीहरूलाई पनि विभिन्न विषयमा निर्णय गर्न सक्ने अधिकार दिइएको छ । त्यसले गर्दा उहाँहरूलाई पनि जिम्मेवारी बोध हुन्छ र कम्पनीलाई अगाडि बढाउन सहज हुन्छ ।

कम्पनीले लामो समयदेखि शेयरधनीलाई लाभांश दिन सकेको छैन । अब हामी हरेक लाभांश दिनेगरी हामी काम गर्छाैं । यस्तै, हामीले कर्मचारीमा पनि लगानी गर्न आवश्यक छ । उनीहरूमा लगानी गर्न सकिएन भने कम्पनी अगाडि बढ्न सक्दैन ।

अहिले कम्पनीको व्यावसायिक गतिविधि राम्रो छ भन्नुभयो । अबको २–४ वर्षमा कम्पनीलाई कस्तो रूपमा देख्न सकिन्छ ?
इच्छाशक्ति त नम्बर एक नै बनाउने हो । तर, उत्कृष्ट पाँचसम्म पुग्न सकिन्छ जस्तो लाग्छ । पहिला हामी १८औं स्थानमा थियौं । अहिले १३ नम्बरमा आएका छौं । गत वैशाखको मात्र व्यवसायलाई आधार मान्ने हो भने हामी छैटौं स्थानमा छौं । त्यसअनुसार कम्पनी छिट्टै माथि आउने देखिन्छ । यो वर्ष अर्ब क्लबमा पुग्ने लक्ष्य थियो । तर, कोरोनाका कारण त्यसमा चुनौती देखिएको छ ।

अहिले व्यवसायमा ६२ प्रतिशतको वृद्धिदर देखिएको छ । तर, यो सधैं कायम रहँदैन । तर, बजार १२/१३ प्रतिशतको वृद्धिदरमा अगाडि बढ्दा हामी २० प्रतिशतसम्मको वृद्धिमा अगाडि बढ्छौं ।

पहिला युनाइटेड इन्स्योरेन्समा काम गर्न सहज थिएन भन्ने सुनिन्थ्यो । अहिले कस्तो अवस्था छ ?
त्यस्तो मैले पनि सुनेको थिएँ । तर, मैले यहाँ डीसीईओदेखि काम गर्दा त्यस्तो महसुस गरिनँ । यहाँ हामी पारिवारिक वातावरणमै काम गर्छाैं । सञ्चालक समितिको काम भनेको सञ्चालन गर्ने र हामीलाई बीमा समितिको दायरामा रहेर विभिन्न निर्देशन दिने हो । तर, हाम्रो कम्पनीको अध्यक्षज्यू, हाम्रो प्रवर्द्धक समूह र सञ्चालक समितिबाट व्यवसाय बढाउन धेरै सहज वातावरण प्राप्त भएको छ । बोर्ड र म्यानेजमेन्ट टीम बीच एकदम राम्रो सहकार्य छ । कर्मचारी र म्यानेजमेन्ट टीमबीचको सहकार्य पनि राम्रो छ । त्यसैले हामी पछिल्लो समय कम्पनीको गतिविधि राम्रो बनाउन सफल भएका छौं ।

अब नेपाली बीमा बजार कसरी अगाडि बढ्नुपर्छ होला ?
अहिले आममानिसमा बीमाको जागरण आइसकेको छ । कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई नकारात्मक वा सकारात्मक कुुन रूपमा हेर्ने, आफ्नो ठाउँमा छ । बीमा कम्पनीले दाबी भुक्तानी दिएका नै छन् । कोरोना बीमाको कारण गाउँ गाउँमा बीमाको पहुँच तथा सचेतना बढेको छ । यो सकारात्मक पक्ष हो । त्यसअनुसार अब बीमा जागरण आइसकेको छ । अब नयाँ नयाँ प्रडक्ट ल्याउने, बीमाको फरक जागरण दिने काम गर्नुपर्छ । अहिले मोटर बीमामा थर्ट पार्टीको मात्र बीमा हुन्छ । तर, मोटरसाइकल दुर्घटना भएर बिग्रिँदा पनि बीमाले कभर गर्छ भन्नेबारे धेरैलाई थाहा छैन । यस्ता विषयमा पनि सचेतना ल्याउन आवश्यक छ ।

यसैगरी नयाँ नयाँ प्रडक्ट पनि ल्याउनुपर्छ । विशेषगरी ग्याजेट्स बीमालाई प्रवर्द्धन गर्नुपर्छ । नेपालमा अहिले मोबाइलको प्रयोग व्यापक छ । तर, त्यो खसेर फुट्दा, कुनै पाटपुर्जा बिग्रिँदा ठूलो रकम खर्च हुने गरेको छ । त्यसको बीमा गरेको भए ग्राहकको पैसा खर्च हुने थिएन, बीमाले भुक्तानी गर्ने थियो । अब यस्तै प्रकारका बीमाहरू प्रचलनमा ल्याउनुपर्छ ।

साथै, ४ वर्षअघि ७ प्रतिशत रहेको बीमाको पहुँच अहिले करीब २४ प्रतिशत पुगेको छ । यो ठूलो उपलब्धि हो । अब त्यो ५० प्रतिशत पुग्न कुनै समस्या हुँदैन ।

तपाईंहरू पनि कुनै नयाँ प्रडक्ट ल्याउने तयारीमा हुनुहुन्छ कि ?
विशेषगरी हामीले महिलामा हुने क्यान्सरलाई लक्षित गरेर एउटा बीमा पोलिसी बनाउने तयारी गरेका छौं । यस विषयमा काम भइरहेको छ । यसका अलावा अन्य योजनाहरू पनि बनाउने तयारी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्