ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश नं १ सरकारले पेश गर्‍यो नीति तथा कार्यक्रम, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

२०७८ जेठ, २७  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, विराटनगर । प्रदेश नं १ सरकारले सरकारको आगामी आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा बिहीवार प्रस्तुत गरेको छ ।

 सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश सभा बैठकमा प्रस्तुत गरे । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर  नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश नं १ सरकारले कोभिड- १९ विरुद्धको खोपमा सबै प्रदेशवासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चितगर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।

औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वय तथा सहकार्यमा सबै संशाधनको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ । 

कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत सुरक्षानिकायका राष्ट्रसेवकहरुको  मनोवल अभिवृद्धि गर्न अतिरिक्त पारितोषिकको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘गुणस्तरीय स्वास्थ्यसेवा प्रदेश सरकारको प्रतिबद्वता’ भन्ने मुलनारा सहितप्रदेशमातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट,सघन उपचार कक्ष निर्माण गरिने भएको छ ।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिकपूर्वाधारसहित मेची अस्पताललाई २०० शय्या, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १–१ सय र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शय्यामा स्तरोन्नति गरिने भएको छ । प्रदेश सरकारद्वारा निर्मित एवम् सञ्चालित कोशी कोभिड अस्पताललाई कोभिडको पुर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुति तथा स्त्रीरोग अस्पतालमा रुपान्तरण गरिने भएको छ । 

स्थानीयतहसँगको सहकार्यमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार गर्ने सिलसिलामा निर्माण गरिएका संरचनाको संरक्षण र नियमित सम्भारको प्रबन्ध गरिने सरकारको नीति रहेको छ । प्रदेश १ मा रहेका १६ ओटा पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गरिने भएको छ । 

प्रदेश नं १ का १४ ओटै जिल्लाका प्रमुख एबं मुख्यपर्यटन गन्तब्य स्थलहरुलाई पर्यटन गुरु योजनासँग आबद्धगरी पर्यटकहरुलाई आकर्षित गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । थप नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनका लागि स्थानीयतहहरुसँग समन्वय र  सहकार्य  गरिनेभएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्