ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सामान्य अंकले घट्यो शेयर बजार, करीब ११ अर्बको शेयर कारोबार

२०७८ असार, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । साताको अन्तिम कारोबार दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको छ ।

 अघिल्लो कारोबार दिन बुधवार २९६९.६९ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ९८२ दशमलव ९७ विन्दुदेखि खुला भएको हो । कारोबारको आधा घण्टाको अवधिसम्ममा २ हजार ९४५ दशमलव ५९ विन्दुसम्म झरेको बजारले २ घण्टा ३३ मिनेटको कारोबार अवधिमा २ हजार ९९० विन्दु कायम गरेको थियो । 

नेपाल धितोपत्र बोर्डले सूचीकृत विभिन्न ५१ ओटा कम्पनीहरुमा गरिरहेको अध्ययन तथा अनुसन्धानले बजारमा कस्तो प्रभाव पर्ला भन्नेमा अन्योल बनेका लगानीकर्ताहरु बिहीवार भने पर्ख र हेरको अवस्थामा रहेको पाइएको छ । 

देशको जनजीवन कोरोना  महामारीका कारण गत वर्षदेखिनै प्रभावित भइरहेको अवस्थामा शेयर बजारबाट आम्दानी गरेर धेरैजसो नेपालीहरुले दैनिकी चलाइरहेको पाईन्छ । कोरोना महामारीका कारण अस्तव्यस्त अन्य व्यवासायिक क्षेत्रका व्यवसायीहरु पनि शेयर बजारमै बैकल्पिक लगानीको रुपमा भित्रिएको जानकारीसमेत ब्रोकरहरुले दिएका छन् । 

सामान्य हल्लाबाट पनि प्रभावित बन्ने नेपालको शेयर बजार नियामककै सूचीकृत कम्पनीहरुको शेयर कारोबारमा चलखेल भएको धारणाप्रति भने निकै प्रभावित बनेको ब्रोकरहरुको अनुमान छ । नियामकले बजार र लगानीकर्ताहरुकै हितका लागि चालेको यो कदमले क्षणिक अन्योलता भएपनि आगामी दिनमा सकारात्मक प्रभाव पर्ने र कारोबारमा हुनसक्ने चलखेललाई कम गर्ने विश्वास पनि ब्रोकरहरुले गरेका छन् ।

उनिहरुले पछिल्लो दुई दिन जानकार लगानीकर्ताहरुले ढुक्क भएर लगानी गरेको र नयाँ लगानीकर्ताहरुमा अन्योलता देखिएकाले पर्ख र हेरको अवस्थामा रहेको जानकारी पनि दिएका छन् । बिहीवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंक घटेर ५४१ दशमदज १२ विन्दुमा झरेको छ । 

बिहीवार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधवार रू. १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएकोमा बिहीवार यो रकम रू. १० अर्ब ९० करोड ४९ लाख ५८ हजारमा खुम्चिएको हो ।

यस दिन २२३ ओटा कम्पनीको १ लाख २४ हजार ५६१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर कारोबार भएको छ । मंगलवारदेखिनै सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीले बिहीवार पनि निरन्तरता पाएको छ ।

उक्त कम्पनीको यो दिन रू. ७७ करोड ३७ लाख ३९ हजार बराबरको ४ लाख ८ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य पनि ३ दशमलव १२ प्रतिशत अर्थात प्रतिकित्ता रू. ५८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९१६ कायम भएको छ ।

सामान्य करेक्सन भएको बिहीवारको बजारबाट विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

त्यस्तै होटल्स तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ४२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३५ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।

 यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ५४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र लगानी समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ ।

बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले घटेको छ । 

खानीखोला हाइड्रोपावरको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३०४ पुगेको छ भने सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ४८ ले घटेर अन्तिम मूल्य रू. ६८५ मा झरेको छ । जेठ २६ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य छैटौं दिनसम्म निरन्तर उच्च दरमा बढेर सातौ दिन सर्वाधिक घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्