ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रदेश नं १ को बजेट सार्वजनिक, ३२ अर्ब ४६ करोडको बजेट, पूर्वाधारमा १३ अर्ब   

२०७८ असार, १  
प्रदेश ०१
Image Not Found

असार १, विराटनगर । प्रदेश नं १ को आठौं तथा बजेट अधिवेशनको मंगलवार बसेको बैठकमा आर्थिक वर्ष २०७८/ ७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ ।     

 प्रदेश सभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरे।     

 सो बजेटमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ३२ अर्ब अर्व ४६ करोड ९२ लाख रुपैयाँको विनियोजन भएको छ । कुल विनियोजन मध्ये चालूतर्फ १४ अर्व १६ करोड १५ लाख रुपैयाँ अर्थात् ४३ दशमलव ६ प्रतिशत, पूँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात् १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ रहेको छ ।     
 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९ करोड ७७ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ, समपुरक अनुदानबाट १ अर्ब १६ करोड ७८ लाख रुपैयाँ र विशेष अनुदानबाट ५९ करोड ३३ लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३० अर्ब २० करोड ७९ लाख रुपैयाँ खर्च व्यहोरिने आयव्ययमा उल्लेख छ ।

त्यस्तै अपुग रकम नगद मौज्दातबाट २ अर्ब रुपैयाँ तथा वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ व्यहोरिने आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाहङ(लिम्बू) ले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।     
 उनले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रदेश सरकारको खर्च गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ११ प्रतिशत वृद्धि भएको छ भने रजस्व सङ्कलनमा ११दशमलल ६१ प्रतिशतले वृद्धि भएको बताएका छन् । प्रदेश भित्रका स्थानीय तहहरुको वैशाख मशान्तसम्म प्रदेशबाट वित्तीय हस्तान्तरण मार्फत भएको खर्च १ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ बजेट वक्तव्यमा उल्लेख छ ।     

 चालू आर्थिक वर्षको कुल विनियोजित बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सङ्घीय सशर्त अनुदान मार्फत १ अर्ब ४० करोड ४८ लाख रुपैयाँ थप भइ ४२ अर्ब ३० करोड ४८ रुपैयाँ लाख कायम भएको र चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल विनियोजनको करीब ४० प्रतिशत खर्च भइसकेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा करीब ६० प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।     

 चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल २१ अर्ब ६६ करोड रुपैयाँ प्राप्ति भएको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा २८ अर्ब ५० करोड रुपैयाँ प्राप्त हुने संशोधित अनुमान बजेट वक्तव्यमा उल्लेख छ ।     

 सरकारले चालू आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धि दर ३ दशमलव ६ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको छ भने समग्र स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, शिक्षामा १ अर्ब १९ करोड रुपैयाँ, महिला बालबालिक, ज्येष्ठ नागरिक तथा समावेशीकरणमा २१ करोड २७ लाख रुपैयाँ, युवा खेलकूद, श्रम तथा रोजगारका क्षेत्रमा १६ करोड रुपैयाँ, भूमि व्यवस्था, कृषि तथा सहकारीका लागि २ अर्ब ९० करोड रुपैयाँ, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थपनमा १८ करोड रुपैयाँ तथा संस्कृति, पर्यटन तथा जैविक विविधताको क्षेत्रमा ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि रु।एक अर्व ३६ करोड, भौतिक पूर्वाधार तथा यातायातका लागि १३ अर्ब २१ करोड रुपैयाँ, आवास तथा शहरी विकासमा ५५ करोड रुपैयाँ, उर्जा तथा सिंचाईका लागि ३ अर्ब १५ करोड रुपैयाँ, खानेपानी तथा सरसफाईका क्षेत्रमा १ अर्ब ८२ करोड रुपैयाँ, सुरक्षा, कानून, सञ्चार तथा विपद् व्यवस्थापनमा, अर्थ योजना, तथ्याङ्क र विकास, सुशासन, क्षमता विकास र सेवाको प्रभावकारितमा पनि बजेटको व्यवस्था भएको बताइएको छ ।     
 

आर्थिक मामिला तथा योजना मन्त्री आङबुहाङले आर्थिक वर्ष २०७८÷७९ को राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयक सदनमा टेबुल रेका थिए ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्