ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

छाङरूमा सशस्त्रको भवन ९ महीनामा भुइँतला मात्र

२०७८ जेठ, २८  
सुदूरपश्चिम प्रदेश
Image Not Found

दार्चुला । २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्याँसको छाङरूमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरे । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो ।

बोर्डर आउट पोष्ट राखिएको तीन महीनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङरूमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय गर्‍यो । सोही निर्णयअनुसार सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङरूमा स्थानान्तरण गरियो भने खलंगामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।

छाङरूमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाहै्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महीनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण शुरू गरिएको ९ महीनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ ।

‘अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘त्यो पनि चारैतिरबाट बनेको छैन । कुल १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।’

व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ ।
त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बीओपी निर्माणको काम अहिलेसम्म शुरू हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरू भएको छैन । व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिंकरमा पनि सशस्त्र राख्न लागेको, तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।     

तिंकरमा ६ महीनाभित्रै प्रिफ्याबको एंगलसहितको भवन निर्माण गर्ने सम्झौता भएको । तर यो आर्थिक वर्षमा भवन बन्ने सम्भावना छैन । सरकारले तिंकरमा बोर्डर आउट पोष्ट बनाउन १ करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । ‘एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, ‘अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।’ रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्