ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मादीका व्यावसायिक किसानलाई ५०% अनुदानमा हाते ट्र्याक्टर वितरण

२०७८ जेठ, २६  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

जेठ २६, कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मंगलवार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा २४ ओटा हातेट्र्याक्टर वितरण गरेको हो ।

गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न संघ संस्थाबाट प्रस्ताव आह्वान गरिएकोमा ६१ जनाले माग गरेका थिए । 

पहिलो चरणमा सात हर्सपावरका २४ ओटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । प्रतिट्र्याक्टर रू. ५४ हजार मूल्यमा कृषकहरूले ५० प्रतिशत साझेदारी गरेका छन् ।

अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्यांकनका आधारमा थप १७ जना कृषकलाई दोस्रो चरणमा ट्र्याक्टर वितरणको योजना रहेको छ । जमीन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हाते ट्र्याक्टरतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले भने, ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ ।’

कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ । 

हाते ट्र्याक्टरसहित थ्रेसर, असिना छेक्ने जाली, प्लाष्टिक टनेललगायतका कृषि औजार उपकरणमा अनुदान दिने कार्यक्रम कृषितर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्