ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

झ्याप्रेखोला सिँचाइ आयोजनाको नहर निर्माण

२०७८ जेठ, २७  
गण्डकी प्रदेश
Image Not Found

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण शुरू भएको थियो । झ्याप्रेखोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कँडेलले २ वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिए ।    
 
चालू आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयको १४ लाख ४५ हजार अनुदान र उपभोक्ताको १ लाख ५३ हजार श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ । यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावियन पर्खाल निर्माण भएको छ ।  
   
‘गत पुसमा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौं,’ अध्यक्ष कँडेलले भने, ‘हामीले वैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानीसमेत लिइसक्यौं ।’ स्थानीय मजदूर परिचालन गरेर नहर निर्माण भएको थियो । गत आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको २८ लाख अनुदान र उपभोक्ताको ३ लाख रुपैयाँ बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावियन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिँचाइका लागि पानी चलाइएको छ ।

झ्याप्रेखोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुग्ने खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जिनियर बालकृष्ण बुढाथोकीले बताए । कुल २ हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ । आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले बताएको छ । सिँचाइ सुविधा भएपछि खाद्यबालीका साथै सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी मदन सापकोटाले बताए ।

नहरबाट पानी चलाइएको ठाउँमा यसपालि मध्य जेठमै धान रोपाइँ सकिएको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्