ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ ओटा मुद्दा दर्ता

२०७८ असार, ३१  
गण्डकी प्रदेश
Image Not Found

असार ३१, मनाङ । हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ ओटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ ओटा मुद्दा दर्ता भएका हुन् ।

जिल्ला अदालतले दिएको तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा ६ ओटा सम्बन्धविच्छेदका घटना दर्ता भएको अदालतका श्रेस्तेदार तारादत्त बडुले बताए । 

उनले भने, ‘हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७/०७८ मा १२ ओटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै ६ ओटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । ६ ओटामध्ये चार ओटा फैसला भइसकेको छ, भने दुई ओटा फैसला हुन बाँकी छ ।’

जिल्लामा सोबाहेक जबर्जस्ती करणी, बहुविवाह, कुटपिट, ज्यान मार्ने, सवारी दूर्घटना र अभद्र व्यवहारका घटना एक÷एक ओटा दर्ता भएका छन् । जिल्लामा कुल १२ ओटा मुद्दामध्ये आठ ओटा फैसला भइसकेको र चार ओटा बाँकी रहेको श्रेस्तेदार बडु बताउँछन् ।  

आर्थिक वर्ष २०७६/०७७ मा भन्दा यस वर्ष मुद्दा दर्ताको घटना बढेको तथ्यांकले देखाएको छ । विसं २०७६/०७७ मा जिल्लाभर नौ ओटा मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न जिल्लामा मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । 

मनाङ सानो र थोरै जनसंख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ । यहाँका समुदाय फरक नभई एउटै किसिमका भएकाले पनि उनीहरुबीच न्यायोचित ढंगले मेलमिलाप हुने श्रेस्तेदार बडुको भनाइ छ । 

उनी भन्छन्, ‘मनाङ सानो र थोरै जनसंख्या भएको जिल्ला हो । यहाँ घटेका घटनालाई गाउँघरमा नै सहज तवरबाट मिलाइन्छ । यहाँ अधिकांश एउटै समुदायका मानिसको बसोबास छ, यस कारणले गर्दा पनि घटना नघट्ने र घटिहाले पनि एकापसमा न्यायोचित ढंगले मेलमिलाप हुने गरेको पाइएको छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्