ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

२०७८ असार, ८  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् ।

कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए । ‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।’ सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ ।

यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ ।

यसरी यात्रु बोक्ने गाडीहरू पहुँचको भरमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर निर्बाध चलिरहेको र समस्यामा परेका यात्रुलाई लुट्ने काम गरिरहेको आम यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी महासंघले यस्तो काममा आफू मातहतका व्यवसायी नभई निजी गाडी संलग्न भएको बताएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले रातो नम्बर प्लेट भएका गाडीहरू नै यस्ता कार्यमा बढी सक्रिय रहेको र अनावश्यक रूपमा यात्रुसँग चर्को भाडा असुल्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले निजी गाडीहरूलाई अनावश्यक रूपमा पासको व्यवस्था गरिदिँदा यस्तो समस्या आएको उनको बुझाइ छ ।

एकातिर यातायात व्यवसायीले स्थानीय तह र प्रशासनकै मिलेमतोमा यस्तो काम भएको हुन सक्ने बताइरहेको भए पनि प्रहरी प्रशासनले भने अनावश्यक भाडा लिने गरेका सवारीसाधन र सवारीधनीलाई कानून बमोजिम मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका सूचना अधिकारी एसपी श्यामकृष्ण अधिकारीले बढी भाडा लिएकोबारे यात्रुले प्रहरीमा उजुरी गरेमा त्यस्ता सवारीधनीलाई कानून बमोजिम कारबाही गरिने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्