ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सस्तोमा कृषिउपज राख्न पाउँदा चनौली शीतभण्डारमा शेयर सदस्य बढे 

२०७८ असार, ३०  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, चितवन  । भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौलीमा निर्माणाधीन चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडमा शेयर सदस्य बढ्दै गएका छन् ।

शीतभण्डार छिट्टैनै सञ्चालनको तयारीमा रहेसँगै शेयर सदस्य बन्ने किसानहरु बढेका हुन् । सस्तोमा कृषिउपज राख्न पाउने तथा उत्पादन खेर नजाओस भन्ने उद्धेश्यले शीतभण्डार सञ्चालन ल्याउन लागिएको हो । 

 चितवन जिल्ला  कृषि क्षेत्रको हब भएको र उत्पादनमा वृद्धि एवं खेर नजाओस भन्ने हेतुले  शीतभण्डारको स्थापना गरिएको छ । शीतभण्डारमा पछिल्लो छ महीनामा मात्र  ३७० जना नयाँ शेयर सदस्य थपिएको छ । कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न विसं २०७० वैशाख २७ मा निर्माण शुरू भएको शीतभण्डारमा हाल ७७५ जना शेयर सदस्य पुगेका छन ।

शेयर सदस्य थपिएसँगै करीब साढे ३ करोड रुपैयाँ रकम थपिएको चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले जानकारी दिए । हालसम्म कुल शेयर पूँजी ५ करोड ३४ लाख रुपैयाँको हाराहारीमा रहेको उनले बताए । असार मसान्तसम्मलाई मात्र शेयर खुल्ला गरिएकोले सो अवधिमा किसानहरुको संख्या थपिंदै गएको पौडेलको भनाइ छ । 

करीब १५ करोड रूपैयाँको लागतमा सहकारी संस्थामार्फत स्टीलको संरचनामा बन्दै गरेको देशकै पहिलो र अत्याधुनिक लिफ्टसहितको पाँचतले चितवन चनौली शीतभण्डारको भवन निर्माणको काम सकिएर मेसिनरी जडानको  काम अन्तिम चरणमा पुगेको छ ।  अब आउने  असोजबाट जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिए । 
२ हजार ५०० मेट्रिक टन भण्डारण क्षमता रहेको शीत भण्डारमा ५० प्रतिशत स्थान व्यवसायीहरुको लागि उपलब्ध गराइने र ५० प्रतिशत सहकारी तथा शेयर सदस्यहरुलाई उपलब्ध गराइने अध्यक्ष पौडेलले बताए ।

‘शेयर सदस्यको लागि सहुलियतमा र व्यवसायको लागि अलग्गै गरी भण्डारणको  गरिनेछ’ अध्यक्ष पौडेलले भने । देशकै नमूना, अत्याधुनिक र बढी क्षमता भएकोले देशभरका किसान तथा व्यवसायीले भण्डारण गर्न पाउने उनले बताए । 

शीतभण्डारमा हाल दुई ओटा लिफ्ट, ट्रान्सफर्मरलगायतका मेसिनरी सामानहरु जडानको काम भइरहेको छ ।  साउनसम्ममा ट्रान्सफर्मर जडान गरेर भदौमा मेसिन परीक्षण गरिने र असोजमा शीतभण्डार सञ्चालनमा ल्याइने पनि उनले  बताए ।

भवन निर्माणसम्बन्धी काम दुई वर्षअघि नै सकिएको भन्दै पछिल्लो समय कोरोना कहरका बीचपनि कामलाई निरन्तरता दिइएको छ । निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माणमा ढिलाइ भएको बताउँदै उनले शेयर पूँजी समयमा जुटाउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएपनि अब समयमै सकिने उनले बताए । सो शीतभण्डार सञ्चालनमा आएसंँगै प्रत्यक्षरुपमा ३० जनाभन्दा बढीले रोजगार पाउने उनको भनाइ छ । 

मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना सुरू गरिएको शीतभण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत रहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीतभण्डारको सिभिलसम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ ।

मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत हुनेछ । १५ करोडको लागत अनुमान गरिए पनि लगानी अझै बढ्न सक्ने र परियोजना सम्पन्न हुँदासम्म २० करोड लाग्न सक्ने अनुमान गरिएको छ । शीतभण्डारमा चितवनका ४४ ओटा सहकारीहरुको लगानी रहेको छ ।

शीतभण्डारको क्षमता पच्चीस सय टनको र अत्याधुनिक लिफ्टसहितको हुनेछ । कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण कृषकका लागि यो उपयोगी र किफायती रहेको बताइएको छ ।

चनौलीमा शीतभण्डार सञ्चालन गर्ने निर्णयअनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी बेमौसममा विक्री गर्नेछ । परियोजनाले अतिरिक्त आम्दानीका लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्रीवितरण गर्ने बताएको छ । 

बेलायतमा एमबिएको पढाइ सकेपछि आफ्नै देशमा केही गर्ने दृढ सोचका साथ नेपाल फर्केर शीतभण्डारको लामो समयसम्म व्यवस्थापकीय भूमिकामा रहेर परिकल्पनालाई मूर्तरुप दिन सफल भएको उनको भनाई छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्