ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रावाखोला जलविद्युत् आयोजनासँगको विवादले सिँचाइ आयोजना अलपत्र

२०७८ असार, १  
प्रदेश ०१
Image Not Found
फाइल फोटो

असार १, खोटाङ । रावाबेँसी गाउँपालिकामा सञ्चालन हुन लागेको जलविद्युत् आयोजना र सिँचाइ योजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको छ ।

दूधकोशी पावर कम्पनी प्रालिको प्रवर्द्धनमा सञ्चालन हुने ६ दशमलव ५ मेगावाटको रावाखोला जलविद्युत् आयोजना र वडा नं ६ हौँचुरस्थित हौँचुर गरा सिँचाइ आयोजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको हो ।

हौँचुरबेँसीका करीब १०१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने सिँचाइ आयोजनाका लागि बोलपत्र आह्वानको म्याद दोस्रोपल्ट थप गर्दासमेत विवाद हल हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । 

सिँचाइ आयोजनाको बोलपत्र (ठेक्का) आह्वान भएपछि जलविद्युत् आयोजनालाई असर पर्ने भन्दै दूधकोशी पावर कम्पनीले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि नबढाउन निवेदन दिएपछि सिँचाइ आयोजनाको काम शुरु नहुँदै झमेलामा फसेको हो ।

हौँचुरमा सिँचाइ प्रणाली पुनःस्थापना आयोजना कुवेत फण्ड (आइएसआइपी–केएफएइडी) अन्तर्गत रू. पाँच करोड चार लाखको हौँचुर–गरा सिँचाइ आयोजनाको काम अघि बढाइएको थियो । विसं २०७६ मा विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको सिँचाइ योजनाको काम २०७९ असारसम्ममा पूरा गर्नुपर्ने म्याद छ ।

आयोजनाका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत चैत ३१ गते बोलपत्र आह्वान गरेको थियो । जलविद्युत् आयोजना र हौँचुर–गरा सिँचाइ आयोजनाका लागि एउटै मुहान रावाखोला भएपछि विवाद शुरु भएको हो ।

जलविद्युत् आयोजनाको मुहान सिँचाइ आयोजनाको भन्दा केहीमाथि रहेको बताइएको छ तर सिँचाइ आयोजनाले जलविद्युत् आयोजनालाई असर गर्ने दूधकोशी पावर कम्पनीका अध्यक्ष प्रेम लामाले बताए । 

सिँचाइ आयोजनाका लागि कार्यक्रम तथा बजेट स्वीकृत गराएर निर्माण प्रक्रिया अघि बढाउने सहमति लिएसँगै वडा कार्यालय हौँचुरले गत वैशाख २७ गते ठेक्का प्रक्रिया अघि नबढाउन सिफारिस गरेको थियो । दुई आयोजनाबीच विवाद चर्किँदै गएपछि वैशाख २७ गते सिँचाइ योजनाले जलविद्युतलाई असर गर्ने÷नगर्ने सत्यतथ्य पत्ता लगाउन रावाबेँसी गाउँपालिकाले लिखित पत्राचार गरेको थियो ।

उपभोक्ता समितिसँग योजना सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको तथा बोलपत्र आह्वान भइसकेको अवस्थामा हालसम्म सो सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया रोक्का रहेको छ । दुई आयोजनाबीच चुलिएको विवाद समाधानमा भने हालसम्म कसैको पहलकदमी देखिएको छैन । 

वडा कार्यालय हौँचुर र गाउँपालिकाले पठाएको पत्रका आधारमा जलविद्युतलाई पर्ने असरका बारेमा सम्बन्धित पक्षसँग समन्वय, छलफल र परामर्श गरी सात दिनभित्र सत्यतथ्य जानकारी दिन डिभिजन कार्यालयले वैशाख २९ गते उपभोक्ता समितिलाई पत्राचार गरेको थियो । त्यही बीचमा जेठ ६ गते वडा कार्यालय हौँचुरले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउन डिभिजनमा पत्राचार गरेको थियो ।

डिभिजन कार्यालयमा वडाको पत्र आएको भोलिपल्टै जलविद्युत् आयोजनाले गाउँपालिकालाई सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया स्थगन गर्न सिफारिस गरेको थियो । विवाद लम्बिँदै गएपछि सिँचाइ उपभोक्ता समितिले ठेक्काको म्याद सात दिन थप गरिदिन भन्दै जेठ २० गते डिभिजनसमक्ष माग गरेको प्रमुख ज्ञवालीले बताए ।

विसं २०३८ मा निर्माण शुरु गरेर २०३९ मा पूरा गरिएको सिँचाइ योजनाले ओगटेको जग्गालाई विसं २०४१ मा नापी नक्सामा कायम गरिएको उपभोक्ता समितिको दाबी छ । हौँचुर–गरा सिँचाइ आयोजना नयाँ योजना नभई पुरानो कुलोलाई प्रणालीमा सुधार गर्न मात्र लागिएको सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लीलाध्वज केसीले बताएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्