ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पिप्ले–बन्दीपुर सडक कालोपत्र गर्न शुरु

२०७८ जेठ, २८  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

जेठ २८, तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करीब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो । सडक विभागको रू. ६ करोड र गाउँपालिकाको रू. तीन करोड ६० लाख गरी रू. ९ करोड ६० लाखको लागतमा असार महीनाभित्र सम्पन्न गर्ने गरी कालोपत्र गर्ने कार्य शुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जानकारी दिएको छ । 

सडकको दायाँबायाँ एक/एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम शुरु भएको छ । उनले भने, ‘नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।’ 

सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उनले बताए। पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करीब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ । 

दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताए । उनका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनर्निर्माण गर्ने योजना छ ।

प्रत्येक वडा कार्यालयसम्म कालोपत्र 
बन्दीपुर गाउँपालिका मातहत रहेका छ ओटै वडा कार्यालयमा कालोपत्र पुर्‍याउने गरी काम गरिएको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करीब पाँच किलोमिटर कालोपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । 

उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्र गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।

त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्र गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उनले बताए । 

बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्