ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च

२०७८ असार, ६  
सुदूरपश्चिम प्रदेश
Image Not Found

असार ६, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आइतवार दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिवारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । 

‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो ।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन् ।

‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ’, प्रनानि गुरुङले भने, ‘स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । रू. तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

त्यसैगरी महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड) समेत बगाएको पुल निर्माण कम्पनीले जानकारी दिएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौँ रकम बराबरको नोक्सान भएको बताए । ‘गत जेठमा पनि बाढी आउँदा रू. तीन करोडभन्दा बढीको क्षति भएको थियो’, उनले भने, ‘त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।’

उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । ‘अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुंगा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो’, उनले भने, ‘यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्