ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लघु जलविद्युत् आयोजना अन्तिम चरणमा

२०७८ जेठ, २७  
कर्णाली प्रदेश
Image Not Found

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ताको लगानीमा निर्मित सो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको छ ।

विद्युत्को इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदूर अभावले रोकिँदा निर्माणमा केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । ‘अहिले यार्सागुम्बा संकलनको समय चलेकाले निर्माण अवरुद्ध भएको छ,’ अध्यक्ष धामीले भने, ‘मजदूर पाइए एक महीनाभित्र विद्युत्को काम सकिनेछ ।’ पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युतीकरणका लागि पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ ।

अहिले पनि मजदूरको खोजी भइरहेको छ । मजदूर अभावमा रोकिएको काम पुनः शुरू गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरेका छन् । ‘निर्माणको काम निकै ढिलो भयो, मजदूर नपाएर काममा ढिलाइ गर्न मिल्दैन,’ उनले भने । पालिकाभित्र मजदूर नपाए बाहिरबाट ल्याएर भए पनि समयमै विद्युत् बाल्न उनले समितिलाई आग्रह गरेका छन् ।

विद्युत् निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउने पुग्नेछ । आयोजनाबाट उत्पादित विद्युत् साविकको खण्डेश्वरी गाविसका ७०० घरधुरीमा पु¥याउने योजना छ । खण्डेश्वरीमा विद्युत् खपत हुन नसके साविकको घुसा गाविसम्म विस्तार गर्न सकिने जानकारी दिइएको छ ।

सडक पहुँच नपुगेको अपिहिमालको पाथासम्म विद्युत्को सामान ढुवानीमा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष धामी बताउँछन् । उनले भने, ‘हामीले विद्युत्को ठूला मेशिन तथा ट्रान्सफर्मर शैल्यशिखर नगरपालिकाको शिखरबाट हेलिकोप्टरमार्फत ढुवानी गर्‍यौं । अहिले पनि गाउँपालिकाको वडा नं ५ मकरीगाडसम्म मात्रै सडक पहुँच छ । सडक पहुँचबाट एक दिन हिँडेपछि मात्रै निर्माणाधीन योजनास्थल पुग्न सकिन्छ ।’

अहिलेसम्म विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रू. २ करोड ८५ लाख, गाउँपालिकाले रू. ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत रू. ५० लाख र स्थानीय उपभोक्ताको रू. ५७ लाख लागतमा विद्युत् निर्माण भइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्