ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चुरेको चुरो कुरो के ?

२०७८ जेठ, २८  
तीतो मीठो
author avatar मदन लम्साल

यता सत्ताको कुर्सी तनातान चलिरहेकै थियो । अब चुरेको ढुंगा हानाहान पो हुन थाल्यो त ।

विरोधीहरू भन्छन्– सरकारले गिटी, ढुंगा निर्यात गर्ने नाममा चुरे फोडेर सम्म पार्ने भो रे । तराई अझ फैलिने भो रे । ठीकै छ त । तराई फैलिए झन् राम्रो । पहिले ढुंगा, गिटी बेच्ने र पैसा कमाउने । अनि फैलिएको तराईमा धान, गहुँ, मकै फलाएर देशको पेट भर्ने, निर्यात पनि गर्ने । यसो गर्न पाए अहिलेको व्यापारघाटा सप्पै चट् ।

वातावरणवादीहरू त्यत्तिकै बरबराउँछन् । विगतमा पनि देशैभरिका डाँडाकाँडामा डोजरहरू जोतिएकै हुन् । त्यतिबेला चैं यी विरोधीहरू भाङ खाएर सुतेका थिए ? अहिले चैं एकाएक विरोधमा किन जागेका ?

त्यसपछि महाभारत पहाड सम्याउने र त्यहाँ पनि प्लटिङ गर्दिने । बालुवाटारको सानो ठाउँमा प्लटिङ गर्दा विरोध भाथ्यो । भोलि महाभारतको पनि विरोध होला नै । तर त्यसको मतलव गर्न हुन्न । विरोध गर्नेले विरोध गरिरहन्छन् । काम गर्नेले काम गरिरहन्छन् ।

अध्यादेशबाट पूर्ण बजेट ल्याउन हुन्न भनेर धेरैले विरोध गरेका थिए । सरकारले विरोधीलाई बाल दियो र ? दिएन नि । विरोधीहरूले त बहुमत सिद्ध गर्न नसके सरकार छाड पनि भनेको थियो । सरकारले सरकार छाड्यो त ? त्यसकारण सरकार हात्तीसरी लम्कँदै गर्छ, कराउनेहरू पछि पछि कराउँदै गर्छन् । कराउनेहरू कराउने मात्र त हुन्, केही गर्न सक्ने होइनन् क्यारे !

फेरि पहाडमा त्यस्तो के नै छ र हो यसलाई राखिराख्नुपर्ने ? वास्तवमा नेपालको विकास नभएकै ह्याँ पहाडै पहाड भएर हो । वर्षौंदेखि स्कुल र कलेजमा त्यही पढेको होइन ? पहाडमा खेती गर्न कम्ता दुःख छ ? उकाली ओराली गर्न कति गाह्रो छ ? पहाडमा पैरो गएर बस्ती सखाप भए भन्ने समाचार कति सुनिरहने ? पहाड जति मैदान बनाएपछि के को पहिरो, के को बस्ती सखाप ?

बरु पहाड भत्किएर समथर भयो भने त्यहाँ तराईमा झैं सडक बनाउन, रेलको लिक ओछ्याउन र रेल समेत कुदाउन पाइन्छ । अनि त मध्यपहाडी लोकमार्ग, उच्च लेकाली लोकमार्ग, हिमाली लोकमार्गको साटो दक्षिण तराई रेल, मध्य तराई बुलेट, उत्तरी तराई रेलमार्गहरू खुल्नेछन् ।

पहाड जति मैदान भएपछि पानीका मूल, नदीनाला सुक्छन् भनी व्यर्थको चिन्ता गर्ने पनि छन् । पानीकोे चिन्ता गर्नै पर्दैन । किनकि पानी व्यापारमा हात हालेका बहुराष्ट्रिय कम्पनीहरूले घरघरमा पानी पुर्‍याइदिहाल्छन् नि ।

अब त्यत्रा पहाडहरू मैदान बनाउँदा लाखौं डोजर, बुल्डोजर, टिपर, तिनका चालक र खलासी बन्दा कति रोजगारी सृजना हुन्छ ? एक घर एक रोजगारी हैन, एक व्यक्ति अनेक रोजगारी सृजना हुन्छ । एउटै मान्छेले चारचार, पाँचपाँच रोजगारी पाउनेछ । बरु सरकारले अहिलेदेखि नै सबै नेपालीलाई डाइवरको तालीम दिने कार्ययोजना बनाउन शुरू गरे हुन्छ ।

पहाड सबै मैदान भएपछि जलविद्युत् कसरी उत्पादन गर्ने भन्ने अबुझहरू पनि छन् । नेपालका पहाडमा युरेनियम छ भन्ने ज्ञान नभएको हो कि बुझ पचाएको हो ? अब पहाडबाट युरेनियम निकाल्ने अनि आणविक भट्टीबाट धमाधम बिजुली निकाल्ने नि ! नेपाल अब युरेनियम युगमा जाने हो क्या ! त्यसैले त सरकारले ‘राष्ट्रिय न्युक्लियर नीति २०६४’ उहिल्यै जारी गरिसकेको छ त । एकपछि अर्को यस्तो दूरदर्शी सरकार भएपछि चिन्ता किन ?

कति विरोधीले त पर्यटन उद्योगमा हानि हुन्छ भनेर पनि दाबी गरेका छन् । विचराहरूको बुद्धि देख्तै दया लाग्छ ! यत्राविधि पहाडहरू मैदान र खाल्टामा परिणत भएपछि यस्तो चमत्कार हेर्न विश्वभरिका पर्यटककोे थामी नसक्नुको भीड लाग्दैन त ? अनि हाम्रा टुरिष्ट गाइडले पनि ‘यी यहाँ नेर अन्नपूर्ण थियो, यहाँनेर धौलागिरि थियो, यहाँ नेर शिवपुरी थियो, यहाँनेर चन्द्रागिरी थियो’ भनेर भन्दा सगरमाथा चढेको भन्दा बढी आनन्द पाउँछन् पर्यटकहरूले । त्यसपछि ‘पर्या–पर्यटन’ होइन कि ‘पहिरो–पर्यटन’को नारा सार्थक हुन्छ । चीनले ग्रेटवाल देखाएर पर्यटक भित्र्याउँछ भने हामी ग्रेट–खाल्डो भनेर पर्यटक भित्र्याउन पाउँछौं ।   

हो, चुरे र महाभारत सम्याउँदा पनि व्यापारघाटा रहिरह्यो भने हिमालै सम्याइदिने नि । अनि त चीनसँग व्यापार गर्न अहिले भएको भौगोलिक अवरोध चट् । अनि व्यापारघाटा पनि चट् ।

वातावरणवादीहरू त्यत्तिकै बरबराउँछन् । विगतमा पनि देशैभरिका डाँडाकाँडामा डोजरहरू जोतिएकै हुन् । त्यतिबेला चैं यी विरोधीहरू भाङ खाएर सुतेका थिए ? अहिले चैं एकाएक विरोधमा किन जागेका ? यत्तिका वर्षदेखि के चुरे, के महाभारत वा के चारकोसे झाडी यत्रतत्र सर्वत्रबाट काठ तस्करी भएको भयै छन् । देशैभरिका जंगलमा बेलाबेलामा आगलागी पनि भइरहेकै छन् । त्यसबारे बोल्न र केही गर्न विरोधीहरूलाई केले चैं रोकेको थियो ?

कुर्सीको प्रसंग आए वातावरण पनि सँगै आउने, नत्र नआउने हो ? कि काठ चैं जति तस्करी भए पनि हुने, वनमा जति आगलागी भए पनि हुने, तर गिटी, बालुवा चैं छुनै नहुने हो ? ऐलेको वातावरण यो सरकारले मात्र बिगारेको हो कि ? नबुझिएका प्रश्न अरू पनि थुप्रै छन् ।

प्रकृतिको दोहन नगरे निर्माण सामग्री आउँछ चैं कहाँबाट ? के खानी भनेको आरती गरेर मात्रै राख्ने कुरा हो ? हिजो चरा चरा भन्दै अरुण तेस्रोलाई बिचरा बनाएर दक्षिणलाई गुरुदक्षिणा दिने वातावरणप्रेमी हामीले नदेख्या हो र ? चल्तीका वातावरणविद्हरूलाई अहिले चुरेप्रेमको मसान त त्यसै त कहाँ जाग्या होला होला र ? केही राज अवश्य छ है ! कि जेमा पनि राष्ट्रवाद भन्नेहरूको ढुंगा, गिटीमा पनि राष्ट्रवाद जागेर अहिलेको लफडा शुरू भएको त होइन कतै ?

राजनीति गर्न, राजदूत, नेता, मन्त्री हुन योग्यता नचाहिने भएकाले उनीहरूले ठीक ठीक कुरो जनतालाई बुझाउन नसकेकोले पो बखेडा भइरहको पो हो कि ? लौ न ! ढुंगा, गिटी विज्ञ कोही हुनुहुन्छ भने कृपया बताइदिनुहोस् न यो चुरेको खास चुरो कुरो के हो ?

प्रतिक्रिया [1]
User Image

टिंकु श्रेष्ठ

[Jun 15, 2021 04:54am]

बाटाे लागि त यो देशमा डाडाँ काट्नु नै पर्छ । डाडाँ धेरै भएको देशमा उर्वर भुमीको त कमी छदैछ विवेककाे पनि कमि देखियो। यी डाम्नाहरुलाई कर्णालीमा लगेर २ महिना राख्दा बल्ल थाहा पाउँछ कती कठिन रहेर त्यहाँ बाच्न । शहरमा बसेर मिठो खाएर धेरै बकवास गर्न सजिलो छ तर त्यहाँ बाच्न कती मिहिनेत गर्नु पर्छ । डाडालाई काटेर सम्म बाटो बनाउने ती निस्केका माटोलाइ लगेर बेच्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्