ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी गर्नुस् ग्लाडिओलस फूल खेती

२०७८ असार, २५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । दक्षिण अफ्रिकामा उत्पत्ति भएको र पछिल्लो समय विश्वका अधिकांश देशमा प्रचलनमा रहेको ग्लाडिओलस फूलको खेती नेपालमा क्रमशः विस्तार हुँदै गएको छ । नेपालको सन्दर्भमा सबै ठाउँमा सबै किसिमको मौसममा यसको खेती सम्भव नभएकाले सबैभन्दा पहिले कुन ठाउँमा कुन मौसममा यसको खेती गर्दा उपयुक्त लाभ लिन सकिन्छ भन्ने विषयमा जानकारी राख्नु आवश्यक छ ।

पहाडी जिल्लामा फागुनदेखि असार महिनासम्म यसको खेती गर्दा राम्रो लाभ लिन सकिन्छ । यो समय रोपेको ग्लाडिओलस जेठदेखि कात्तिकसम्म फुल्ने गर्दछ । भित्री पहाडका जिल्लामा माघदेखि साउनसम्म यसको खेती गर्न सकिन्छ । यतिबेला रोपेको बिरुवाले वैशाखदेखि मंसिर महिनाभित्रमा उत्पादन दिन थाल्छ । पुष्पविज्ञ लोकनाथ गैरेका अनुसार यदि तराईका जिल्लामा ग्लाडिओलसको खेती गर्ने सोच्दै हुनुहुन्छ भने भदौदेखि फागुन महिना बीचको समय उत्तम हुन्छ । यतिबेला रोपेको ग्लाडिओलस मंसिरदेखि वैशाखसम्म फुल्ने गर्दछ ।

ग्लाडिओलस बिउ तथा वल्ब कमबाट उत्पादन गर्न सकिन्छ । यसमा भएको गानोलाई वैज्ञानिक भषामा कम वा वल्ब भनेर बुझिन्छ । व्यावसायिक फूल उत्पादनका लागि कम तथा कमलेटको प्रयोग गर्ने प्रचलन छ ।

ग्लाडिओलसको वल्ब रोपेसँगै उत्पादनपछि विस्तारै बीच भागबाट मुना पलाउन थाल्छ । साथै, तलको भागमा जरा सँगसँगै माथिका पात पनि बढ्ने पुष्पविज्ञ गैरे सुनाउँछन् ।

ग्लाडिओलस खेती सबै प्रकारका माटोमा गर्न सकिन्छ । सिँचाइ गर्न सकिने, पानीको निकास भएको र पानी नजम्ने स्थान प्रमुख आवश्यकता हो । यो खेतीका लागि माटोको अम्लीयपन ६ देखि ६.५ सम्म उत्तम मानिन्छ । माटोको प्रकारअनुसार रोप्ने, सिँचाइ गर्ने, मलजल गर्ने पद्धतिमा फरक–फरक विधि अपनाउनु जरुरी छ । जस्तो, चिम्ट्याइलो माटोमा सिँचाइ कम दिँदा पनि बिरुवालाई पानीको उपलब्धता उपयुक्त हुन्छ भने बलौटे माटोमा सिँचाइ बढी दिनुपर्ने हुन्छ । मलखादमा पनि यस्तै फरक–फरक विधि अपनाउनुपर्छ ।

न्यूनतम १६ डिग्रीदेखि २५ डिग्री सेल्सियससम्मको तापक्रम यसको व्यावसायिक उत्पादनका लागि उपयुक्त मानिने गैरे बताउँछन् । तथापि फूल फुल्ने समय लक्षित गरी तापक्रमलाई व्यवस्थापन गर्ने हो भने रोप्नका लागि १० डिग्री सेन्टिग्रेडदेखि ३५ डिग्री सेन्टिग्रेडको अवस्थामा वल्ब रोप्न सकिन्छ । यद्यपि फूल फुल्ने समय औसत तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल आइसकेको हुनुपर्छ । यसबेला औसतभन्दा बढी पानीको आवश्यकता पर्छ भने सूर्यको प्रकाश सीधा यसको बिरुवामा पारेको हुनुपर्छ ।

माटोमा प्रांगारिक मात्रा कम भए विभिन्न रोगको आक्रमण बढी हुने र फूलको पोस्ट हार्भेस्ट समय छोटो हुने भएकाले पहिलो चरणमा प्रांगारिक मल राखेर माटो तयार गर्नु आवश्यक छ । माटोमा एकैपटक रासायनिक मल नराखी २ वा ३ पटक मात्रा मिलाएर माटोमा मिलाउँदा फूल उत्पादन राम्रो हुने गर्दछ ।

मौसम अनुकूलताअनुसार २, ४ वा ६ लाइनमा यो फूललाई रोप्न सकिन्छ । कतिको दूरीमा रोप्ने भन्ने वल्बको प्रजातिमा भर पर्दछ । सामान्यतया वल्बको आकार भने ठीक दुई गुणा माटो वल्बको माथि पर्ने गरी रोप्नुपर्दछ । उत्पादन राम्रो लिन झारपातको व्यवस्थापनमा पनि विशेष ध्यान दिनु जरुरी छ । फूल तयार हुन सामान्यतया वल्ब रोपेको ६० देखि १ सय २० दिनसम्मको समय उपयुक्त हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्