ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नवनियुक्त अर्थमन्त्रीद्वारा खोप खरीदका लागि ५ अर्बको सहमति प्रदान

२०७८ असार, ३०  
समाचार
Image Not Found

आसार ३०, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  रू. ५ अर्बको सहमति प्रदान गरेको छ । 

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रू. ५ अर्बको सहमति दिने निर्णय गरेका हुन् ।  

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मंगलवार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । 

खोपको पर्याप्त आपूर्ति हुन नसक्दा नेपालमा खोप अभियान प्रभावित भएको छ । मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको थियो । 

अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका छन् । जसअन्तर्गत संघीय अस्पतालका लागि रू. ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रू. ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।  

सरकारी तथा निजी अस्पतालमा एचडियू, भेन्टिलेटर, आइसियूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरीदका लागि संघीय तथा निजी अस्पताललाई रू. ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत रू. ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए । 

पदवाहालीपछि उनले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । अर्थमन्त्री शर्माले कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्ने बताए । 

सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा राखेको छ । गरीब, पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनु पर्ने उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्