ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मनसुनले अवरुद्ध हुने राजमार्गमा इक्वीपमेन्ट राख्न निर्देशन

‘सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछाड्नू’

२०७८ जेठ, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मनसुनका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरूमा पहिलो पन्छाउने, मर्मतसम्भार गर्ने हेभी इक्वीपमेन्टहरू राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् । २ दिन भएको समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै उनले सम्भावित स्थानमा पहिरो पन्छाउने, सडक मर्मत–सुधारमा प्रयोग हुने विभिन्न प्रकारका इक्वीपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका हुन् ।

मन्त्री नेम्वाङले यो वर्ष मनसुन छिट्टै शुरू हुने पूर्वानुमान रहेकाले राजमार्ग अवरुद्ध हुुने समस्या दोहोरिने भन्दै यसबाट जनजीवन नै प्रभावित हुने बताए ।

मनसुन शुरू भएपछि बर्खायाममा मुलुकका विभिन्न राजमार्गमा पहिरो, बाढीले सडक कटान गर्दा यातायात अवरुद्ध हुने गरेको छ । सडक विभगका अनुसार गतवर्षको मनसुनताका मुलुकभरका विभिन्न राजमार्ग, सडकमा गरी कुल २५३ स्थानमा सडक अवरुद्ध भएका थिए । अरनिको राजमार्ग, कान्तिपथ, बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका विभिन्न खण्डमा पहिरोका कारण र तराईतिर बाढीका कारण सडकमा क्षति पुग्नुका साथै पुलहरू पनि बग्ने गर्छन् ।

राजमार्ग तथा सडकमा आएको पहिरो पन्छ्याउन सम्बन्धित सडक डिभिजन कार्यालयहरूले लोडर, एक्स्क्याभेटर, डोजर, क्रेन जस्ता हेभी इक्वीपमेन्टको प्रयोग गर्ने गर्छन् ।

कार्यक्रममा मन्त्री नेम्वाङले देशैभरका सम्भावित स्थानमा इक्वीपमेन्टहरू परिचालन गर्न र अपुग भएमा भाडामा लिएर भए पनि समयमै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । मन्त्रालय मातहतका कर्मचारीलाई उनले सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन समेत दिएका छन् । कार्यालय प्रमुखहरू नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै मन्त्री नेम्वाङले यस्तो निर्देशन दिएका हुन् ।

नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत सम्भारलाई समेत विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । राजमार्गहरू खाल्डाखुल्डी रहित बनाउन पनि उनले मातहतका अधिकारीलाई निर्देशन दिए । यसैगरी चालू आर्थिक वर्षको प्रगति विवरणहरू अपेक्षित नभए पनि उत्साहजनक भएको दाबी उनले गरे । ‘प्रगति विवरण आशातीत नभए पनि सन्तोषजनक छ,’ उनले भने, ‘आर्थिक वर्षको अझै केही दिन बाँकी भएकाले प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नुहोला ।’

गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत आफ्ना धारणा राखेका थिए । यस्तै सडक डिभिजन प्रमुखहरूले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फछ्र्योटको अवस्थाबारे प्रस्तुति दिएका दिएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्