ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विपद् व्यवस्थापनको पूर्वतयारी

२०७८ जेठ, २८  
गण्डकी प्रदेश
NA

मनाङ । बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवातपछि मनसुन शुरू भइसकेको छ । मनसुन शुरू भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण वर्षामा हुन सक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ ।

यस्तै जिल्लावासीलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ । वर्षाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।

‘प्राकृतिक विपद्बाट जिल्लामा धेरै क्षति हुनबाट जोगाउन पूर्वतयारी थालिसकेका छौं,’ लामिछानेले भने । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा बढी जोखिम हुनसक्ने पूर्वानुमान गरिसकेकोले सचेत हुनुपर्ने भन्दै तयारी थालेको हो ।

यसपालि बढी वर्षा हुन सक्ने भएकाले प्राधिकरणको निर्देशनअनुरूप बाढी, पहिरोको घटनाको प्रतिकार्यका लागि जिल्लाभित्रका चारओटै गाउँपालिकासँग समन्वय गरेर तयारी थालिएको उनले बताए । ‘विपद्को अवस्थामा उद्धारमा खट्ने जनशक्ति तयार भइसकेको छ, वर्षायाम शुरू भइसकेको छ, उद्धारमा खटिने जनशक्तिलाई विश्वव्यापी फैलिएको कोभिड–१९ बाट जोगाउनुपर्ने अवस्था छ, उनीहरूलाई स्वस्थ कसरी राख्ने भन्ने चुनौती थपिएको छ,’ उनले भने ।   
 
विगतमा भन्दा हाल स्थानीय सरकारलाई बढी स्वामित्व हस्तान्तरण भएकाले पालिकाहरू सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि स्थानीय तहसँग समन्वय, सहकार्यका लागि अद्यावधिक भएको उनले बताए । अहिले विपद् व्यवस्थापन गर्ने पहिलो पक्ष स्थानीय सरकार भएकाले पालिकाले विपद्को पूर्वतयारीका काम गरिरहेको उनले बताए । विपद्मा उद्धारमा खटिने जनशक्तिका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित स्थानीय तहमा छलफल भइरहेको पनि उनले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्