ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी गर्नुस् जरबेरा फूलको खेती

२०७८ असार, ४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । कट फ्लाबरको रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूल खेती नेपाललगायत विश्वमै हुने गरेको छ । पहेंलो, सुन्तला रंग, गुलाबी, गाढा रातो, बैजनी र सेतो रंगमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फूल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ । यो फूलको खेती गर्ने तरिकाबारे बुझौं ।

जरबेराका जरा माटोमा ५० देखि ७० सेन्टिमिटर गहिराइसम्म जाने भएकाले यसको खेती गर्न जमिनको सही छनोटमा विशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बिरुवाले माटोबाट पूर्ण रूपमा पोषक तत्व लिन माटोको पिएच ५ दशमलव ५ देखि ६ दशमलव ५ सम्मको हुनुपर्दछ । माटोको बनोट खुकुलो, फरफराउँदो एवं पानी नजम्ने किसिमको माटो हुनुपर्दछ, जसले गर्दा जराको वृद्धि राम्रो भई जरा मुनिसम्म जान सक्छ ।

जरबेरामा ढुसीका जीवाणुले बढी नोक्सान गर्ने भएकाले माटोलाई विज्ञको सल्लाहबमोजिम बाप, सौर्य एवं रसायन विधिबाट उपचार गर्न सकिन्छ । रसायन विधिबाट माटोको उपचार गर्दा ७ दशमलव ५ देखि १० लिटर फर्मेलिन १ सय वर्गमिटरमा छर्किने र उक्त जमिनलाई ७ दिनसम्म प्लास्टिकले छोपेर राख्ने त्यसपछि ७ दिनपछि करिब १ सय लिटर पानी प्रतिवर्गमिटरमा पुग्ने गरी पखाल्नुपर्दछ । यसो गर्दा माटोबाट रसायन पखालिएर जान्छ ।

नियमित हावा प्रवाहका लागि बढीमा ६ दशमलव ५ मिटरको उचाइको ग्रिन हाउस तयार गर्नुपर्ने वरिष्ठ बागवानी अधिकृत अनिलकुमार आचार्य बताउँछन् । उनका अनुसार जरबेरा खेतीमा ढुसीजन्य जीवाणुको समस्या आउने भएकाले खेतको अवस्थाअनुसार यो फूल लगाउने ड्याङ शून्य दशमलव ३ देखि २ दशमलव ५ फिटसम्म अग्लो बनाउनुपर्छ ।

त्यसैगरी ड्याङको चौडाइ २ फिट र ड्याङबीचको बाटो १ फिट हुनुपर्दछ । बिरुवादेखि बिरुवाबीचको दूरी ३० सेन्टिमिटर हुनुपर्छ । बिरुवाको जरा नखल्बलिने गरी रोप्नुपर्दछ । रोपिसकेपछि ४ देखि ६ सातसम्म ग्रिन हाउसभित्रको आद्रता ८० देखि ९० प्रतिशतसम्म कायम राख्नुपर्दछ ।

बिउबाट उमारेको जरबेराको बिरुवामा माउ बोटको जस्तो गुण नहुने भएकाले वानस्पतिक प्रसारण विधिअन्तर्गत गाँछ छुट्याउने विधि  धेरै महत्वपूर्ण मानिएको छ । यो प्रक्रिया प्रायः जेठ, असार महिनामा गर्न सकिन्छ । यद्यपि यसरी बिरुवा तयार गर्दा १ वर्षे माउ बोटबाट मात्र तयार गर्न मिल्ने हुनाले उत्पादन ढिलो हुने पुष्पविज्ञहरू बताउँछन् ।

यसले गर्दा प्रतिवर्ष २० वटासम्म मात्र बिरुवा मात्र उत्पादन गर्न सकिन्छ । त्यसैले धेरै बिरुवा उत्पादन गर्न टिस्यु कल्चर विधिको प्रयोग आवश्यक हुन्छ । यस विधिबाट बिउ उत्पादन गर्न बोटको माथिल्लो भागको सानो टुप्पालाई प्रयोगशालामा विभिन्न पोषक तत्वमा हुर्काएर लाखौं बिरुवा उत्पादन गर्ने गरिन्छ ।

जरबेरालाई रातको समय १५/१६ र दिउँसोको समय १७÷१८ डिग्री सेल्सियस तापक्रम मिलाउन सके उत्पादन राम्रो हुन सक्छ । रासायनिक मलभन्दा प्रशस्त मात्रामा कम्पोस्ट तथा प्रांगारिक मलको प्रयोगले उत्पादन राम्रो हुने गर्दछ । धेरैजसो पुष्प व्यवसायीलाई मलखादको आकलन गर्न गाह्रो हुने भएकाले परम्परागत तरिकाले हालिँदै आएको विज्ञहरू बताउँछन् ।

जरबेरामा पानी हाल्दा फूलको पातमा नहालेर पाइपबाट थोपाको माध्यमबाट बिरुवाको जरामा प्रतिदिन एउटा बोटमा करिब ७ सय एमएल पानी सिँचाइ गर्नुपर्दछ । दिउँसोको १२ बजेअगाडि  बिरुवालाई पानी दिनुपर्दछ । यसको खेती गरिएको स्थलको हावाको सापेक्षिक आद्रता ९० देखि ९२ प्रतिशतभन्दा बढी हुनुहुँदैन । यदि बढी भए फूलमा समस्या देखिन थाल्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्