ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग

२०७८ असार, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग  छुट्टाछुट्टै भेटवार्ता गरी निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको  प्रतिनिधिमण्डलले बिहीवार प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको हो । 

सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले  थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको थियो ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी रहेको भेटवार्तामा अध्यक्ष गोल्छाले कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन अनुरोध गरेका छन् ।

अर्थतन्त्रलाई टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपमा अनिवार्य व्यवस्था गर्न महासंघले दुवै भेटवार्तामा आग्रह गरेको थियो ।  सो अवसरमा प्रतिनिधिमण्डलले सरकारको राजस्वको मुख्य स्रोत निजी क्षेत्र र निजी क्षेत्रद्वारा सृजना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी भएको भन्दै गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन, मौद्रिक नीतिका लागि पनि सुझाव दिएका छौ, त्यसको प्रभावकारी कार्यान्वयन हामीले खोजेका छौ र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौं’,अध्यक्ष गोल्छाले बताए ।

उनले सो अवसरमा अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यका साथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिई सकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको पनि बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न पनि अनुरोध गर्नुभयो ।

यसैगरी अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोप लगायत अन्य आवश्यक कार्यमा आफनातर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया [1]
User Image

ramram

[Jul 15, 2021 03:13pm]

army hospital ka ek purba swasthakarmi vandai thiye ma tesro choti khop lagaudaixu.kunai khop kendra ka line ma basne 50 barsiya grihini le khop payenan,tara tyahi line ma basne 20 barsiya rajnitik dal kp coupon linele khop lagaye. yo k hola ?


प्रतिक्रिया दिनुहोस्